रुकुम पश्चिम । किबिफल समशितोष्ण फलफूल बर्गमा पर्ने पतझर बिरुवा हो । यसको बाहिरि भाग झुस भए पनि खादा निकै स्वादिस्ट हुनाका साथै स्वास्थ्यको लागि लाभदायक हुन्छ । पछिल्लो समय फलफूल खेतीमध्ये आम्दानीको हिसावले आकर्षक र युवाहरुको रोजाइको खेती बनेका छ किबि । पश्चिम नेपालको पहाडी जिल्लामा किबि फलबाट उत्पादन भएको वाईन बजारमा आउने भएको छ । रुकुम, जाजरकोट, डोल्पा, सल्यान, दाङ , सुर्खेत नेपालगञ्ज लगायतका जिलाहरुमा मुख्य बजार लिने गरी उत्पादन गरिएको हो । जिल्लामा उत्पादन भएका किबि फलबाट बनेको किबि वाइन बजारमा आउने भएको हो ।
दुई वर्ष अघि नै ‘डिमुर’कोब्राण्ड वाईन बजारमा आएको थियो । तर विधिव कारणले निरन्तर आउन सकेको थिएन । अब भने वाईन निर्माता कम्पनी कर्णाली वेभरेज ईन्ड्रस्ट्रिज प्रालि उद्योगले आफुले उत्पादन गरेको ‘किबि वाईन’ असोज महिना भित्रै बजारमा लैजाने तयारी गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाईन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
अबको केहि दिनमै नेपालको प्रमुख सहरहरुसँगै नेपाली बजारमा वाईन पु¥याउन लागिएको कम्पनीका अध्यक्ष दल बहादुर शाहले बताए । पश्चिम नेपालका पहाडी जिल्लामा उत्पादन भएको किबि फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको वाईनको बजारीकरणको तयारी गरिएको शाहले जानकारी दिए । शाहका अनुसार उच्च प्रविधिबाट वाईन उत्पादनको काम सबै सकिएको र बजारमा लैजानमात्र बाँकी रहेको छ । एक लाख लिटर वाईन बजारमा लैजान तयारी भैरहेको उनले बताए । उनले भने, ‘वाईन निर्माणमा शतप्रतिशत शुद्ध अर्गानिक वस्तुहरूको प्रयोग गरिएको छ । यसमा कृत्रिम रंगहरू प्रयोग गरिएको छैन । स्वदेशी उत्पादनलाई विदेशसम्म नियात गर्ने लक्ष्यका साथ हामिले डिमुरको र किबिको ब्राण्ड उत्पादन गरेका छौँ ।’
पहिले जंगलमा पाइने मेल, डिमुरबाट उत्पादन गरेको वाईन डिमुरको नामक बजारमा आइसकेको र उच्च प्रविधिको मेसिन नहुँदा केहि समस्या देखिए पछी वाईन स्टकमा राखिएको उद्योगका सचिव दत्त बहादुर पुनले जानकारी दिए । ‘मेसिनमा देखिएको समस्याका कारण हामीले उत्पादन गरेको वाईन बजारमा लैजान सकेको थिएनौ, अब हामी केहि दिनमै वाईन बजारमा लौजादै छौ । ईटालीबाट उच्च प्रविधिको मेसिन ल्याएर वाईन उत्पादन गरेर बजारीकरण गर्ने छौं,’ पुनले भने ।
उत्पादन कम्पनीका अनुसार आठ करोड रुपैयाँ बराबरको वाईन उत्पादन भैसकेको छ । डिमुर, मेल, नास्पती, बेलौती, चिउरी र किविको छुट्टा छुट्टै ब्राण्ड गरेर एक लाख लिटर तयार भएको जनाइएको छ । कर्णाली वेभरेजले जंगलमा खेर गैरहेको जंगली फलफुल डिमुर, मेल र चिउरीको सदुपयोग गर्दै स्थानीय मार्फत खरिद गरेर वाईन बनाउँदै आएको छ ।
स्थानीयलाई रोजगार लक्षित गरि सञ्चालनमा ल्याइएको उद्योगले उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ । किविको वाईन प्रति वोत्तल नौ सय रुपैयाँ जति पर्ने जनाइएको छ । स्थानीय स्तरमै फलेको फलफूलबाट बनाइएको अर्गानिक किवि वाईनको पश्चिम नेपालसँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा पुर्वका क्षेत्रसम्म बजारीकरण तीब्र बनाइने कम्पनीले जनाएको छ । किसानले लगाएको फलफुललाई कृषककै घरमा पुगेर आठबिसकोट नगरपालिकाले ढुवानी निशुल्क गरेपछी उद्योगमा दुर्गम गाउँका किसानले उत्पादन गरेको कृषि उपज आइपुगेको छ ।
यस अघि उद्योगले जंगलमा पाइने फल मेल र डिमुरबाट ३२ लाख रुपैयाँ आम्दानी गरिसकेको जनाएको छ । किसानबाट खरिद गरेर ल्याएको फलफुलको १ करोड रकम मध्ये ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको र बाँक ५० लाख किसानसँगको सहमतिमा असोज भित्रमा गरिसक्ने उद्योगका सचिव पुनले बताए । वाईन उत्पादनका लागि चिउरी २४ लाख, डिमुर २६ लाख, किवि ६० लाख र नास्पती, आरु १७ लाख गरेर करिब १ करोड २७ लाख रुपैयाँमा खरिद गरेको हो । डोल्पा लगायत रुकुमका बिभिन्न ठाउँहरुबाट स्याउ, सुन्तला खरिद गरेर जुस उत्पादन गर्ने तयारी भैरहेको उद्योगले जनाएको छ ।
सय भन्दा बढी स्थानीयलाई रोजगार
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा वाईन उद्योग स्थापना भएसँगै स्थानीय तथा यहाँका कृषक लाभान्वित भएका छन् । पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेपछी कृषकले आफ्नो उपच नबिक्ने चिन्ताबाट मुक्त भएका छन् । २० करोड लगानीमा सञ्चालनमा आएको उद्योगमा सय भन्दा बढी कामदारले रोजगार पाएको कम्पनीले जनाएको छ । ४३ जना शेयर सदस्य रहेको उद्योगमा सिजनको समयमा एकदेखि पाँच सयसम्म कामदारले काम पाउँछन भने नियमित कर्मचारी १५ जना रहेका छन् ।
फलफुल धुने, बोत्तल धुने, प्याकिङ तथा टेक्निकल सपोर्टका लागि एक सय बिस जना कामदारले रोजगार पाएका छन् । प्रति व्यक्ति १ लाख बढीका दरले १ सय २० जनालाई ६२ लाख रुपैयाँ भुक्तानी दिएको उद्योगले जनाएको छ । पानी उद्योगसँगै सञ्चालनमा आएको उक्त उद्योकमा सुरक्षागार्ड सहित १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन । बिस्तारै बिभिन्न जुसहरु पनि उत्पादन गर्ने तयारीमा रहेको उद्योगले जनाएको छ ।
पाँच महिना पहिले सञ्चालनमा आएको उद्योगले वाईन, पानी र जुस उत्पादन गर्ने बताइएको छ । अहिले रुकुमको नामक पानी बजारमा आइसकेको छ । प्रति घण्टा १२ सय बोत्तल उत्पादन गर्न सकिने क्षमता भएको मेसिन मार्फत उद्योगले पानी उत्पादन गरिरहेको हो । किबिबाट बनेको उच्च गुणस्तर, स्वाद सहितको वाईन बजारमा लैजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ । ८५० एमएलको आकर्षक बोतलमा रहेको वाइनमा १३ प्रतिशत अल्कोहल छ । किविको अर्गानिक वाईनले उपभोक्तामा राम्रो प्रभाव पार्ने कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया