सबै कम्युनिस्टलाई एक हुन अपिल

हेटौंडामा समाजवादी मोर्चाको सभा

हेटौंडा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अब सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने बताएका छन् ।

आइतबार हेटौंडामा समाजवादी मोर्चाले गरेको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै कम्युनिष्ट एक भएर समाजवाद निर्माण गर्नुपर्ने बताएका हुन् ।
गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए ।

‘हामी सबै कम्युनिष्टले पटकपटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौं । अब एक–अर्कालाई तिरस्कार, वहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो ।
फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरू गर्नुपर्ने उनले बताए । सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरू गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।

आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनता निराश हुनुनपर्ने बताए् ।

सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले सरकारको नेतृत्व जनताका एउटा सफल योद्धाले गरेको भन्दै अब देशले एउटा नयाँ युगमा प्रवेश गर्ने दाबी गरे।

प्रचण्ड नेतृत्वको सरकारले अहिले निकै राम्रो काम गरेको उल्लेख गर्दै नेपालले राम्रो कामलाई राम्रो भनेर प्रचण्ड सरकारलाई धन्यवाद दिनुपर्ने बताए । उनले भने,’एउटा मान्छेले राम्रो काम गर्दागर्दै पनि राम्रो भन्न सकिएन भने त्यो मान्छेको मनोवल गिर्न सक्ने सम्भावना हुन्छ तसर्थ राम्रो कामलाई राम्रो भन्नुपर्छ ।’

नेपालको सबै दल मिलेर राजतन्त्र फालेको स्मरण गर्दै नेपालले सबै मिलेको अवस्थामा देश विकास गर्नु आवश्यक रहेको बताए । हामीले व्यवस्था परिवर्तन गरेको तर अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै अब अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई रहेको छ ।

समाजवादी मोर्चा निर्वाचनको लागि मात्र निर्माण नभएको बताउँदै नेपालले यो मोर्चाले हरेक क्षेत्रको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको बताए । उनले सबै प्रदेश स्तरकम समाजवादी मोर्चाले स्पष्ठ भएर काम गर्ने बताए । समाजवादको मिसन बाहेक आफूहरुको कुनै उदेश्य नभएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली जनताको नेतृत्व गर्न स्थापना भएको बताए ।

सन्देशसभामा बोल्दै विप्लवले जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको बताए ।

अहिले नेपाली जनतामा उकुसमुकुस पैदा भएको र नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धि फेरि गुम्ने त हैन भन्ने प्रश्न खडा भएको समयमा निर्माण भएको समाजवादी मोर्चाको उद्देश्य महत्वपूर्ण भएको उनको भनाइ छ ।

समाजवादी मोर्चा कुनै दलालहरुको षड्यन्त्र, सामन्तवादको खेलबाट भंग नहुने बताउँदै विप्लवले समाजवादी मोर्चा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

अहिले सरकारले राम्रो काम गर्न खोज्दा साम्रज्यवादीहरुले घेरा हाल्ने काम भैरहेको भन्दै उनले षड्यन्त्रलाई क्रान्तिद्वारा परास्त गरिने बताए ।

प्रतिक्रिया