काठमाडौं । महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित ‘क्रान्तिदूत’ लोकार्पणसँगै परिचर्चा गरिएको छ । साहित्य सन्ध्याको आयोजनामा बागबजारस्थित पद्मकन्या क्याम्पसमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त कृतिको विमोचन गरे । उनले नेपाली समाजको रूपान्तरणका निम्ति साहित्यका माध्यम र वैचारिक बहसका माध्यमबाट बहस गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले भने, ‘शास्त्रीय वर्णमात्रिक २४ ओटा छन्दको प्रयोग गरी २९ सर्गमा लेखिएको यो महाकाव्यले नेपाली समाजको यथार्थको चित्रण गरेको छ र भविष्यको बाटो देखाउने काम पनि गरेको छ ।’
उनले मेरो आफ्नो विचार र जीवनदर्शन यो कृतिले अङ्गीकार गरेको विषयवस्तुसँग मिलेको बताउँदै कृतिले आशावादी जीवनदृष्टि सम्प्रेषण गरेको बताए । उनले भने, ‘यो कृतिले अध्ययनका लागि प्रेरणा प्रदान पनि गरेको छ । यो विद्वानजनको गरिमामय एवम् भव्य उपस्थितिमा यस महाकाव्यको सार्थकता प्रमाणित गर्ने बहस पनि हुने नै छ ।’
साहित्य सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गरेको उक्त कार्यक्रममा महाकाव्यकार खेमराज निरौलाको व्यक्तित्वका बारे प्रा.डा.हेमनाथ पौडेलले चर्चा गरे । उनले वि.सं.२०२२ फागुनमा ताप्लेजुङको पूmलबारी २ रमितेमा जन्मिएका सानैदेखि तीक्ष्ण भएको सुनाए । उनले निरौला नेपाली साहित्यमा कविता, निबन्ध, समीक्षा, समालोचनाका क्षेत्रमा अनवरत कलम चलाउँदै आएको बताए । २०४९ सालदेखि कृतिगतरूपमा उनका सिर्जना प्रकाशित भएको सुनाउँदै उनले यो महाकाव्य चाहिँ बृहत् आकारमा समसामयिक सामाजिक अवस्थाको चित्रण गरी लेखिएको जानकारी दिए ।
महाकाव्यमाथि टिप्पणी गर्दै प्रा.डा.हेमचन्द्र नेपालले यस कृतिलाई अध्ययन गर्दा महाकाव्यकारको सिर्जनाशक्ति बृहत् रहेको बताए । उनले यसमा तमोर नदीकोजस्तो तीव्र प्रवाह भएको बताउँदै भने, ‘छोटा छन्दमा निकै परिष्कृत रहेको यो काव्यमा पाश्चात्य साहित्यकार शेलीसँग मिल्दोजुल्दो लेखनशैली देखिएको छ । महाकाव्य पढ्दा संस्कृत शिक्षाका ज्ञाता खेमराज धुरन्धर अध्येता पनि देखिन्छन् ।’ उनले यस कृतिमा महाकाव्यकार लेखनाथ पौड्यालको काव्यधाराबाट अत्याधिक प्रभावित भएको देखिएको जिकिर गरे । प्रा.डा. नेपालले भने, ‘पौड्यालको त्यो प्रभाव पनि सोझै होइन पचाएर ग्रहण गरेको देखिन्छ ।’ उनले महाकाव्यमा प्रगतिशीलता भन्दा अरूको प्रभाव बढी देखिएको बताए । प्रकृति चित्रण अत्यन्त सशक्त रहेको बताउँदै उनले महाकाव्यमा सूक्तिमयता र २८ औँ सर्ग निकै सशक्त रहेको धारणा राखे ।
यस्तै, प्रा.डा.रामप्रसाद ज्ञवालीले महाकाव्यकार निरौला हिम्मत नहार्ने स्रष्टा भएको बताउँदै मृगौला बिग्रिएर जीवनलीला नै समाप्त हुनलाग्दा जीवनसङ्गिनीले आफ्नो अङ्गदान गरेर पुनर्जीवन प्राप्त गरेका स्रष्टाको उच्च साधनाको परिणति महाकाव्य भएको सुनाए । उनले नेपाली साहित्यको इतिहासमा फुटकर कविताभन्दा पहिले महाकाव्य लेखिएको बताए । उनले भने, ‘यो कृतिचाहिँ जनताको चेतना र प्रगतिशील चेतनाले भरिपूर्ण रहेको छ । नेपाली साहित्यमा महानता बोकेका २०–२५ ओटा महाकाव्य रहेका पाइन्छन् । छन्दमा भावलाई समाविष्ट गरेर सरल शैलीमा लेखिएको यो महाकाव्य २० सर्गभन्दा माथि गएपछि शीर्षककेन्द्रित बनेको छ ।’
उनले महाकाव्यकार निरङ्कुश शासनकालका प्रत्यक्ष भोक्ता भएका हुँदा त्यसको जीवन्त उदात्तीकराण यसमा गरिएको विचार व्यक्त गरे । प्रा.डा. ज्ञवालीले भने, ‘पुनरावृत्ति फरक फरक ढङ्गले आएका छन् । ऋतृगत प्रकृति वर्णन पनि सुन्दरढङ्गले गरिएको छ । नेपालको परिवर्तनमा महिलाको पनि सशक्त भूमिका रहेको छ भन्ने यसमा देखाइएको छ र नारी–पुरुषको सहयात्राको अपेक्षा गरिएको छ । महाकाव्यमा द्वन्द्व धेरै छ तर पाक्न बाँकी छ । विचार मर्दैन भन्ने सूक्तिमयता यहाँ रहेको छ ।’ उनले बुझिने शब्द प्रयोगका माध्यमबाट भाग्यवादको विरोध गरिएको र रूपान्तरणका प्रक्षमा वकालत गरिएको जिकिर गरे । उनले भने, ‘महाकाव्यमा समय, जीवन, समाज र सौन्दर्य चेतनाको समन्वय रहेको छ । मानवको दिमाग र मनलाई सफा गर्ने काम कला र साहित्यले गर्छ, गर्नुपर्छ, उज्यालोतर्फको यात्रा आवश्यक छ । यो महाकाव्यले त्यसको सङ्केत गरेको छ ।’
सो कार्यक्रममा प्रा.डा.वासुदेव त्रिपाठीले महाकाव्यमा लगभग साढे तीन हजार श्लोक रहेको जनाउँदै कुँदिएका कविता रहेको बताए । उनले भने, ‘सुरुदेखि अन्त्यसम्म समान उचाइका पङ्क्ति रहेका छन् । प्राचीन वर्णमात्रिक छन्दको प्रयोग, श्रुतिमधुरता यसमा पाइन्छ । काव्यमा सिद्धि छ । छन्द, व्याकरण र भाषाशुद्धि मिलाएर महाकाव्यको सिर्जना कठिन कुरा हो, ठुलो साधना आवश्यक हुन्छ तर यो महाकाव्यमा त्यसको हरसम्भव पालना गरिएको छ ।’
प्रा.डा. त्रिपाठीले माक्र्सवादी समालोचनाले मूल्य निर्धारण गर्दछ र त्यस हिसाबले हेर्दा यो महाकाव्य उत्तमउन्मुख महाकाव्य मान्न सकिने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले महाकाव्य विषय र शिल्पले गहन रहेको बताए । उनले कुम्भकर्ण हिमाल र तमोर नदीको सुन्दर प्राकृतिक भव्यताको प्रभाव महाकाव्यकारमा परेको जिकिर गरे । उनले भने, ‘कविको पुनर्जीवन प्राप्तिपछिको यो ऊर्जाले नेपाली साहित्यमा अझै धेरै दिनसक्ने सम्भावना देखिएको छ । राजनीतिले सिर्जना गरेको गडबडीलाई नजिकबाट नियालेर समसामयिक समाजको जीवन्त चित्रण गरिएको छ ।’
महाकाव्यबाट निष्ठा निरौला र रूपक अलङ्कारले केही श्लोक वाचन गरेका थिए । महाकाव्यकार निरौलाले महाकाव्य लेखनका बारेमा चर्चा गरे । सन्ध्याका अध्यक्ष राम विनयले महाकाव्यमार्फत निरौलाले नेपाली साहित्यमा विशिष्ट योगदान दिएको बताए ।
प्रतिक्रिया