नेपालीहरुको महान चाड बडा दशैं अबको तीन साता पछि सुरु हुँदैछ । विगतका वर्षहरुमा तीज पर्व सकिए लगत्तै दशैं बजारको चहल पहल सुरु हुने गथ्र्यो । यस वर्ष भने बजार अझै सुनसान छ । दसैँ र तिहारलाई लक्षित गरेर काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरिएको सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कम्पनीले जनाएको छ । यसैगरी निजी क्षेत्रको चौपाय खरिद विक्रि संघले पनि ४० हजार खसी बोका ल्याउने तयारी थालिएको जनाएको छ । यस बाहेक निजी क्षेत्रका खुद्रा ब्यापारी तथा किसान स्वयंले पनि खसी बोका विक्रिका लागि काठमाडौं ल्याउने गर्छन् । त्यसो त काठमाडौं उपत्याकाका मासु पसलेहरुले पनि आफ्नै संयन्त्र मार्फत खसी बोका ल्याउने गर्छन् । किसानले खसी बोका विक्रि गरेपछि दशैं बजारको चहल पहल बढ्छ । त्यही रकमले किसानले दशैंका लागि आवश्यक बस्तु खरिद गर्छन् । पूर्वको खोटाङदेखि पश्चिमको रोल्पासम्मका पहाडी भेगबाट काठमाडौं उपत्याकामा खसी बोका खरिद गरेर ल्याइन्छ । यसैगरी तराई तर्फ पश्चिम दाङदेखि पूर्व जनकपुरसम्मबाट ठूलो परिणामका खसी बोका काठमाडौं ल्याइन्छ । पाँच वर्ष अघिसम्म भारतबाट पनि ठूलो परिमाणमा खसीबोका आयत हुन्थ्यो । अहिले नेपाल खसीबोकामा आत्मानिर्भर छ , तर चोरी पैठारी भने खासै घट्न सकेको छैन , किनकी नेपालमा भन्दा भारतमा खसीबोका सस्तो पाइन्छ खुला सिमानाको फाइदा उठाएर चोर बाटोबाट महिना दिन अघि भारतीय खसीबोका ल्याएर खोरमा पाल्ने र दसैँका बेला बेच्ने समस्या तराईमा देखिएको छ । यसरी आयात भएको खसीबोकाका कारण नेपाली किसान मारमा परेका छन् ।
बडा दसैँ र मासु एकअर्काका पर्याय जस्तै बनेका छन् । बडादशैं चाडको मुख्य विशेषता भनेकै मांसभोजन तथा पशुवली हो । शक्ति प्राप्तीको लागि आराधना गरिने चाडपर्व भएका कारण पशु बलि लिने चलन छ । शाकाहारीका लागि बाहेक मासुविनाको दसैँ हुँदैन । मासु खानका लागि चाडपर्व नै पर्खनुपर्ने वर्गको जनसंख्या नेपालमा उल्लेख्य छ । जतिसुकै विपन्न भए पनि दसैँमा प्रसस्त मासु खाने तथा खुवाउने चलन छ । जसका कारण दसैँका अवसरमा मासुको खपत अत्यधिक बढ्ने गर्छ । नेपालमा वर्षभरी मासुको जति खपत हुन्छ त्यसको ३० प्रतिशत खपत दसैँका अवसरमा मात्रै हुने गर्छ । दशैंमा शहरको पैसा गाउँमा पुग्ने मुख्य माध्यम बनेकै मासुको ब्यापार हो । अन्य उपभोग्य बस्तुमा भने गाउँको पैसा शहर तर्फ तानिन्छ । दसैँका लागि भनेर दुई वटा पाठा हुर्काउने, एउटा आफैँले खाने र अर्को बिक्री गरेर अन्य खर्च जुटाउने चलन छ । किसानहरूको यो वाध्यतालाई दलालहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेका छन् । किसानहरू सस्तोमा खसीबोका बिक्री गर्न बाध्य छन् । उपभोक्ताहरू महँगोमा मासु किन्न बाध्य छन् । उदाहरणका लागि किसानहरूले जिउँदो खसी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्छन् । काठमाडौं उपत्यकामा खसीको मासुको बजार मूल्य प्रतिकेजी १४ सय रुपैयाँ छ । यो तथ्यांकले पनि किसान र उपभोक्ता के कसरी ठगिएका छन् ? आफ्नो जिम्मेवारीमा राज्य कहाँनिर चुकेको छ ? भन्ने स्पष्ट हुन्छ । दशैंमा प्रतिव्याक्ति सरदर तीन किलो मासु खपत हुन्छ ।
नेपालको जनसंख्या करिव ३ करोड छ । सरकारी तथ्यांकअनुसार दसैँको अवधिमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसी÷बोका र च्याङ्ग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । प्रतिकेजी सरदर ८ सय रुपैयाँको हिसाब गर्ने हो भने पनि करिब ८० अर्ब रुपैयाँ हुन्छ । यो धेरै ठूलो रकम हो । यति ठूलो बजारलाई सरकारले निगरानीमा राख्नु पर्छ । किसानले कतिमा विक्रि गर्छन् ? उपभोक्तासम्म आइपुग्दा मुल्य कति हुन्छ ? भन्ने कुराको अनुगमन सरकारी स्तरमा हुनु जरुरी छ । कुल ८० अर्बको ब्यापारमा सरकारी संस्था खाद्य व्यवस्था कम्पनीले १० करोड रुपैंया भन्दा पनि कमको किनबेच गर्नु भनेको ज्यादै थोरै हो । बजार भाउ नियन्त्रणका लागि खाद्य व्यवस्था कम्पनीले कम्तीमा पनि १० प्रतिशत किनबेच गर्नु पर्ने थियो । विगतमा गथ्र्यो पनि । तर केही वर्ष यता भने आफ्ना कर्मचारी तथा पहुँच वालाका लागि मात्रै खसी–बोका–च्याङ्ग्रा खरिद विक्रि गर्ने गरेको देखिएको छ ।
प्रतिक्रिया