सत्तारुढ नेपाली कांग्रेसले यतिबेला भदौं २४ लाई लक्षित गर्दै विविध कार्यक्रम राखेर सप्ताहव्यापी वीपी जयन्ती मनाई रहेको छ । जुझारु यवा महामन्त्री विश्वप्रकाश शर्माको विशेष सक्रीयतामा १ सय १० औं वीपी जयन्ती बहुआयमिक रुपमा मनाउने भन्दै कांग्रेसले विभिन्न समिति तथा उपसमिति गठन गरेको थियो । तर पार्टी पंक्तिले खासै चासो दिएको देखिएन । कांग्रेसकै विभिन्न भ्रातृ तथा अन्य संगठनहरुद्धारा तीजका अवशरमा आयोजित कार्याक्रममा केही रौनकता देखिएको छ , तर वीपी जयन्तीका कार्यक्रमबारे धेरैले थाह समेत पाएका छैनन् । धेरैले चासो नै दिएका छैनन् । वीपी कोइराला भनेका यो मुलुकका मुर्धन्य राजनेता हुन् । नेपालले अंगालेको अहिलेको शासन व्यवस्था वीपीकै मार्ग दर्शन अनुसारको हो । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख शब्द वीपीकै मार्गदर्शन हो । वीपी कोइराला राजनीतिक , आर्थिक तथा कुटनीतिक क्षेत्रका मात्रै मुर्धन्य योगदाता होइनन्, नेपाली साहित्यको क्षेत्रमा समेत वीपीको ठूलो योगदान छ । तर आँफूलाई वीपीको मुख्य अनुयायी हौं भन्नेहरुकै कारण नयाँ पुस्तामा वीपी कोइरालाको योगदान हस्तान्तरण हुन सकेको छैन ।
चेलाहरुले राम्रो काम गरे मात्रै गुरुको सुनाम फैलँदै जाने हो , चेलाहरुले अपराध गर्न थाले भने जति सुकै मुर्धन्य गुरुहरु पनि दुर्नाम हुँदै जान्छन् । नेपाली कांग्रेसको व्यानरमा अहिले जे जस्ता गतिविधि भइरहेका छन् , जे जस्ता चरित्रका व्याक्तिहरु नेपाली कांग्रेसमा हावी भएका छन् , यसले अझै केही वर्ष निरन्तरता पायो भने वीपी कोइरालाको दुर्नाम सुरु हुने छ । यस्ता गतिविधि नसच्याउने हो भने नाम नलिँदा र फोटो नटाग्दा नै वीपी प्रति न्याय हुन्छ ।
२०१६ जेठ देखि २०१७ पुससम्म वीपी कोइरालाले १८ महिना सरकारको नेतृत्व गरे । नेपालको बास्तविक स्वर्ण युग भनेको यही १८ महिना कालखण्ड हो भन्ने कुरा त्यसबेलाको सरकारले चालेका कदमले नै पुष्टि गर्छन् । धेरै ऐतिहासिक काम भएका थिए नेपालमा त्यतिबेला । नेपाल असफल राष्ट्र हुनबाट जोगिएको त्यसैको बलमा हो । २०४६ सालको परिवर्तन यता ४ वर्षे शाही शासनकाल बाहेक नेपाल बहुदलीय संसदीय व्यवस्था अन्तरगत अगाडि बढिरहेको छ । तर २०१६ जेठ देखि २०१७ पुससम्म त्यो १८ महिने संसदीय कार्यकाल र २०४७ साल यताको ३० वर्षे संसदीय कार्यकालको तुलनै गर्न सकिन्न । पछिल्लो ३० वर्षको अवधीमा सबै भन्दा धेरै अवधी सरकारको नेतृत्व गर्ने अवशर पाएको नेपाली कांग्रेसले अहिले पनि चुनावमा भोट माग्न जाँदा वीपी कोइराला नेतृत्वको सरकारले गरेका कामलाई नै भजाउने गरेको छ ।
महाकाली सन्धी , एमसीसी संझौता बाहेक २०४८ यता आँफूले गरेका अन्य उपलव्धी नेपाली कांग्रेसले उल्लेख गर्न सकेको छैन । तर महाकाली सन्धी , एमसीसी आँफै विवादास्पद छन् । संसदीय व्यवस्थामा आस्था राख्ने पार्टीहरुले सत्ता प्राप्तिलाई साध्य मान्दैनन्, सामाजिक जागरणलाई साध्य मान्छन् । तर नेपाली कांग्रेस यस्ता व्याक्तिहरुको चुंगुलमा फँसेको छ , जसलाई कुनै पनि हालतमा सत्ता चाहिन्छ । यी व्याक्तिहरुले कार्यकर्ताहरुको दिमाग पनि यसरी नै भुटेका छन् ।
सत्तालाई साध्य ठान्ने कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकारमा जाने मात्रै होइन चुनावी गठवन्धन समेत गर्ने गरी नेपाली कांग्रेस रसातलमा पुगेको छ । जनता चरम निराशामा छन् । नहोउन पनि कसरी ? जनसंख्याका हिसावले विश्वको ४१ औं ठूलो देश हो नेपाल , तर अर्थतन्त्रको आकारका हिसावले विश्वको १ सय १ औं स्थानमा छ । प्रतिव्याक्ति आम्दानीको हिसावले नेपाल १ सय ५१ औं नम्वरमा छ । जबकी २०४६ सालमा बहुदलीय संसदीय व्यवस्था स्थापना हुनु अघि नेपालको स्थान अर्थतन्त्रको आकारका हिसावले ८७ औं र प्रतिव्याक्ति आयका हिसावले १ सय ११ औं नम्बरमा थियो । नेपालको हैसियत कति सम्म गिर्दै गएको छ ? भन्ने कुरा तथ्यांकले नै बोल्छ ।
प्रतिक्रिया