कुवेतमा आन्दोलनरत नेपाली महिला काममा फर्किए

दोहा । कुवेतमा कम्पनी विरुद्ध आन्दोलन गरेका नेपाली महिला कामदार काममा फर्किएका छन् । काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र पुगेका कुवेतस्थित एक कम्पनीमा पुगेका थिए ।

मेनपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको मेनपावरले १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता गरेर पठाएको भएपनि यहाँ आफूहरुलाई ८ घण्टा काम गरे बापत ७५ केडी मात्र दिएको उनीहरुले बताए । पछि त्यो कम्पनी बन्द भएपछि वेल अल नुसिफ ट्रेडिंग कम्पनीमा टान्सफर भएका थिए ।

नयाँ कम्पनीमा काम गरिरहदा पनि कम्पनीले ९ महिनासम्म ७५ केडी तलव दिनु पर्नेमा त्यो पनि काटेर ५६÷६० केडी मात्र दिएको थियो । नयाँ कम्पनीमा काम गर्दै गरेको अवस्थामा कुवेती सिभिल आइडी लगाए बापत कम्पनीले २५६ केडी मागेपछि उनीहरु आन्दोलित भएका थिए ।

नयाँ कम्पनीलाई सिभिल आइडी लगाईदिए बापत ६÷६ केडी दिईसकेको तर, फेरि १५ दिन भित्रमा २५६ केडी मागेपछि उनीहरुले कम्पनी बिरुद्ध आन्दोलन गरेको बताएका छन् । उनीहरुले आन्दोलन गरेपछि अब तीन महिना भित्रमा २५६ केडी तिर्ने सहमति भएपछि काममा फर्किएको त्यस मध्यका एक सुज्जना बस्नेतले जानकारी दिईन ।

“अहिले हामीलाई कम्पनीले ड्युटी गर्दै गर सिभिल आइडी लगाई दिए बापतको पैसा तीन महिना भित्रमा दिने सहमति भयो, बस्नेतले भनिन् ; पैसा नदिई नहुने भयो, त्यसपछि हामी काममा फर्कियौ, अब बिस्तारै काम गरेर तिर्नु पर्ला ।“

कम्पनीले ब्लक गरेको सिभिल आइडी पनि पनि खुल्ला गरिदिने भएको छ । यसअघि सोही कम्पनीको विभिन्न क्याम्पमा रहेका केहि कामदारहरुलाई विगत लामो समयदेखि तलव नदिएको र दिएपनि पाउनु पर्ने तलव नपाएको उनीहरुले गुनासो समेत गरेका थिए अब यी सबै समस्या हुने बताईएको । आफूहरु यहाँ नेपाली महिला मात्र ४ देखि ५ हजार जना भन्दाबढी रहेको उनीहरुले बताएका छन् ।

उनीहरुको आन्दोलनमा बंगलादेशका महिला कामदारहरुले समेत साथ दिएका थिए । यसअघि कम्पनीले श्रमशोषण गर्न लागेको थाहा पाएपछि उनीहरु काम बन्द गरेर कम्पनी बिरुद्ध आन्दोलनमा उत्रिएका थिए । कम्पनी बिरुद्ध नाराबाजी गर्दै अफिससम्म पुगेका उनीहरुलाई कुवेत प्रहरी पुगेपछि नियन्त्रणमा लिएर छोडेको थियो ।

यता, कुवेतस्थित नेपाली दूतावासले पनि उनीहरुको माग जायज रहेको भन्दै उनीहरुले कम्पनी बिरुद्ध हड्ताल, नाराबाजी तथा तोडफोड गलत रहेकाले सहमति, सहकार्य बाट समस्या समाधान गर्नुपर्ने भएकाले अब देखि यस्ता कार्य नगर्न सचेत गराएको जनाएको छ ।

निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत बुधबार मात्र १६ जना नेपाली महिला कामदार कुवेत गएको र अझै ठूलो संख्यामा जाने तयारीमा रहेको एक श्रोतले जानकारी दिएको छ । खाडी लगायतका देशहरुमा आन्दोलन गर्न त्यहाँको कानुनले वर्जित गरेको छ । पछिल्लो समय रोजगारीका लागि कुवेत पुगेर अलपत्र पर्ने नेपालीको संख्या दिनप्रति दिन बढ्दो छ ।

प्रतिक्रिया