कालिकोटमा २० वर्ष मुनिका गर्भवतीको संख्या ३ सय ८१

कालिकोट । आर्थिक वर्ष २०७९–८० मा कालिकोट जिल्लामा २० वर्ष मुनिका गर्भवती महिलाहरुको संख्या ३ सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटको तथ्यांकमा छ । उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारिरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको वार्षिक समीक्षा तथा स्वास्थ्य सूचकहरुको प्रगतिसम्बन्धी सञ्चारकर्मीसँग गरिएको अन्तरक्रियामा तथ्यांक सार्वजनिक गरिएको थियो । यही असोज १३ र १४ गते सदरमुकाम मान्ममा स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयको समिक्षा तथा छलफलमा पछिल्लो समय कालिकोटको स्वास्थ्य सेवा प्रभावकारी रहेको दाबी गरिएको छ ।

समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य ईकाईमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएको, ९ वटा पालिकामध्य ७ वटा पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको, सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराएको, अस्पतालको नियमित सरसफाइ र वृक्षारोपण नियमित हुँदै आएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा रहेका स्थानीय तह र कालिकोट अस्पतालमार्फत सम्पादित कार्यक्रमहरुबारे जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्वास्थ्य सेवा कार्यालयको भवन जिर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जिर्ण रहेको निमित्त प्रमुख डाक्टर संकेत विश्वकर्माले बताए ।

विश्वकर्माले स्वास्थ्य सेवा कार्यालय कालिकोटअन्तर्गतका संस्थाहरुमा हालसम्म बर्थिङ सेन्टर ३७ वटा, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ सेन्टर १३, ईमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ वटा रहेको बताए । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा बजेटको अभाव रहेको भन्दै जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट नछुटाउने र चासो नदिने गरेको विश्वकर्माले बताए ।

मानव श्रोत व्यवस्थापनको कमी भएका कारणले पनि स्वास्थ्य क्षेत्रमा समस्या देखिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए । महतले भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा अन्य सामग्रीको कमी भएता पनि गुणस्तरीय सेवा दिन कर्मचारीले अहोरात्र नभनी काममा लागेको बताए । स्वास्थ्य बिमाका प्रमुख चुनौती रहेको स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

अन्तरक्रियामा बिमाको समयमा रकम भुक्तानी नहुनु, सबै प्रकारका औषधि उपलब्ध नहुनुलगाएतका समस्यामाथि छलफल गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त प्रमुख डाक्टर संकेत विश्वकर्माको अध्यक्षतामा सञ्चारकर्मिसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन हेमराज बम, तथ्यांक अधिकृत लंकबहादुर बम, अन्य कर्मचारी तथा जिल्लास्थित छापा तथा सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया