काठमाडौं । एमालेका एक कार्यकर्ताले टिप्पणी गरे – पार्टी संगठनभित्र प्यानल बनाएर चुनाव लडे उम्मेद्वारी खारेज गर्छु भन्नु र पञ्चायतकालमा दलीय गतिविधि नगर भन्नु एउटै हो । एमालेका प्रदेश अधिवेशनहरूमा दुई समूह देखा परेपछि उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यही भनाइ बारम्बार दोहो¥याए । त्यसको अगाडि कसैले प्रतिकार गरेनन् । ओलीको भनाइमा विमतिसमेत राखेनन् । तर ओलीको पछि उनले जे नगर्नु भनेको त्यही गरे । लुम्बिनीमा दुई प्यानलबीच चुनाव भयो । पार्टी नेतृत्वले लाखौँ प्रयास गरेर नचाहँदा नचाहँदै पनि शुक्रबार बागमतीमा चुनाव भयो ।
पञ्चायतकालमा दलीय गतिविधिमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । तर पार्टीको नामको अगाडि प्रतिबन्धित शब्द प्रयोग गरेर धेरैले चुनाव लडेको इतिहास छ । कम्युनिस्टहरूले जनपक्षीयका नाममा यसैगरी चुनाव लडेका थिए । कतिपय स्थानमा जितेका पनि थिए । उनीहरूले जितेका कारण पञ्चायतविरोधी आन्दोलनलाई सहयोग पुगेको थियो ।
पञ्चायतले यति प्रतिबन्ध लगाउँदा पनि कुनै पनि दलीय गतिविधि रोकिएका थिएनन् । ती गतिविधि अर्धभूमिगत भएर जनताका माझ पुग्न झन् सहयोग पुग्यो । एमाले लामो समयदेखि पार्टीभित्र लोकतान्त्रिक अभ्यास हँुदै आएको पार्टी हो । यसमा भएको निरन्तर लोकतान्त्रिक अभ्यासले नै यो मजबुत भएको हो भन्ने कुरामा धेरै सहमत छन् । त्यसैले एमालेमा आन्तरिक संगठनको चुनाव हुनु, नेतृत्व छनोटमा प्रतिस्पर्धा हुनु यसको जीवन पद्धति नै बनिसकेको छ । विगतमा अपवादबाहेक यस्ता चुनावले एमालेको संगठन बलियो नै भएको छ । तर यतिखेर आएर प्यानल बनाएर चुनाव लडे उम्मेद्वारी खुस्काउने असफल घोषणाको पछाडि के अर्थ छ भनेर धेरैले प्रश्न गर्न थालेका छन् ।
एमालेको पार्टी जीवनमा धेरैपटक आँधीबेहरी आउँदा पनि टिक्नुको कारण यही अभ्यास हो । त्यसैले नेपालमा बहुदल स्थापनापछि दुई–दुईपटक विभाजन हुँदा पनि ठूलो क्षति भएन । यो कुरामा धेरै सहमत छन् । यही अभ्यासका कारण एमाले कार्यकर्ता र सदस्यमा आधारित पार्टी भएको एमालेका नेताहरूकै दाबी छ । त्यसैले अहिले पनि अरूको तुलानामा यसको संगठन बजबुत देखिन्छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको एउटा सार पनि प्रतिस्पर्धा हो । सो सिद्धान्तअनुसार सबै प्रतिस्पर्धामा आफूलाई श्रेष्ठता हासिल गर्नु नै जबजको मुख्य उद्देश्य हो । तर पार्टीभित्र प्रतिस्पर्धा नै गर्न नपाएपछि कसरी नेतृत्वमा पुग्न श्रेष्ठता हासिल गर्ने । पार्टीभित्र चुनावमा जान्छु भन्नेसँग कसैले आत्तिनुपर्ने अवस्था आउँदैन । पार्टी कार्यकर्ताको घरघरमा पुग्नेले चुनाव जित्छ । तर आन्तरिक चुनावलाई किन रोक्न खोजियो भने यस्ता चुनावले नेताको घरघरमा जानेको कन्तविजोग हुन्छ । त्यसैले अहिले यस्तो उर्दी जारी गरिएको हुन सक्छ ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले प्यानल नबनाउन दिएको निर्देशन संगठनका हिसाबमा, पार्टीका हिसाबमा मजबुत राख्न मद्दत गर्ला भन्ने मनशायको हुनुपर्ने केहीको टिप्पणी छ । तर जबजले स्थापित गरेको मान्यता प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने भन्ने मान्यता विपरीत अध्यक्षको यस्तो आदेश प्रमाणित हुन्छ भन्ने कुरा प्रदेश अधिवेशनहरूले पुष्टि गरिरहेका छन् । किनकी अध्यक्षले प्यानल बनाएर चुनाव लड्नेको उम्मेद्वारी खारेज गर्ने अध्यक्षको उर्दी आफू निकट र अलि टाढा रहेकाले पनि पालना गरेको देखिएन ।
चुनावमा एउटा मात्र प्यानल देखिएको छैन । दुई प्यानल वा सो भन्दा बढी देखिएका छन् । उम्मेद्वारी दुबैको खारेज गरेर अर्को तेस्रो व्यक्ति नेतृत्वमा ल्याएको घटना पनि यसबेलासम्म सुनिएको छैन । किन त्यो मध्ये एउटा समूहको नेतृत्व अध्यक्षले इच्छाएको व्यक्तिले गरेको हुन्छ । अध्यक्षको यो उर्दी आफूसँग अलि नजिक बनेकाहरूलाई ल्याउन पो प्रयोग गरेको त होइन भन्ने शंका उत्पन्न भएको देखिन्छ । अर्थात आफूसँग अलि टाढा उठबस भएकालाई रोक्नका लागि पो यस्तो उर्दी भएको हो कि भन्ने देखिन्छ । किनकी यसबेला कोही पनि एमालेमा स्पष्ट रूपमा संस्थापन र सस्थापन इतर छैन । छ भने बिहान बेलुका निवासमा पुगेर चाकडीका बिन बजाउने, र आफ्नो काममा क्रियाशील रहनेहरूको बीच नै रेखा छ । त्यो बिन बजाउने समूहले अध्यक्ष ओलीलाई कार्यकर्ताको रेखामा आउन दिने बाटोमा बार लगाएको छ । त्यसैले तिनले अध्यक्षलाई कहिले के कहिले के शीर्षकमा दुरुपयोग गरिरहेका छन् ।
केही समय पहिले आफ्ना आलोचकलाई तह लगाउन अध्यक्ष निकट रहेका भनिएकाहरूले उनलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा नराम्ररी फसाए । उनीहरूले पार्टीको कार्यक्रममा अध्यक्षको फोटो प्रयोग गर्न उर्दी गरे । हुन त एमालेका अधिकांश कार्यक्रममा ओलीको फोटो पहिलादेखि नै प्रयोग भइनै रहेको थियो । तर फोटो राख भनेर उर्दी लगाउने विषयले हाइटमा उठेको अध्यक्षको व्यक्तित्वलाई हलुका सावित गर्नु नै हो भन्नेमा विवाद छैन । एमालेको पंक्तिभित्र अध्यक्ष ओलीको फोटो हरेकको आँखामा सधैँ रहने इमानदार कार्यकर्ता बताउँछन् । तर आँखामा भएको फोटो झिकेर भित्तामा टाँस्न लगाउनु त्यो राम्रो विषय थिएन । पञ्चायतको अन्त नेपालमा राजतन्त्र समाप्त हुँदा कुनै औपचारिक कार्यक्रममा राजाको फोटो नराखिएकोले भएको होइन । त्यो वरिपरिका घेरामा बसेकाले जे हो हामी हौँ, जनता केही होइनन् भनेर राजालाई गुमराहमा राखेकोले असन्तुष्टि स्वरूप यी परिवर्तन भएका हुन् ।
एमालेमा राम्रो नियतले आलोचना गर्नेको स्वर गठ्ठाघरबाट दक्षिणतर्फ प्रवेश गर्नै पाएन । चाकडीको विष बाल्कोटमा बजिरह्यो । जसरी आफ्नो घरमा छोराछोरीसँग मुर्ख बाबुले पिट्दा छिमेकीले नसुनुन् भनेर ठुलो स्वरले कोठामा टिभी बजाउँछ त्यसैगरी बाल्कोटका कोठामा ओलीले बाहिरको असन्तुष्टि नसुनुन् भनेर एउटा समूहले यस्तै गरिरह्यो । बाहिरको आवाज ओलीले नसुनुन् भनेर बाल्कोटमा अहिले पनि चाकडी र देवत्वकरणको टिभी बजिरहेछ । अनि उनीहरू अध्यक्ष ओलीलाई ब्रिफिङ गरिरहेका छन्– बाहिर हजुरको जयजयकार भइरहेको छ, तपाईंको मायाले देशै भलक्कै उम्लेको छ ।
समाजको चेतना धेरै अगाडि छ । २० को दशकमा जन्मेको मान्छे अहिले ८० को दशकमा छ । प्रविधिले धेरै कुरा हातहातमा पु¥याएको छ । अब पार्टी सञ्चालन गर्ने शैली र नेताहरूलाई पनि त्यहीअनुसार आफूलाई रूपान्तरण नगर्ने हो भने कुनै बेला पार्टीहरूभित्र अराजक भिडको हालिमुहाली चलाउनेछ ।
यसबेला एमालेको प्रदेश अधिवेशनमा ओलीको आदेशको अवज्ञा भएको होइन । बाल्कोटमा आवाज पुग्न नदिनेहरूको आदेश अवज्ञा भएको मात्र हो । बाल्कोटमा बसेर देशैभरि हजुरको जयजयकार भएको छ भनेर ओलीलाई गुमराहमा राख्नेहरूको आदेश अवज्ञा भएको हो । त्यसैले प्रदेश अधिवेशनमा अधिकांश ठाउँमा चुनाव भएको हो ।
भदौको अन्तिम साता भएको लुम्बिनी प्रदेशको अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा उत्रे । त्यसले एमालेको राजनीतिमा एउटा अर्को मोड देखायो र बुझ्ने हो भने धेरैलाई करेक्सन हुने मौका पनि दिएको छ । सो अधिवेशनमा सिधै दुई प्यानल देखा परे । एउटा समूहको नाम एमालेका महासचिव शंकर पोखरेलसँग जोडेर हेरियो । भने अर्कोको नाम उपाध्यक्ष विष्णु पौडेलसँग जोडियो । पोखरेलको नाम अध्यक्ष ओलीसँग जोडियो । तर पौडेलेको माथिल्लो कुनै नेतासँग जोडिएन । यसले पौडेललाई आफैँ शीर्ष नेता हुन् र यिनी आफैँ नेतृत्व गर्ने क्षमता राख्छन् भन्ने प्रमाणित ग¥यो। किनकी पोखरेलेको नाम ओलीसँग जोडिँदा पौडेलको नाम अर्को कसैसँग जोडिएन । त्यसैले एमालेमा अब बिस्तारै पौडेलको उदयको संकेत गरेको छ । ओलीपछिको असल उत्तराधिकारी एमालेभित्र पौडेल स्पष्ट मैदानमा छन् भन्ने पार्टीका प्रदेश अधिवेशनहरूले प्रमाणीकरण गरेको छ ।
प्रदेश अधिवेशनहरूमा पनि यो प्रवृत्ति बढ्दो छ । धेरै अधिवेशनमा संस्थापन भर्सेस पौडेलको नाम आउन थालेको छ । यो अभियान पौडेल र पोखरेल दुवैले सुरुआत गरेको विषय होइन । यो त समयले उत्पन्न गरेको अवस्था हो । ओलीको नेतृत्व र व्यक्तित्वलाई भजाएर भोजन गर्ने र नगर्ने विरुद्धको विद्रोहका रूपमा यसलाई धेरैले बुझेका छन् ।
प्यानल नबनाएर चुनाव लड्दा गुटबन्दी सकिन्छ भन्नु घरमा आगो लगाएर पानी खोज्न हिँड्नुजस्तै हो । पार्टीभित्र समस्या एउटा हुन्छ समस्या अर्को देखाएर उम्कनुजस्तै हो । त्यसैले पार्टी भनेको गुटको मोर्चा नै हो भन्ने कुरामा अहिले सम्मका अभ्यासले पनि प्रष्ट पारिसकेको छ । ०५४ सालमा वामदेव गौतमको नेतृत्वमा एमालेको एउटा गुट नै पार्टी विभाजन गरेर बाहिर गयो । तर लगत्तै अर्को गुट जन्म्यो । २०७६ सालमा एमालेबाट माधव नेपाल नेतृत्वको समूह बाहिरियो तर पार्टीभित्र अहिले बिस्तारै अर्को गुटको संस्कृति मौलाउँदै गएको छ । अहिले त विभाजन भएर गएको माधव नेपालको समूहमा समेत गुटबन्दी सुरु भएको छ । पार्टी भित्रको गुटबन्दीलाई स्वभाविक रूपमा लिने हो र त्यसको व्यवस्थापन गर्न जान्ने हो भने यसले पार्टी जीवनमा क्रियाशीलता जन्माउने धेरैले टिप्पणी गरेका छन् । तर त्यसलाई व्यवस्थापन गर्न नजान्ने हो भने दुर्घटना समेत निम्तने खतरा हुन्छ । एमालेको चितवनमा सम्पन्न १०आँै महाधिवेशनपछि अहिलेसम्म शान्त अवस्था थियो । एमाले पार्टी कार्यकर्ताको स्कुलिङ भनेको नै अप्ठ्यारो बेलाका सतीसाल झँै उभिने हो । उनीहरू योबीच पार्टी विभाजनविरुद्ध उभिए नै ।
गुटका नाउमा सधैँ कार्यकर्ताको टाउको टेकेर नेतृत्वले मनपरि गर्न पाउनुपर्छ भन्ने मान्यता बिल्कुल गलत हो । तर सबैलाई पार्टी नेतृत्व आफ्ना थरिथरिका सन्तान भने सबैलाई उत्तिकै माया गर्ने हो भने व्यवस्थित बन्न सक्छ । तर वरिपरि बसेकाहरूले बाहिरका कार्यकताको असन्तुष्टी र आवाजलाई नेतृत्वमा पुग्न नदिने हो भने त्यसका लागि धेरै दुःखद् घटना भएको धेरै उदाहरण छन् ।
एमालेको १०आँै महाधिवेशनपछि कार्यकर्ता तहमा पार्टीभित्र लोकतान्त्रिक अभ्यासको खोजी भएको थियो । लुम्बिनी प्रदेश अधिवेशनले यही अभ्यासलाई व्यवहारमा ढालेको देखिन्छ । पार्टीको नेतृत्वले यो अभ्यासमा पक्षविपक्षमा लगेर कित्ताकाट गर्ने हो भने ओली पछिको नेतृत्वको जबर्जस्ती खोजी गर्नेछ । हिजो (माधव नेपाल) पार्टीको संस्थापनको पेलाइका कारण जसरी एमालेमा ओली युगको सुरुआत भयो आज त्यही विधि र घटनाबाट विष्णु पौडेल युगको उदय हुने संकेत देखिएको छ । किनकी संस्थापनसँग सामान्य भिन्न मत राख्ने पार्टीका सदस्य र कार्यकर्ता पौडलेको छाहारीमुनि ओत माग्न थालेका छन् । यो उनीहरूको बाध्यता पनि हो ।
अब एमालेमा यो दृष्य रोकिने संभावना देखिएको छैन । किनकी आन्तरिक लोकतन्त्रमा एमालेको जहाज अटोपाइलट सिस्टममा गएको छ । त्यसलाई ल्यान्ड गर्ने एअरपोर्ट मात्र बनेका हुन् पौडेल ।
प्रतिक्रिया