कालिकोट । जिल्लाको सदरमुकाम मान्म बजारबाट आमा छोरा बेपत्ता भएका छन् । खाँडाचक्र नगरपालिका– १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी हुन् । कान्छी श्रीमती भएका कारण पतिले निरन्तर हिंसा गरेपछि जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी सान्नीत्रिवेणी– १ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र शाही जिल्ला सदरमुकाम स्थित नावगैरामा रहेको डेराबाट बेपत्ता भएका छन् ।
उनी दैलेख भगवतीमाई गाँउपालिका– ५ कट्टी घर भएर मान्म बजारमा शाही इलेक्टेनिक्स नामको इलेक्टेनिक पसल गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । लामो समयदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । कार्यालय सचिव समेत हुन् ।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको छ । गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको आरोप छ । खाना खाएर सुत्न कोठा गएका हुन् । होटल संचालक नमराज सुवेदीले भने, पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौँ । अरु नै भएको रहेछ । राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने आशंका छ ।
आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ । आफन्तले महिला र बाल हिंसाविरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले बेपत्ता भएका आमा छोराको खोजी गरिदिन प्रहरीसँग माग पनि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी अजूृन केसीले पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको डिएसपी केसीले बताए ।
मान्म बजारमा शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काेठामै आमा छोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसीले बताईन् ।
पीडित महिला गिताले पतिको निरन्तर हिंसा सहन नसकेर अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएकाे समेत आराेप लागेकाे छ । दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् । दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वनिक भएको थियो ।
कालिकाेट
प्रतिक्रिया