रुकुम पश्चिमका ६ वटै पालिकामा कर्मचारी अन्दोलित, सबै सेवा अवरुद्ध

अनिश्चितकालीन ‘पेन डाउन’ गरेर कर्मचारी अन्दोलित

रुकुम पश्चिम । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रुकुम पश्चिममा स्थानीय तहका कर्मचारीहरु अनिश्चितकालीन ‘पेन डाउन’ गरेर आन्दोलित बनेका छन्। जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारीहरु विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएका हुन्। शुक्रवार उनीहरुले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेर हातमा कालो पट्टी बाधेर पेन डाउनमा गरेका छन् ।

संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरु राख्दै स्थानीय तहका कर्मचारीहरुले शुक्रबार देखि अनिश्चितकालिन पेन डाउनको कार्यक्रम सुरु गरेका हुन् । आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाहलाई ज्ञापन पत्र बुझाएर आन्दोलन सुरु भएको हो ।

देशैभर अनिश्चितकालिन पेनडाउन कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको आठबिसकोटमा सबै सेवा प्रवाह अवरुद्ध भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । जिल्लाको बाँफिकोट गाउँपालिका , सानीभेरी गाउँपालिका, त्रीवेणी गाउँपालिका, मुसिकोट नगरपालिका चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकामा नगरपालिक अनिश्चित कालका लागि सेवा अवरुद्ध भएको बताईएको छ ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् । प्रस्तावित संघीय निजामती विधेयकका कतिपय प्रावधान विभेदकारी र आपत्तिजनक भएको भन्दै स्थानीय तहका कर्मचारी चार दिनदेखि राजधानीकेन्द्रित चरणबद्ध आन्दोलनमा छन् । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गरेका उनीहरुले आजदेखि सबै पालिकामा अनिश्चितकालीन ‘पेन डाउन’ सुरु गरेकाहुन्।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया