हुम्लाकी महिला कुवेतमा बन्धक !

दोहा । रोजगारीमा लागि कुवेत पुगेका एक महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । हुम्लाको अदानचुलि गाउँपालिका बारीगउँकी धनकौरा रावललाई कुवेती नागरिकको घरमा बन्धक बनाइएको तथ्य बाहिरिएको हो ।
दलाललाई मोटो रकम बुझाएर भारतीय बाटो हुदैँ घरेलु कामदारको रुपमा कुवेत पु¥याएर कुवेती नागरिकको घरमा काम लगाई दिएको र यहाँ मालिकले एक कोठामा थुनेर राखेको जानकारी प्राप्त भएको छ ।

पीडित रावलले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सन्देश जारी गर्दै कुवेतीको घरमा बिहान ४ बजेदेखि मध्य राती १२ बजेसम्म काम लगाउने गरेको बताएकी छिन् । ‘यहाँ मैले खाना नखाएको तीन/चार दिन भयो, भोकभोकै छु, यहाँ म मर्न लागे मलाई चाँडो उद्धार गरेर नेपाल फर्काउनुहोस्,’ उनले भिडियोमो भनेकी छन् ।

विभिन्न किसिमको मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनले आफू नेपाल फर्किन चाहेको र सबै मिलेर आफूलाई सहयोग गर्न भनेकी छिन् । पछिल्लो समय आफूलाई बाहिर पनि निस्कन नदिएको र भित्रै कोठामा थुनेर राखेको भन्दै तत्काल उद्धार नगरे जे पनि हुने भन्दै उद्धारको अपिल गरेकी छिन् ।

उनी केहि समय अघिमात्र रोजगारीको लागि कुवेत पुगेको र त्यहाँ एजेन्टले भने अनुसारको काम नपाएपछि समस्यामा परेको बताइएको छ । एजेन्टले भने जस्तो नहुदा दुःख पाएको र बन्धक बनाइएको गुनासो आएको भन्दै उनीलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन पहल गर्न राष्ट्रिय स्वतन्त्र पाटी हुम्लाले अनुरोध गरेको छ ।

केहि दिन अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला संयोजक गणेश पाण्डेलाई सम्पर्क गरी आफूलाई लोकेसन थाहा नभएको कोठामा थुनेर राखेको भन्दै रुदै सुनाएकी थिइन । संयोजक पाण्डेका अनुसार पीडित महिलालाई कहिलेकहिँ मात्र फोनमा कुराकानी गर्न दिने गरेको र मान्छे नभएको बेला मात्र उनले फोन उठाउने गरेको बताए ।

उनी अन्त्यतै ठूलो समस्यामा रहेकाले तत्काल उद्धारको खाँचो रहेको भन्दै उनले नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई उद्धारमा सहयोग गर्न अनुरोध गरेका छन् । केहि दिनदेखि कुवेतमै समस्यामा परेकी सन्ध्या बिश्वकर्माको पनि उद्धार हुनसकेको छैन ।

यता, उनी समस्यामा परेको जानकारी पाएपछि बिनोद कुवँर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले पनि पीडित महिलालाई सम्पर्क गर्दा फोन नउठाएको बताए । सम्पर्क हुने बित्तिकै समस्या बुझेर आवश्यक सहयोग गर्ने अध्यक्ष सुवेदीले बताए ।

यस्ता थुप्रै घटना ओझेलमा छन् । यसतर्फ नेपाल सरकार, नेपाली दूतावास लगायत सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए । दलालले पछिल्लो समय भारतको बाटो हुदैँ जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रुपमा जानेहरु साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरु रहेका छन् । उनीहरुले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको छ ।

प्रतिक्रिया