रोशनीलाई ‘तिज नारी सम्मान’

काठमाडौं । गीतकार तथा सञ्चारकर्मी कृष्णदेवी आचार्य ‘रोशनी’ सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित ‘छायाँछवी तिज म्युजिक अवार्ड’ दशौँ संस्करणमा गीतकार तथा सञ्चारकर्मी रोशनी तिज नारी सम्मानबाट सम्मानित भएकी हुन् । उनीसँगै अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी र सञ्चारकर्मी सवी कार्की खड्का पनि सम्मानित भएका छन् ।

बागलुङको बरेङ गाउँपालिका चित्रेमा बुबा छायाँदत्त उपाध्याय र आमा दुर्गादेवी आचार्यको कोखबाट जन्मिएकी आचार्यले सानै उमेरदेखि गीत संगीतमा रुचि भएर गाउँघर र विद्यालयमा आयोजना हुने कार्यक्रममा आफ्नो सिर्जनामार्फत उपस्थित भइहाल्ने गरेको बताइन् । मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रमेकी रोशनीका विद्यार्थी जीवनमै ‘संघर्ष’ गजल संग्रह, ‘च्यातिएको मन’ उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए । त्यसैको निरन्तरता स्वरूप उनका दर्जनौँ लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तिज गीत, दशैँ गीत, झ्याउरे गीत प्रकाशित भएका छन् ।

गीत संगीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्न र देख्न सकिन्छ । काठमाडौं आएपछि गीत संगीतका साथै पत्रकारितालाई पनि आफ्नो कर्म बनाएकी उनले विशेष गरी कला मनोरञ्जनसम्बन्धी लेखनलाई अघि बढाएको बताइन् । उनी अनलाइन, छापा, युट्युबमार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छन् ।
उनका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले सांगीतिक बजारमा राम्रो चर्चा बटुलेका छन् । उनले गीत संगीत र पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय कामको उच्च मूल्यांकन गर्दै विभिन्न अवार्ड र सम्मान आयोजक संस्थाले सम्मानित पनि गरेका छन् ।

जसमा सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शव्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड, इपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान, नेशनल पावर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिभल रंग पत्रकारिता संमान २०७८, योङ माइन्डस् म्युजिक अवार्ड २०७८ रंग पत्रकारिता संमान १०औं छायाँछवी तिज म्युजिक अवार्ड २०८० तिज नारी सम्मानलगायत छन् । छायाँछवीका क्रिएसनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलिक परम्परा विशेषगरी तिजको अवसर पारेर आयोजना गरिँदै आएको अवार्डका माध्यमबाट कलाकारलाई क्रियाशील रहनका लागि थप प्रोत्साहन मिलोस् भनेर कार्यक्रम गरेको बताए ।

उनले चाडबाडका नाममा हुने विकृति विसंगति रोक्दै मौलिक परम्परा जोगाउने किसिमका गीत संगीत नेपाली दर्शकमाझ पस्कन कलाकारलाई थप ऊर्जा मिलोस भन्ने उद्देश्य राखेर विगत दश वर्षदेखि अवार्डको आयोजना गर्दै आएको जानकारी दिए । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर श्रीजना बुर्लाकोटी अर्यालले आगामी दिनमा कलाकारलाई प्रोत्साहन गर्नको लागि विभिन्न किसिमका कार्यक्रम ल्याउने तयारी भइरहेको बताइन् ।

चलचित्र निर्देशक तथा तिज म्युजिक अवार्डका निर्देशक माधवराज खरेलले दश वर्ष अगाडिदेखि आयोजना हुँदै आएको यस कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मुलः उद्देश्य राखेको सुनाए । उनले भने, ‘यस्ता किसिमका कार्यक्रमलाई व्यवसायीकरण गर्नुभन्दा हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिनु पर्दछ ।’

प्रतिक्रिया