काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित ‘आठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०’ को सम्पूर्ण तयारी पूरा भएको छ । उक्त अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्था उपत्यका समन्वय समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सो अवार्ड वितरण भने आगामी असोज ११ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा गरिने प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ २०६२ सालमा स्थापना भएको सो संस्थाले २०६९ सालमा ‘पूजा लोक दोहोरी अवार्ड’ सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
११ गते वितरण हुने सो अवार्ड विभिन्न २४ वटा विधामा प्रदान गर्न लागिएको जानकारी दिँदै समन्वय समितिका अध्यक्ष थापाले लाइफटाइम अचिप्मेन्ट अवार्ड कृष्ण सुधा ढुंगाना, उपत्यका समन्वय विशिष्ट सम्मान (बेवारिसे लास व्यवस्थापन कि सदस्य) सपना रोका, संस्थागत सम्मान प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड विशेष सम्मान प्रतिष्ठानकै महासचिव शिव हमाल, दशकका श्रष्टा सम्मान एकनारायण भण्डारी, सदाबहार लोक गीत सम्मान ‘बाँबरी फूलको बोट’ (पाण्डब सुनुवार), लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशुलगायलाई प्रदान गरिने पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझी, पूर्वअध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, केन्द्रिय सचिव पिएन सापकोटा, केन्द्रिय सहसचिव राजकुमार रायमाझी, केन्द्रिय सदस्य सुजन लम्साल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया