शिक्षाको पहुँचमा तिलागुफा नगरपालिका

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (२) को उप दफा (ज) अनुसार स्थानीय तहलाई माध्यामिक र आधारभूत शिक्षासम्बन्धीका २३ वटा अधिकारहरु व्यवस्था गरेको छ ।

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाको सहकार्य, तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा कार्यक्रम गरिएको छ । शिक्षा अधिकृत लिलाराज बमले जबसम्म विद्यालय, समुदाय, समाज, घर र परिवारमा बालबालिकाहरुमाथि हुने सबै प्रकारका हिंसाहरुको अन्त्य हुँदैन तबसम्म गुणस्तरीय बालविकासको परिकल्पना गर्न नसकिने बताए ।

पालिकामा ४ वर्ष उमेर पूरा गरेका र १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरुलाई विभिन्न माध्यामबाट शिक्षाको पहुँचमा ल्याइएको छ । यहाँका ३६ वटै विद्यालयहरुले आधारभूत शिक्षालाई पूर्णरुपमा निःशुल्क गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।

उपाध्यायले पालिकाका सबै बालविकास केन्द्रहरुमा ४ वर्ष पुरा गरेका र आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) ४ देखि १२ वर्ष सम्मका १०० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भइ निरन्तर शिक्षा आर्जन गरिरहेका छन् । विद्यालय सुधार योजना, पालिका शिक्षा योजना तयार गरी गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि विद्यालयको शैक्षिक र भौतिक क्षेत्रलाई क्रमशः सुधार गर्दै सबै विद्यालयको विद्यार्थीको औसत सिकाइ उपलब्धी उच्च बनाइने प्रतिवद्धता समेत नगर प्रमुखले गरेका छन् ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाको २०७६ देखि २०७९ सम्मको सर्वेक्षण अनुसार ६१ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको परियोजनाको तथ्यांकमा छ । जसमध्ये ४ जना बहु अपांगता भएका बालबालिकालाई पनि श्रोत विद्यालयमा पठाई भर्ना गरिएको शिक्षा परियोजना संयोजक सदानन्द तिमल्सिनाले बताए ।

उनीहरुमध्ये तीन जना अपांगता भएका बालबालिकाहरुलाई घरमै शिक्षकको व्यवस्था गरी विद्यालयमा भर्ना गरिएको पनि तिमल्सिनाले बताए । तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाले विभिन्न पहल कदमी चालेको कार्यक्रमका संयोजक गोविन्द कठायतले बताए ।

उनका अनुसार शिक्षा शाखा र किर्डाक नेपालको सहकार्यमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुको घरधुरी सर्वेक्षण तथा तथ्यांक संकलन गरिएको छ । वडास्थित सरोकारवालहरुसँग बालबालिका भर्नाका लागि समिक्षा, आवश्यकताका आधारमा सहयोग तथा भर्ना अभियान कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गदै आइरहेको कठायतले बताए ।

बालअधिकार साशन बाल संरक्षण परियोजनाकी संयोजक सरिता खत्रीले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई घर अनुगमन गरी विद्यालयमा भर्ना गरिएको बताइन् । खत्रीका अनुसार तिलागुफा नगरपालिकामा अपांगता भएका बालबालिकाहरुलाई शिक्षको पहुँचमा ल्याउनका लागि रणनीतिक योजना निर्माण, अनिवार्य आधारभूत निःशुल्क शिक्षा घोषणा गर्नका लागि रणनीतिक योजनाको निर्माणसमेत गरिएको छ ।

किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले आर्थिक अवस्था कमजोर भई विद्यालयमा निरन्तरता नभएका बालबालिकाहरुका लागि आर्थिक सहयोग, आयआर्जन सहयोग गरी बालबालिकाहरुलाई विद्यालयमा निरन्तरता दिएको बताए । उनका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकालाई पनी लगत्तै निशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिने छ ।

तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता, खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

तिलागुफा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरी यसको प्रभावकारी कार्यान्वयनका यस्ता छन् प्रतिवद्धताहरु

१. हरेक शैक्षिक सत्रको सुरुमा ४ देखि १२ वर्ष उमेर समुहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विशेष अभियान मार्फत विद्यालय र बालविकास केन्द्रमा भर्ना गरी शतप्रतिशत भर्ना भई नियमित भएको सुनिश्चित गरी आधारभुत तहमा अनिवार्य निःशुल्क शिक्षाको कार्यान्वयन भएको सुनिश्चित गर्न ।

२. अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमलाई निरन्तरता दिन प्रत्येक वर्ष नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गर्न, उक्त बजेट विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना र नियमितताका लागि आवश्यक्ता बमोजिम शैक्षिक सामग्री र खाद्यान्न लगायतमा खर्च गर्न ।

३. बालबालिकाहरूलाई विद्यालयमा टिकाई राख्न तथा सुरक्षित, समावेशि वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयका भौतिक पूर्वाधारहरू बालमैत्री, अपांगतामैत्री र बालिकामैत्री बनाउनका साथै प्रविधिमैत्री शिक्षा प्रदान गर्न ।

४. यस तिलागुफा नगरपालिकाको आधारभूत अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन निर्देशिका २०७८ को कार्यान्वयन गर्न ।

५. बालबालिकाहरुको विद्यालय भर्ना र नियमितताका लागि यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विभिन्न गैरसरकारी संघ संस्था र सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्न ।

६. अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा कार्यान्वयन भए नभएको विषयमा नगर शिक्षा समितिको संयोजकको संयोजकत्वमा रहेको नगरपालिका शिक्षा समितिमार्फत प्रत्येक ४ महिनामा अनुगमन गरिने र अनुगमन पश्चात नगरपालिकाको सरोकारवालासँग समन्वयात्मक बैठक बसी समिक्षा गरि थप कार्यक्रम विस्तार गर्नुपर्ने भए पुनः पालिकाको शिक्षा योजनाका साथै विद्यालय सुधार योजनामा समावेश गरी कार्यान्वयन गर्न ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया