स्वाद र सुगन्ध विनाको दर !

तिज पर्वले सत्य युगमा भगवान शिव र पार्वतीको माया प्रितिलाई प्रतिबिम्बित गर्छ । त्यो दृष्टिले हेर्ने हो भने एकले अर्कालाई प्रेम र सम्मान गर्नु पर्ने हो । तिजमा निराहर ब्रत बसेकै कारण पार्वतीले आफूले चाहे जस्तो शिवजी पति पाएको भन्ने धार्मिक मान्यता छ । र यसमा विश्वास गर्नेको संख्या पनि उत्तिकै छ । हिन्दु धर्मावलम्बीहरुले यसैका आधारमा विश्वास पनि गर्छन् । तर, अहिले आएर धेरैजसो महिलाले निराहार ब्रत बसेकै कारण श्रीमानको दीर्घायु हुने कुरामा विश्वास गर्न छाडेका छन् । नयाँ पुस्ता तिजमा निराहर ब्रत बस्न छाडेका छन् । ब्रत बसेकै आधारमा श्रीमानको आयु बढ्ने होइन, श्रीमतीको स्वास्थ्य बिग्रन्छ भन्ने मान्यता पनि बिस्तारै स्थापित हुँदै छ र पछिल्लो पुस्ता निराहर होइन, फलाहार ब्रत बस्न थालेका छन् ।

चमिना भट्टराई

आज हरितालिका तिज । हरितालिका तिजलाई महिलाहरुको महान चाड भन्ने गरिन्छ । तर, पछिल्ला दिनमा तिजको रमझम हेर्दा यो महिला मात्रैको रहेन, सबैको साझा चाड जस्तै भएको छ । तिजका नाममा हुने हरेक कार्यक्रममा महिला र पुरुषको बराबरी जस्तै सहभागिता हुने गरेको छ । तिजका अवसरमा हुने औपचरिक कार्यक्रमको मञ्च होस, वा तिजका बारेमा शुभकामना दिने वक्ता होस, महिला र पुरुषको संख्या उस्तै उस्तै हुन्छ । अझ कतिपयं कार्यक्रमका मञ्चमा महिला भन्दा पुरुषको सहभागिता कम हुँदैन । नाच्ने, गाउँने र दर खाने कार्यक्रममा समान सहभागिता हुने गरेको छ । यसले पनि यो महिलाको मात्रै महान पर्व रहेन ! अर्को तर्फ धार्मिक आस्था राख्ने महिलाहरुले श्रीमानको दिर्घायुको कामना गरेर निराहर बस्छन् । त्यसैले पनि यो महिलाको मात्रै चाड भन्नु नपर्ला । तिजलाई हिन्दु महिलाले श्रीमानका लागि दीर्घायुको कामना गर्दै निर्जल, निराहार व्रत बस्ने पर्वका रुपमा लिइन्छ ।

विवाहित महिलाहरु आफ्ना पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अनि अविवाहित युवतीहरु योग्य र कुशल पतिको कामना गर्दै ब्रत बस्ने दिनका रुपमा लिने गरेको पाइनछ । यो दिन श्रीमानबाट पीडित महिलाले पनि तीनै श्रीमानको दिर्घायुको कामना गर्दे ब्रत बस्छन् । अहिले पनि तिजका दिन केही खाए श्रीमानको आयु घट्ने र पाप लाग्छ भन्नेमा विश्वास गर्ने महिला छन् । तर, आफ्नो लागि श्रीमानले दिर्घायुको कामना गरुन भन्ने चाहिँ अपेक्षासम्म राख्न सक्दैनौ किन होला ? यो बिषयमा पनि बहस गर्नुपर्ने बेला आएको छ ।

परम्परागत रुपमा मनाइँदै आएको ‘हरितालिका तिज’ को सुरुवात प्रेमकै कारण भएको मानिन्छ । यस पर्वले सत्य युगमा भगवान शिव र पार्वतीको मायाप्रितिलाई प्रतिबिम्बित गर्छ । त्यो दृष्टिले हेर्ने हो भने एकले अर्कालाई प्रेम र सम्मान गर्नु पर्ने हो । तिजमा निराहार ब्रत बसेकै कारण पार्वतीले आफूले चाहे जस्तो शिवजी पति पाएको भन्ने धार्मिक मान्यता छ । र यसमा विश्वास गर्नेको संख्या पनि उत्तिकै छ । हिन्दु धर्मावलम्बीहरुले यसैका आधारमा विश्वास पनि गर्छन् । तर, अहिले आएर धेरैजसो महिलाले निराहार ब्रत बसेकै कारण श्रीमानको दीर्घायु हुने कुरामा विश्वास गर्न छाडेका छन् । नयाँ पुस्ता तिजमा निराहार ब्रत बस्न छाडेका छन् । ब्रत बसेकै आधारमा श्रीमानको आयु बढ्ने होइन, श्रीमतीको स्वास्थ्य बिग्रन्छ भन्ने मान्यता पनि बिस्तारै स्थापित हुँदै छ र पछिल्लो पुस्ता निराहार होइन, फलाहर ब्रत बस्न थालेका छन् । ब्रत बस्दा अन्न नखाए हुन्छ, पानी, जुस र फलफूल खानुपर्छ भन्ने जमात बढदै छ । यो सकारात्मक पक्ष पनि हो ।

यो चाडमा माइती पक्षले छोरी/चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने परम्परा थियो । तर, यसमा पनि आधुनिकताको प्रवेश भएको छ । पछिल्ला वर्षमा तिज फरक रुपमा मनाउन थालिएको छ । कतिले तिजका नाममा संस्कृति जोगाउने भन्दा बिकृति फैलाउन काम बढी भएको पनि भन्न थालेका छन् । खास गरी तिज मनाइने शैली र दर खाने कुरामा यस्तो देखिएको हो । हरेक वर्ष भाद्र शुक्ल द्वितीयको दिन बेलुका विभिन्न प्रकारका मिष्ठान्न भोजन ‘दर’ खाएर भोलिपल्ट अर्थात् तृतीयाका दिन निराहार, निर्जल व्रत बसेर यो पर्व मनाउने चलन थियो । पानी समेत नखाई आफ्नो स्वास्थ्यलाई असर पु¥याएर व्रत बस्नु ठीक होइन भन्ने मानसिकताको विकास भएसँगै महिलाहरुले पानी र फलफूल खाएर व्रत बस्न थालेका छन् । समयसँगै व्रत बस्ने प्रक्रियामा परिवर्तन आइरहेको छ । र, परिवर्तन व्रतको प्रक्रियामा मात्रै नभएर तिजको प्रक्रियामा समेत देखा परेको छ ।

धार्मिक महत्व मात्र नभएर तिजको छुट्टै सामाजिक महत्व समेत छ । पहिलेको नेपाली समाजलाई हेर्ने हो भने उदारवादी सोच, लैगिंक समानता, महिलाको पहुँच आदिजस्ता विषयहरु एकादेशको कथाजस्तो लाग्छन् । नौ डाँडा पारि माइती हुन्थे । छोरी भने सबेरै घाम झुल्किनु अघिदेखि नै ढिकी जाँतो र मेलापात, घरधन्दा, परिवार मै अल्झिएर दिन बित्थ्यो । माइत जान छोरीहरु औँला भाँच्दै तिजको पखाईमा हुन्थे । एक दिन भए पनि आरम पाउँला र मिठो खाउँला भनेर तडपिनु पर्ने त्यो जमानामा महिलाका लागि तिज निकै महत्वका रुपमा लिइन्थ्यो । तर, अहिले मान्छेको जीवनशैली फेरिएको छ । खानपान र नयाँ कपडा फेर्ने कुरामा पहिलाको जस्तो चाडवाड कुर्न पर्ने कम भएका छन् । त्यो बेलाको तुलनामा अहिले तिजको महत्व घटेको महसुस हुन्छ ।

जीवनशैली र खानपान मात्रै होइन, तिजमा गाइने गीत र संगीत पनि फेरिएको छ । वर्षभरि झेलेका दुःख, पीडाहरुका बारेमा धक फुकाएर आमासँग गुनासो गर्थे पहिलाका महिला । वर्षभरि मीठोमसिनो चाख्न नपाएको जिब्रोले स्वाद फेर्ने, आफ्ना बालसखाहरुसँग भेटेर आ–आफ्ना घरपरिवारका बारेमा कुरा गर्दै रमाइलो नाचगान गर्ने सुनौलो अवसर हुन्थ्यो तिज । पीडा बेदना र आफूले घरमा परिवारबाट भोगेको दुःख गीतमा पोखिन्थे । ‘तिजको रहर आयो बरी लै’ जस्ता गीतले पूरै तिजको मर्म समेट्थ्यो ।

‘मसिनाको चामलमा घिउ हालेर पकाए,

म नआइ आमा तिम्ले नखाए,’

यस्तै सरल शब्द तर सुन्दर थियो तिजमा गाइने गीत । तर, अहिले मसिनाको चामलमा घिउ हालेको भातका लागि माइती सम्झने कम भएका छन् । अर्को तर्फ महिलाहरु आफैले मौलिक गीत रचना गर्थे र धीत मारुञ्चेल नाच्थे । समाजमा भएका विकृति विसंगति पनि गीतबाटै उजागर हुन्थ्यो । तर, समयसँगै तिजको रौनकताले काँचुली फेरेको छ ।

अहिलेको तिज फेरिएको छ । हामीले केटाकेटीमा देखेको जस्तो छैन आजको तिज । हाम्री आमा हजुरआमाहरुले मानाए जस्तो छैन । उहाँहरुले खाए र खुवाएको जस्तो दरको स्वाद र सुगन्ध अहिले हराएको छ । स्वाद सुगन्ध विना भड्किलो हुँदै गएको छ तिज । अहिले टोलभरिका महिला साँझपख आगँनमा जम्मा भएर पीडा पोखिदैनन् । दिन भरीको मेला पातको थकाइ मेटाउँदै मनको बह गीतमा बग्दैन हिजोआज । पार्टी प्यालेस र सभा गृहहरुमा साउन्ड सिस्टममा घन्किन थालेका छन् तिजका गीत । गीतमा मिठास घटेको छ, दर खाने दिनको चटारो बढेको छ । एकै दिन धेरै ठाउँमा दर खान भ्याइनभ्याइ छ अहिले । एक महिना अघिदेखि नै चल्ने दरको चटारोले भाद्र शुक्ल द्वितीयको दिन बेलुका खाइने दरको महत्व घटेको छ । दर खाने बहनामा कपडा र गहना देखाउने पनि बढेका छन् । हामीलाई मध्ये रातमा उठाएर आँखा मिची मिची दर खुवाइन्थ्यो । अहिले त्यो दरको स्वाद र महत्व ओझेलमा परेको छ । वर्षमा एक दिन खाइने दर महिनौं खान थालेपछि त्यसको महत्व घट्ने नै भयो ।

संस्कृतिको संरक्षण र त्यसमा भएका कयौं गलत प्रकारका चिन्तनको बिस्तारै अन्त्य गर्दे जानुपर्छ । एक दिन दर खाने चलन रहँदा जति यसको महत्व थियो त्यसमा ओरालो लागेको छ । देखा सिकिमा पर्व मान्नु पर्ने, अरुलाई देखाउनका लागि ऋण गरेर महंगा लुगा लगाउनु पर्ने जस्ता भडकावलाई निरुत्साहि गर्नुपर्छ । घरमा जे छ, जे जुटाउन सकिन्छ,त्यसैलाई दरका रुपमा मिठो मानेर खानु, खुवाउने र खाइदिने भावनाको विकास गर्नुपर्छ । तिज मान्ने हाम्रो संस्कृतिमा यो खानै पर्छ र यो लगाउनै पर्छ भन्ने कहिँ कतै उल्लेख छैन । त्यसैले होला कैलालीका महिलाले सस्तो सारी लगाएर तिज मनाउने निर्णय गरेछन् । यो राम्रो र सकारात्कम पक्ष हो । यसलाई सबैले सरल बनाउने तिर लानुु पर्छ । त्यसैले आज हामी जसरी तिज मान्दै छौं त्यो देखावटी र सिकावटी नै हो । घरमा भएका र जुटेको बस्तुलाई मिठो मानेर खाँदै तिज मनाऔं । चाडवाडका नाममा आफन्त र परिवारलाई तनाव हुने गरी तिज मनाउन पर्ने विकृृतीको भने अन्त्य गर्नुपर्छ । यो सबैको पर्व भएकाले सबैको सम्मान हुने गरी मनाउँ ।

क्याैँ कुरा समय अनुसार फेरिन्छन् , रुपान्तरण हुन्छ । तर, संस्कतिमा रुपान्तरण सहि की गलत ? यसमा पनि बहस हुन जरुरी छ । आधुनिकीकरणको नाममा तिजको धार्मिक, पारम्पारिक र सामाजिक विशेषतालाई भड्किलो होइन, सरल पनि बनाउन सकिन्छ । नेपाली महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व नेपालमा मात्रै होइन, भारतका केही ठाँमा पनि मनाइन्छ । अहिले त नेपाली पुगेका विश्वका अन्य देशमा पनि मनाउन थालिएको छ । नेपालमा भने तिज र दरको रुप रंग फेरिएको छ । यसमा पनि वर्ग झल्केको प्रष्ट देखिन्छ । वर्ग विहिन र भावना मिलाउने पर्वका रुपमा तिजको विकास हुनुपर्ने आवश्यकता छ । संस्कृति रुपान्तरणका नाममा कसैले एउटै पर्व धेरै दिन मनाउने, महंगा र विलाशी गहना प्रदर्शन गन, कसैले एक दिन पनि दरका नाममा मिठो मसिनो खान कठिन हुने, एक जोर बस्त्र फेर्न पनि रहर मान्नु पर्ने अवस्थाका अन्त्य हुने गरी तिजको सांस्कृतिक रुपान्तरण र विकास होस, सबैमा हार्दिक शुभकामना ।

प्रतिक्रिया