अक्षरमार्गद्वारा मिराजमाथि अन्तरक्रिया

काभ्रे । अक्षरमार्गले मिराजमाथि हालै अन्तरक्रिया गरेको छ । मिराज कथाकार ध्रुवकृष्ण ताम्राकारको नयाँ कथासंग्रह हो । काभ्रे जिल्लाको पाँचखालमा भएको सो कार्यक्रममा मिराज कथासंग्रहका बारेमा कथाकार सूर्यप्रसाद लाकोजूले आफ्नो धारण राखेका थिए ।

उनले विचार राख्दै भने, ‘मिराजभित्र रहेका सबै कथाहरू समाजका प्रतिबिम्ब हुन्, नेपाली समाजमा हुने गरेका घटनाहरूलाई कलात्मक ढंगले कथाहरू उनिएका कारण पठनीय रहेका छन्, कथा सरल र सरस छन् ।’

अर्का साहित्यकार रामसुन्दर देउजाले मिराजभित्रका कथाहरू र त्यसका घटनाहरू हेर्दा सामान्य लाग्ने तर जटिल खालका समस्याहरूको चित्रण गरेर समाजलाई सचेत गराउने काम कथाकारले गरेको टिप्पणी गरे । पुस्तकको लेखन, पृष्ठभूमि आदिका बारेमा कथाकार ध्रुवकृष्ण ताम्राकारले प्रकाश पारेका थिए ।

मिराज कथासंग्रहमाथि नेवन पत्रकार राष्ट्रिय दबू काभ्रेका अध्यक्ष सोमकाजी शाक्य, कवि पुरुषोत्तम ताम्राकार लगायतले पाठकीय टिप्पणी गरेका थिए ।

लामो समयदेखि साहित्य सिर्जनामा रमाइरहेका साहित्यकार ताम्राकारका दुईवटा कवितासंग्रह प्रारम्भ र हृदयका उद्धार, दुईवटा कथासंग्रह आँशुको कथा र मिराज, भावनाका उत्सर्गहरू गीतिसंग्रह र एउटा स्पन्दन नामक मुक्तक संग्रह प्रकाशनमा आएको छ । साथै उनका मनको बह र भीडमा म एक्लै गरी दुईवटा गीतिएल्बम पनि प्रकाशनमा आएको छ ।

प्रतिक्रिया