चाडपर्व लक्षित यात्रु सहायता कक्षको शुभारम्भ

प्युठान । जिल्लामा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ । प्युठान नगरपालिका–७ टिकुरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला टिकुरीमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले यात्रु सहायता कक्षको शुभारम्भ गरेका हुन् ।

चाडपर्वको समयमा यात्राका क्रममा हुने संभावित दुर्घटनालाई कम गर्न तथा यात्रुलाई कुनै सास्ती नपरोस् भन्दै यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले बताए । सहायता कक्षमा चाडपर्वको समयमा गाडीले बढी भाडा उठाउने, गन्तव्यमा नपु¥याउने वा अन्य कुनै समस्या भए गुनासो गर्न सकिने प्रहरी प्रमुख थापाले बताए ।

प्रहरी प्रमुख, डिएसपी थापाका अनुसार यात्रामा यात्रुलाई केही समस्या परे सहायता कक्षामा जानकारी गराए सुरुन्तै यात्रुलाई प्रहरीले सहयोग गर्ने बताए । चाडपर्वको बेला यात्रामा चोरी डकैती बढी हुने भएकोले सचेत भएर यात्रा गर्नुपर्ने उनको भनाइ छ । यति यात्रामा कसैलाई शंका लागे सहायता कक्षामा खबर गर्नसमेत अनुरोध गरे । जनताको जस्तोसुकै समस्यमा पनि चौबीसै घन्टा प्रहरीले सहयोग गर्न तयार रहेको प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए ।

चाडपर्वमा यात्रुहरूले गुनासो गर्न सहज होस् भनेर जिल्लाका मुख्य मुख्य स्थानमा गुनासो सुन्ने गरी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानका प्रमुख, प्रहरी नायव निरीक्षक चन्द्र केसीले जानकारी दिए । अब यात्रु सहायता कक्षबाट यात्रु र गाडी चालकहरूको धेरै समस्या हल हुने छ । उनले भने, ‘यात्रुहरूलाई केही समस्या भए खबर गर्नुस् सुरक्षाको लागि प्रहरी जतिबेला पनि सहयोग गर्न तयार छ, अन्यथा ढुक्कसँग यात्र गर्न सुझाए ।’ प्युठानको दर्भान, चकचके र खलंगालगायत जिल्लाका मुख्य बजार केन्द्रमा तत्काल यात्रु सहायता कक्ष सुरु गर्ने योजना रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

यात्रु सहायता कक्ष शुभारम्भ गर्दै प्युठान–काठमाडांै रुटमा चल्ने सवारीसाधनका चालक तथा सहचालकलाई फूलमालाले सम्मानसमेत गरिएको थियो । यात्रुलाई सुरक्षित र सहज यात्राको लागि भन्दै चालकहरूलाई माला र टीका लगाएर गन्तव्यमा पठाएको थियो ।

कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदुर, स्थानीय सरकारका प्रतिनिधि पत्रकार स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले यात्रु सहायता कक्षमा रहेका प्रहरी, यातायात मजदुर र ट्राफिकको सहयोगले यात्रुहरूको समस्या समाधान गर्दै सही यात्रुलाई गन्तव्यमा पु¥याउन मद्दत गर्नुपर्ने बताएका थिए । यात्रुहरूलाई यात्रा गर्दा कुनै समस्या परेमा तत्काल सहायता कक्ष तथा जिल्ला प्रहरी कार्यालय प्युठानको कन्ट्रोल रुमको सम्पर्क नं. १०० वा ट्राफिक कट्रोल नं.१०३ मा सम्पर्क गर्न प्रहरीले आग्रहसमेत गरेको छ ।

यसैगरी जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढेको भन्दै प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप जनमैत्री बनाउने गरी योजना भएको समुदाय–प्रहरी साझेदारी प्युठान जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । ग्रामीण भेगमा आत्महत्या बढेकोले न्यूनीकरणको लागि जिल्लास्तरीय मनोसामाजिक स्वास्थ्य प्रवर्धन तथा व्यवस्थापन समिति गठन गर्ने र आत्महत्या न्यूनीकरणलाई व्यापक बनाउन पहल थालिने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । जिल्लाका नौ वटै स्थानीय तहमा समेत यस्तो समिति गठन गरी काम गर्ने उनको भनाइ छ ।

जिल्लामा जिल्ला समन्वय समितिका उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति रहनेछ । सह संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख रहने व्यवस्था निर्देशिकाले गरेको छ । अन्य सदस्यमा जिल्ला प्रहरी कार्यालयका सिनियर अधिकृत, जिल्ला आयुर्वेदिक कार्यालयका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, नेपाल पत्रकार महासंघका प्रतिनिधि र सदस्य सचिव स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति रहनेछन् ।
त्यस्तै स्थानीय तहमा स्थानीय तहको उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा नौ समिति रहेने व्यवस्था निर्देशिकाले गरेको छ ।
चाडपर्व लक्षित सुरक्षा सावधानीबारे जिल्लामा व्यापक सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय सञ्चार माध्यमलाई समेत क्रियाशील बनाउने सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई सहज र थप प्रभावकारी बनाउने गरी तयारी भएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया