किन कुटिन्छन् डाक्टर ?

ज्यानको असुरक्षा भएको भन्दै डाक्टरहरू सडक आन्दोलनमा उत्रिएका छन् । उपचारमा सन्तुष्ट हुन नसकेका बिरामीमा आफन्तले भौतिक आक्रमण गर्ने घटना पछिल्लो समयमा बढ्दै गएपछि डाक्टरहरू सडक आन्दोलनमा उत्रेका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले भौतिक आक्रमण गरेका थिए । अघिल्लो साता हेटौँडाको सञ्चो अस्पतालमा पनि दुई डाक्टरमाथि बिरामीका आफन्तबाट कुटपिट भएको थियो । यस्ता घटना छिटफुट रूपमा विगतदेखि नै हुँदै आएका थिए, तर पछिल्लो समयमा बाक्लिन थालेका छन् ।

त्यसैले डाक्टरहरूले आफ्नो भौतिक सुरक्षाको माग राखी सरकारलाई संगठित रूपमा दबाब दिनु स्वभाविकै हो । उपचारका लागि डाक्टरको शरणमा पुगेका सबै बिरामी सन्चो भएर घर फर्कंदैनन् । केहीको मृत्यु हुन्छ । मृत्युको दोष डाक्टरमाथि लगाउने हो भने स्वास्थ्य सेवा प्रवाह संभव हुँदैन । तर बिरामीको उपचारका क्रममा डाक्टरद्वारा लापरवाही भनेका घटना पनि निकै छन् । केही महिनाअघि बिराटनगरका एक जना डाक्टरले सुत्केरी महिलाको नवजात शिशु नै गायब बनाएको घटना प्रहरीले पर्दाफास गरेको थियो । समाजमा खराब नियतका व्यक्ति पनि हुन्छन्, असल नियतका व्यक्ति पनि हुन्छन् । समाजका यिनै व्यक्तिहरूमध्येबाटै डाक्टर बन्ने हुन् । डाक्टरको आवरणमा खराब व्यक्तिहरू नभएका होइनन् ।

उपचारका क्रममा भएको लापरबाही बिरामीका कोही आफन्तले सहन्छन् । कोही आफन्तले तत्काल भौतिक आक्रमण गर्छन् । तर सहनु पनि राम्रो होइन, भौतिक आक्रमण गर्नु पनि राम्रो होइन । यो कुरा धेरैलाई थाहा छ । तै पनि भइरहेको छ । यसको मुख्य कारण हो, राज्य संयन्त्रको कमजोरी । पहिलो कुरा त उपचारका क्रममा लापरवाही गर्ने डाक्टरमाथि छानविन गरी कानुनी दायरामा ल्याएका घटना अत्यन्त कम छन् । त्यसैले अपराधिक मानसिकताका डाक्टरहरूको मनोबल बढेको छ । दोस्रो कुरा यस्ता डाक्टरमाथि सरकारले कारवाही गर्छ भन्ने विश्वास बिरामीका आफन्तलाई छैन । त्यसैले उनीहरू कि त सहेर बस्छन्, कि त भौतिक आक्रमणमा उत्रन्छन् । उपचारका क्रममा डाक्टरले लापरवाही गरेको हो कि होइन ? भन्ने यथार्थ कुरा बिरामीका आफन्तले थाहा पाउने कसरी ? कहिलेकाहीँ सामान्य अवस्थाको बिरामी पनि अस्पतालमा भर्ना गरिएपछि अचानक चाप्ने र डाक्टरले भरमग्दुर कोशिस गर्दा पनि बचाउन नसक्ने अवस्था हुन्छ । बिरामीको उपचार डाक्टरको नियन्त्रणमा हुन्छ, तर बिरामीको मृत्यु रोक्ने कुरा डाक्टरको वशमा हुँदैन ।

मुख्य समस्या भनेको कानुन हातमा लिने प्रयास हो । समस्या समाधानको प्रयास भन्दा समस्या आउनै नदिने प्रयास गर्नु बुद्धिमानी हो । उपचारका लागि भरमग्दुर प्रयास गरिएको विश्वास डाक्टरले बिरामीका आफन्तलाई दिलाउने हो भने यस्तो समस्या आउँदैन । यस्ता डाक्टरलाई बिरामीका आफन्तले आजीवन भगवान्को अवतार ठानेर पूजा गर्छन् । तर अहिलेका धेरैजसो नयाँ डाक्टरहरूले बिरामी तथा तिनका आफन्तलाई गर्ने व्यवहार राम्रो नभएको गुनासो धेरै सुनिने गरेको छ । बिरामी तथा आफन्तको कुुरा नसुन्ने, झर्किने, आफ्नो पारिवारिक तनाव कार्यक्षेत्रमा पोख्ने गर्दा यस्तै अवगाल आइपर्छ भन्ने पाठ डाक्टरहरूले सिक्नु जरुरी छ ।

डाक्टरले बिरामी तथा तिनका आफन्तप्रति राम्रो व्यवहार गरिदिने हो भने मात्रै पनि यो समस्या ९० प्रतिशत समाधान हुन्छ । बाँकी १० प्रतिशत समस्या समाधानका लागि राज्य संयन्त्र नै चुस्त हुनुपर्छ । ठीक ढंगले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने उजुरी गर्ने ठाउँ छ र उजुरीमाथि तत्काल सुनुवाई हुन्छ भन्ने विश्वास बिरामीका आफन्तले गर्ने वातावरण हुनुपर्छ । बिरामी पक्षका तर्फबाट उजुरी पर्यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुन्छ भन्ने विश्वास जगाउन नसक्दासम्म यो समस्या पूर्णरूपमा समाधान हुँदैन । यो समस्या समाधान भएन भने इमानदार तथा क्षमतावान डाक्टरहरू विदेश पलायन हुन्छन् भन्ने हेक्का सरकारले राख्नु जरुरी छ ।

प्रतिक्रिया