डिभिजन वन कार्यालय रौतहटमा ३९ मुद्दा दर्ता

रौतहट । डिभिजन वन कार्यालय रौतहटमा गत आर्थिक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये ३९ थान सबै काठ तस्कर सम्बन्धी मुद्दा रहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजनल वन अधिकृत सुनीलकुमार कर्णले जानकारी गराए ।

कर्णका अनुसार काठ तस्कर सम्बन्धी मुद्दामा ५० जनालाइ पक्राउ गरी कारबाही गरिएको छ । डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको दुई हजार पाँच सय ३२ दशमलव ३३ घनफिट काठ बरामद गरिएको कार्यालयले जनाएको छ ।
काठसँगै ट्रयाक्टर ३ वटा, पिकअप भेन ८ वटा, मोटरसाइकल ५ वटा, इ–रिक्सा ४ वटा, ट्रक १ वटा, मिनि ट्रक १ वटा, टायरगाडा ५ वटा, स्कारपियो १ वटा, र साइकल ६५ वटा गरी ९४ वटा सवारी साधन बरामद गरिएको छ ।

डिभिजन वन कार्यालय मातहतको जंगलमा पछिल्लो समय गस्ती बढाएका कारण काठ चोरी तस्करीमा व्यापक मात्रामा कमी आएकोे छ । कार्यालय प्रमुखमा कर्ण आएदेखी काठ चोरी तस्करीमा कमी आएको कार्यलयको दाबी छ । काठ चोरी तस्करी गर्नेहरुलाई धमाधम पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन थालेपछि काठ तस्करहरुको भागाभाग भएको छ ।

वनमा हुने काठ चोरीलाई नियन्त्रण गर्न आफु हरसम्भव प्रयासरत रहेको बताउँदै उनले वन फडाँनी रोक्न कुनै कसर बाँकी नराखेको बताए ।

वन विकास सम्वन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वय गर्ने, वन व्यवस्थापन वृक्षारोपण तथा प्राकृतिक सन्तुलन सम्वन्धी जानकारी सर्वसाधारणलाई उपलव्ध गराई वन व्यवस्थापन कार्यमा जन सहभागिता परिचालन गर्ने, वैज्ञानिक वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने डिभिजन वन कार्यालय रौतहटको मुख्य उदेश्य रहेको कर्णले जानकारी गराए ।

डिभिजन वन कार्यालय रौतहटको पछिल्लो तथ्यांक अनुसार जिल्लाको कुल क्षेत्रफल १ लाख १२ हजार ६०० हेक्टर मध्ये वनको क्षेत्रफल २९ हजार ४०२ दशमलव ९८ हेक्टर रहेको छ ।
जिल्लाको कुल वनक्षेत्रको हस्तान्तरित सामुदायिक वन क्षेत्रमा ४३ वटा समूह, १ वटा प्रस्तावित समुह, साझेदारी वन क्षेत्र ३ वटा र धार्मिक वन ३ वटा रहेका छन् । साथै यस वनक्षेत्र अन्तर्गत धनसर ब्लक फरेष्टको रुपमा रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया