बढ्दै आधुनिक सिनेमाघर

काठमाडौं । नेपालमा पछिल्लो समय सुविधा सम्पन्न सिनेमा हलको संख्या बढ्दै गइरहेको छ । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको रोजाइको शैली फेरिँदै गएको हो । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने चलन फेरिएर पछिल्लो समय दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न सिनेमा हल पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँघरमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । दर्शकको रोजाइले नयाँ सुविधा सम्पन्न सिनेमा हल बन्ने क्रम पनि बढिरहेको प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । उनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको सुनाए ।

उनले भने, ‘अहिले सानो क्षमताका भए पनि आधुनिक प्रविधि र सुविधा सम्पन्न भवन गाउँसम्म पुगेका छन्, पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।’ महर्जनले नेपालमा ‘थ्रिडी’ चलचित्र हेर्न पाइने भए तापनि विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । महासचिव महर्जनले भने, ‘आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक संख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ, अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पु¥याउनेतर्फ हामी केन्द्रित छौँ ।’

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताए । उनले पुराना मान्यता पछिल्लो समय भत्किँदै नयाँपनतिर दर्शकको रोजाइ पर्न थालेको सुनाए । उनले भने, ‘अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन्भन्दा फरक पर्दैन, दर्शक त्यस्ता हलमा जानै छाडेका छन्, उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।’

प्रतिक्रिया