अस्पताल भनेको बिरामीले उपचार पाउने ठाउँ हो । आम मान्छेको जस्तै कृष्णबहादुर गोपालीको पनि यही बुझाई थियो । त्यसैले आफ्नी पाँच वर्षकी नातिनी बिरामी भए पछि उनले काठमाडौंको कान्तिबाल अस्पताल पुर्याए । तर दुई घण्टा बित्दा पनि बिरामी नातिनी डाक्टरलाई देखाउन पाएनन् । आफ्नै काखमा नातिनीको मृत्यु भयो । अब उनका लागि अस्पताल भनेको बिरामीले उपचार पाउने ठाउँ हो की, मुर्दा घर ? यो प्रश्न कम पेचिलो छैन । समाचार अनुसार काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ पाँच बजे कान्ति बाल अस्पतालकोको इमर्जेन्सी कक्षमा पु¥याए । इमर्जेन्सीमा वार्डमा पुगेर हार गुहार गरे । तर पालो आएको छैन भन्दै पर्खाइयो । दुई घन्टा पछि बालिकाको निधन भयो । अस्पताल पु¥याएर इमर्जेन्सी वार्डमा दुई घण्टा पर्खँदा पनि डाक्टरले बिरामी नजाच्नुको कारण बारे अस्पतालमा निर्देशक डा. पंकज रायको आफ्नै तर्क छ । उनको भनाई छ –‘ बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, बिरामीको भिड धेरै हुने भएकाले पनि आइपुग्ने बित्तिकै सेवा लिन कठिन छ ।’ यो दुर्घटनाका सन्दर्भमा अस्पतालका निर्देशकले दिएको प्रतिक्रियाले पनि हाम्रो देशको सरकारी अस्पतालको सेवा प्रवाह कति दुरुह छ ? कति लापरवाहीपूर्ण छ ? भन्ने कुरा प्रष्ट हुन्छ । यो दुर्घटना त पछिल्लो ताजा उदाहरण मात्रै हो । यस्ता उदाहरणहरु त कति छन् कति ।
केही दशक अघिसम्म नेपालमा अस्पताल अत्यान्त थोरै थिए । भएका केही अस्पतालसम्म बिरामीलाई लैजाने यातायातको सुविधा थिएन । अस्पताल गएर उपचार गर्नसक्ने आर्थिक हैसियत भएका नेपालीहरु सिमित थिए । उपचार नपाई घरमै धेरै बिरामीको ज्यान जान्थ्यो । अहिले अस्पतालहरुको संख्या निकै ठूलो छ । केही अपवाद बाहेक अस्पतालसम्म बिरामी लैजाने यातायातको सुविधा पनि छ । अस्पताल गएर उपचार गराउन सक्ने आर्थिक हैसियत भएका नेपालीहरुको संख्या ८० प्रतिशत नाघेको छ । त्यसमा पनि केही आधारभूत औषधीहरु सरकारले सित्तैमा दिन्छ । अस्पतालमै सर्वसुलभ मुल्यमा औषधी विक्रि गर्नेगरी फार्मेसी संचालन गरिएको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । तर उपचार नपाएर र उचित उपचार नपाएर बिरामीको मृत्यु भएका समाचार धेरै आउने गरेका छन् ।
अस्पतालमा पुर्याइएको बिरामी डाक्टरको मुख नै नदेखी मर्नु वा , उचित उपचार नपाई मर्नु भनेको सरकारको कमजोरी हो । विशेषगरी सरकारी अस्पतालमा यस्ता दुर्घटना किन हुने गरेका छन् ? भन्ने कुरा करिव करिव जगजाहेर छ । पहिलो कुरा त राजधानी काठमाडौंका सरकारी अस्पतालहरुमा सेवा प्रवाह गर्ने जनशक्तिको तुलनामा बिरामीको चाप ठूलो छ । दोस्रो कुरा ब्यापारीहरुले मुनाफालाई केन्द्रविन्दुमा राखेर खोलेका अस्पतालहरु सँग सरकारी अस्पतालका केही अपवाद बाहेक पियन, पाले, सुरक्षा गार्ड, डाक्टर, नर्सदेखि व्यवस्थापनमा रहनेहरुको साँठ गाँठ छ ।
यता लापरवाही गरिदिए बापत उतावाट कमिसन आउँछ । सरकारी अस्पतालको सेवा प्रवाह ध्वस्त हुनुको मुख्यकारण यही हो । सरकारी अस्पतालमा डाक्टरसम्म पुग्नै महाभारत हुन्छ । बिरामीले आफ्ना समस्या भन्न भ्याउँदा नभ्याउँदै फालानो फलानो परीक्षण गर्नु भनेर ल्यावमा पठाइ दिन्छ । ल्यावमा पुग्न उस्तै महाभारत हुन्छ । बल्ल बल्ल बिरामीलाई लिएर आफन्तहरु ल्यावमा पुग्छन् । तर ल्याब विग्रिएको बताइन्छ । ल्याबमा बस्नेले सिधै दलालको फोन नम्बर लेखेर ठगिन पठाइदिन्छ । दलालको ल्यावबाट रिपोर्ट ल्याएर डाक्टरलाई देखाए पछि औषधीको लामो फेहरिस्त लेखिदिन्छ ।
आधा भन्दा बढी अनावश्यक औषधी लेखिएको हुन्छ । बिरामीका आफन्त औषधी किन्न जब अस्पतालको सरकारी फार्मेसीमा लाइन लाग्छन् पुग्छन् , तब जवाफ आउँछ , अहिले सर्भर डाउन छ , एक घण्टा पछि खुल्न सक्छ । ‘प्राइम टाइम’मै किन डाउन हुन्छ सरकारी फार्मेसीको सर्भर ? यसको उत्तर स्वास्थ्य मन्त्रीलाई समेत थाह छ । नेपालमा डाक्टरहरु प्रयाप्त नभएको कुरा सत्य हो । तर विएन तथा विएससी नर्सहरु रोजगारी नपाएर विदेश पलायन भएका छन् । जो स्वदेशमा छन् , उनीहरु मासिक १२ हजार रुपैंया तलवमा ब्यापारीहरुका निजी अस्पतालमा काम गर्न वाध्य छन् । विएन तथा विएससी नर्सहरुले लगभग एमविविएस डाक्टरले जत्तिकै सेवा प्रवाह गर्न सक्छन् ।
बिरामीको भिड भएका बेला इर्मजेन्सी वार्डमा उनीहरुलाई परिचालन गर्न सकिन्छ । सेवा प्रवाह कस्तो भइरहेको छ ? भन्ने अनुगमनका लागि हरेक अस्पतालमा एउटा एउटा युनिट राख्न सकिन्छ । तर नेपालका कुनै पनि स्वास्थ्यमन्त्रीको यतातिर ध्यान गएको देखिन्न ।
प्रतिक्रिया