चिनीको मूल्य आकासियो

काठमाडौं । चाडपर्वसँगै चिनीमो मूल्य आकासिएको छ । विगतका वर्षमा पनि चाडपर्व अघि चिनी अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । व्यवसायीहरुले यो वर्ष पनि सोही कार्यलाई निरन्तरता दिएका छन् । अहिले चिनीको मूल्य किलोको १ सय ४० रुपैयाँ पुगेको छ । खुद्रा व्यापारीहरुका अनुसार एक साताअघि चिनी प्रतिकिलो १२० रुपैयाँ थियो । अहिले १४० रुपैयाँसम्म पुगेको छ । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अस्वाभाविक रुपमा चिनीको मूल्य बढ्नुपर्ने अहिले कुनै कारण छैन । बजार अनुगमन गर्ने नियामक निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन छ । थोक र खुद्रा व्यापारीले यसको फाइदा लिएका छन् । पसलपिच्छे व्यापारीले उपभोक्ताबाट चिनीमा आफूखुसी मूल्य बढाउने गरेका छन् ।

सरकार र बजार अनुगमन गर्ने नियामक निकायलाई व्यापारीहरुले नै कमजोर बनाएका छन् । चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तु चिनीको मूल्य आपूmखुसी बढाउने काम गरेको उपभोक्ताहरूले बताएका छन् । व्यापारीले चोरीपैठारी गरेर ल्याएको चिनी उद्योगीले नेपाली बोरा बनाएर बजारमा पठाउँछन् । व्यापारीले त्यही चिनीको उपभोक्तासँग मनपरी मूल्य उठाउने गरेका छन् । बजार अनुगमन गर्ने निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई नेतृत्वविहीन बनाएर सरकारले नै व्यापारीलाई उपभोक्ताबाट ठग्ने काम गर्न सघाएको आरोप समेत उपभोक्ताहरुले लगाउने गरेका छन् ।

बजारमा एक्कासि चिनीको मूल्य आकासिएको गुनासो आएपछि विभागले चिनी उद्योगीलाई चिनीको उद्योग मूल्य कति हो जानकारी गराउन पत्र काटेको छ । चाडपर्व नजिकिँदै गर्दा अनुगमन गर्ने निकाय नेतृत्वविहीन हुँदा व्यापारीको आत्मवल बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २० देखि २५ हजार टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी प्रयोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ । वार्षिक चिनी खपत भने करिब ३ लाख टनसम्म पुग्ने गरेको छ ।

चिनीको मूल्य आकासिएको कुराले चर्चा पाएपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिकटन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । तर अर्थ मन्त्रालयले २० हजार मेट्रिकटन चिनी आयातका लागि ५० प्रतिशत मात्र भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया