संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार राति असामयिक निधन भएको छ । आइतबारसम्म राजनीतिक गतिविधिमै सक्रिय रहेका ६९ वर्षीय नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको हो । आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । संविधानसभाका दुई वटै कार्यकालमा अध्यक्ष रहेका नेम्वाङ जनआन्दोलन २०६२–२०६३ द्धारा पुनस्र्थापित प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधी निर्वाचन पछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारमा नेम्वाङ कानुन तथा न्यायमन्त्री बनेका थिए । नेकपा एमालेका पहिलो पुस्ताका बौद्धिक नेता नेम्वाङ हाल पार्टी उपाध्यक्ष तथा संसदीयदलको उपनेताको जिम्मेवारीमा थिए । नेम्वाङ वरिष्ठ राजनीतिकर्मी मात्रै नभएर मुर्धन्य कानुनविद्का रुपमा पनि चिनिन्थे ।
अन्तरिम संविधानको घोषणा उनी सभामुख रहेको बेला भएको थियो भने नेपालको संविधान ( २०७२) को घोषणा उनी अध्यक्ष रहेको बेला भएको थियो । नेपालको इतिहासमा धेरै नै महत्वपूर्ण मानिने यी ऐतिहासिक कामको नेतृत्व गर्ने अवशर नेम्वाङले पाउनको मुख्य कारण उनको व्याक्तित्व हो । उनी विषय बस्तुमा दक्ष, विद्धान तथा संघर्षशील राजनीतिक व्याक्ति मात्रै नभएर मीठो बोल्ने , सन्तुलन तथा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेता थिए । सशस्त्र संघर्ष छोडेर संसदीय प्रक्रियामा आएको माओवादीलाई पनि सन्तुलन गरेर अघि बढ्न नेम्वाङको भूमिका महत्वपूर्ण थियो ।
मानिस मर्नका लागि जन्मेको हो । विश्वमा दैनिक लाखौं मान्छे जन्मन्छन् , लाखौं मान्छे मर्छन । मृत्यु टारेर टर्दैन । तर कसैको मृत्यु देशकै लागि अपुणीय क्षति हुन्छ । सुवास नेम्वाङ त्यही कोटीका नेता थिए । उनको मृत्युले मुलुकलाई पुगेको क्षति सानो छैन । हुन त कसैको मृत्यु पछि श्रद्धान्जिली तथा समवेदनमा व्याक्त गर्दा सद्गुणहरुको मात्रै उल्लेख गर्ने र दुर्गुणहरु थाति राख्ने हाम्रो सनातन परम्परा छ । तर नेता नेम्वाङको हकमा भन्नु पर्दा उनी सर्वगुण सम्पन्न नभए पनि समकालिन राजनीतिकर्मीको तुलनामा निकै नै गुणवान थिए । अवगुणहरु खासै थिएनन् ।
२०४८ साल देखि लगातार सांसद रहे । पटक पटक मन्त्री भए । २०६३ देखि २०७२ साल सम्म लगातार ९ वर्ष संसदको नेतृत्व गरे । तर विवादमा आउने काम गरेनन् । सादगीपूर्ण जिन्दगी विताए । करिव ३ वर्ष प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापति बनेर उनले केही मार्गदर्शन समेत दिए । चाह्यो भने संसदीय समितिले भ्रष्टाचार नियन्त्रणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ भन्ने उदाहरण उनले पेश गरे ।
नेम्वाङको अभाव मुलुकलाई लामो समय खड्किरहने , नेम्वाङ जत्तिको नेता नेपालमा जन्मन बर्षौ लाग्न समेत सक्ने टिका टिप्पणीहरु विश्लेषकले गरेका छन् । यो टीका टिप्पणी गर्नुको पछाडि पनि खास कारण छ । किनकी मुलुकको इतिहास देखि अहिलेसम्म शासन सत्ताका महत्वपूर्ण पदहरुमा एउटा निश्चित समुदायको वर्चश्व रहिआएको कुरा कटु सत्य हो । तर नेम्वाङ फरक समुदायका हुन् । जनजाति समुदायको नेताले देशको विधि निर्माण तथा कार्यान्वयनको क्षेत्रमा यति धेरै जिम्मेवारी निर्वाह गर्ने अवशर अहिलेसम्म अरु कसैले पाएको थिएन ।
त्यो अवशर नेता नेम्वाङले कसैको आर्शिवाद वाट नभएर आफ्नै खुवी , तथा संघर्षबाट प्राप्त गरेका थिए । यो तहको विज्ञता आफ्नै मिहेनतले प्रप्त गरेका थिए । मुलुकको कानुन तथा न्यायमन्त्री भइसकेका नेता नेम्वाङ एलएलएम अध्यायनका लागि कापीकलम बोकेर कलेज गएको पनि धेरैले देखेका थिए । गत आम निर्वाचन पछि नेम्वाङलाई धेरैले नयाँ राष्ट्रपतिका रुपमा हेरेका थिए । उनी त्यो संभावनाको नजिक समेत पुगेका थिए । पहिलो कुरा त मधेसी र खस आर्य समुदाय तथा महिला राष्ट्रपति पदमा पुगिसकेकोले अब पालो जनजाति समुदायको विज्ञले पाउने अनुमान गरिनु अन्यथा होइन ।
यही अनुसारको तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै बताएका थिए । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विष्णु रिमाल लगायतका केही व्याक्तिको नाम अघि सारे पछि राष्ट्रपति पदमा पुग्ने संभावनाको माहौल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तर्फ सोझिएको हो । यति हुँदा हुँदै पनि उमेर अझै धेरै बाँकी रहेका कारण नेम्वाङलाई भावि राष्ट्रपतिका रुपमा हेर्न छाडिएको थिएन । तर निधन सँगै यो संभावना समाप्त भयो । नेम्वाङ प्रति हार्दिक श्रद्धान्जली ।
प्रतिक्रिया