काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया