अस्तायो संविधान निर्माणको एउटा धरोहर

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। ७१ बर्षीय नेम्बाङको
मंगलबार बिहान निधन भएको होे। उनको हृदयघातका कारण निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

सोमबार राति १ बजे हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको परिवारले जनाएको छ । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

उनी सहमतिमा दुई पल्ट संविधानसभाका अध्यक्ष र दुई पल्ट सभामुख बनेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका थिए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, २०५६ मा सार्वजनिक लेखा समिति सभापति, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनेका थिए ।

नेम्वाङको निधनपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको थियो ।
हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक
उड्डयन मन्त्री सुदन किरातीले बताए । सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । यस अघि त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ पार्टी कार्यालय च्यासल पुर्याइएको थियो ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नै कार्यक्रम राखिएको छ । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिएका छन् ।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएकी छन् । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू च्यासल पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा गई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासलस्थित एमाले केन्द्रिय कार्यालय पुगेर पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जलि दिएकी छन् । यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुगेका थिए ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेलेकोे भूमिकाको उच्च सम्मान गर्दै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइन् ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।

समाजवादी मोचाद्वारा दुःख व्यक्त

यसैबीच समाजवादी मोर्चा नेपालले संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेम्वाङको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनका योद्धा गुमाएकामा दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा असल र सादगी नेता नेम्वाङको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गर्नुभएका नेम्वाङको निधनको खबरले आफू स्तब्ध भएको उनको भनाइ छ । उनले लोकतन्त्रको स्थापना तथा संविधान निर्माणमा निर्वाह गरेको योगदानको स्मरण गरेका छन् ।

गएराति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उनको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ ।

त्यस्तै एमालेले नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

नेम्बाङको निधनपछि नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्यिक कार्यक्रम स्थागि गरिएको छ भने समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्दश सभा स्थगित गरेको छ। उनको निधनपछि चीन भ्रमणमा रहेको एमालेको टोलीपनि भ्रमण छोट्याएर स्वदेश फर्किने भएको छ।

नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए ।

उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले) को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले ।

इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए ।

उनको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावक जस्तै थिए । संसद सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउँथे ।

विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्क राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल भएका थिए ।

पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आएका नेम्वाङ पछिल्लो पटक दलले गर्दै आएको संसद अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिएका थिए । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्ने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज थिए ।

सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज थिए । उनका पिता स्व रामबहादुर न्यायाधीश थिए भने छोरा सुहाङ नेम्वाङ पनि कानून व्यवसायी नै हुन् । कानूनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहेकाले पार्टी प्रशिक्षणमा पनि अब्बल थिए ।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृह जिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आएनन् । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उनले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उनका सहकर्मी नेताहरू बताउँछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उनको योगदान स्मरण गर्दै भन्छन्, ‘संविधानसभाबाट संविधान जारी गर्न उनको ठूलो योगदान छ, जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित हुनुहुन्थ्यो ।’

मुलुकका ऐन र कानूनप्रति धेरै जानकार भएका कारण उनले कानूनीरूपमा आउन सक्ने अड्चन र मार्गचित्रबारे सबै नेताहरूले सहजरूपमा स्वीकार गर्ने गरेको घटना नेता कर्णले सुनाए । नेता कर्ण भन्छन्, ‘गाली गरे पनि हाँस्ने व्यक्ति, सबै दलका नेतासँग मित्रभाव राख्ने नेम्वाङ उच्चकोटीको राजनीतिज्ञ हुनुहुन्थ्यो ।’

प्रतिक्रिया