राजनीतिक उपलब्धिलाई रक्षा गर्दै अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवस, २०८० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताएका हुन् ।

जनताको चाहना अनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधान अनुसार तीन तहको निर्वाचन दोस्रो पटक सम्पन्न गरिएको उल्लेख गर्दै सन्देशमा उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

संविधानको कार्यान्वयनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको तथा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन आवश्यकता उक्त सन्देशमा औँल्याइएको छ ।

अध्यक्ष नेपालले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको उल्लेख गर्दै सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्तिबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन परिवर्तनकारी शक्तिहरूलाई आग्रह गर्दै अध्यक्ष नेपालले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया