वात्सायनलाई पद्मश्री सम्मान

काठमाडौं । ‘पद्मश्री साधना सम्मान’ अग्रज व्यंग्यचित्रकार दुर्गा बराल ‘वात्स्यायन’ लाई प्रदान गरिने भएको छ । बीसको दशकदेखि नेपाली कला र व्यंग्यचित्रका क्षेत्रमा निरन्तर सक्रिय सहँदै महत्वपूर्ण योगदान दिएका कलाकार वात्स्यायनलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ । नेपाली व्यंग्यचित्रमा नयाँपन र धारिलो बनाइ नवीनतम दिशा प्रदान गरेकाले नेपाली चित्रकलामा वात्स्यायनको योगदान विशिष्ट रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए ।

यस्तै, प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार २०७९’ देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ । यो उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास भएको प्रतिष्ठानले जनाएको छ ।

उपन्यासमा मूलपात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथालाई उधिनिएको छ । अध्यक्ष लामिछानेका अनुसार १८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठह¥याइएको हो । उनले छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको जानकारी दिए । यसैगरी, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने भएको छ । यो पुरस्कार गत वर्षबाट प्रदान गर्न थालिएको हो । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि तीन लाख रहेको छ । प्रतिष्ठानका अनुसार सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने छ ।

प्रतिक्रिया