पाँचथर । जिल्ला को हिलिहाङ गाउँपालिका– ७ का पदमप्रसाद तिम्सिनाको स्मृतिमा कृषकका लागि पुरस्कार स्थापना गरिएको छ । तिम्सिना परिवारले वार्षिक १० हजार राशीको पुरस्कार जिल्लाभरका कृषकमध्येबाट एक जनालाई प्रदान गरिने जनाएको छ ।
फिदिममा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हरेक वर्ष बुवाको मुख हेर्ने दिन पुरस्कार प्रदान गर्न लागिएको हो । पदमप्रसाद उत्कृष्ट कृषक पुरस्कार नाम दिएको पुरस्कार छनोटका लागि समिति बन्नेछ ।
जिल्लाभरका स्थानीय तहले सिफारिस गरेका कृषकमध्येबाट समितिको सिफारिसमा एक जनालाई पुरस्कृत गर्न लागिएको संस्थापक मध्येका गुरुराज तिम्सिनाले जानकारी दिए ।
आफ्ना पिताले समाज सेवासँगै कृषि कर्मलाई दिएको निरन्तरताको लागि सम्मानस्वरुप यस्तो कार्यक्रम तयार पारिएको छोरा रविन तिम्सिनाले बताए ।
जिल्लामा यो तवरको पुरस्कार यसअघि प्रदान भएको छैन । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पुरस्कार पाँचथर जिल्ला भरका कृषकलाई मात्रै प्रदान गरिने संस्थापकहरुले बताएका छन् ।
प्रतिक्रिया