बडा दशैंको पूर्वतयारी

बर्खा सकिएको छ । बाढी , पहिरो तथा ड्ुवानको त्रासबाट आगामी वर्षको मनसुन सम्म करिव करिव मुक्ति मिल्ने अपेक्षा स्वभाविक हो । यस वर्ष पनि बाढी , पहिरो तथा ड्ुवानबाट उल्लेख्य क्षति भयो , तर सौभाग्यले विगतका बर्षहरुको जस्तो भयांकर ठूलो क्षति भने भएन । बर्षा सुरु भए सँगै ग्रामिण क्षेत्रको सडक सन्जाल अवरुद्ध हुने र बर्षा सकिएको एक डेढ महिना पछि अर्थात दशैंको सन्मुखमा कच्ची सडकहरु मर्मत गरिने परम्पारा नेपालमा छ । दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै कच्ची सडक मर्मत गरिन्छ । के कति भरपर्दो ढंगले कच्ची सडकहरु मर्मत गरिन्छ ? यस्ता सडकमा कस्ता कण्डिसनका गाडीहरुले यात्रु ओसार्छन् ? दशैंको मुखमा सडक दुर्घटनामा परेर के कति नागरिकहरुले ज्यान गुमाउने गरेका छन् ? भन्ने प्रश्नको उत्तर निकै दुखदायी र कहाली लाग्दो छ । यती हुँदा हुँदै पनि ग्रामिण क्षेत्रका कच्ची सडकहरुको योगदानलाई कम आँक्न मिल्दैन । यीनै सडकका कारण पहाडका ग्रामिण क्षेत्रका जनताले दिनको दुईछाक पेटभरी खान पाउने अवस्था बनेको हो । पहिलो कुरा त यी सडकबाट खाद्यान्न ढुवानी सहज रुपमा हुने गरेको छ । दोस्रो कुरा गाउँका किसानले पालेका खशी–बोका यही सडक मार्फत जिल्ला सदरमुकाम तथा राजधानी काठमाडौंको बजार क्षेत्रसम्म पुग्ने गर्छन् । यसैगरी सडक यातायत पुगेकै कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ तथा अन्य फलफुल खेति फष्टाएको छ ।

यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्याउको सिजन हो । तर बर्खाले बगाएको कच्ची सडक मर्मत नहुँदा किसानहरुले स्याउ बेच्न पाएका छैनन् । विगतमा दशैं अली छिटै पथ्र्यो, ग्रामीण सडक पनि छिटै मर्मत गरिन्थ्यो । भदौको तेस्रो सातादेखि नै किसानहरुले राम्रो मुल्यमा स्याउ तथा खशीबोकाहरु विक्रिका लागि शहर पठाउन पाउँथे । तर यस पटक दशैं ढिलो परेको छ । त्यसैले ग्रामिण कच्ची सडक मर्मतमा सरकारले ध्यान दिएको देखिएको छैन । किसानले प्रतिकेजी ५० रुपैंयामा स्याउ विक्रि गर्दा पनि राजधानी काठमाडौंमा स्याउको मुल्य प्रतिकेजी २ सय ५० रुपैंया भन्दा तल झर्न नसक्नुको एउटा कारण ढुवानीको समस्या हो । यसैगरी पहाडका ग्रामिण क्षेत्रमा खसीको मासु प्रतिकेजी ७ सय रुपैंया छ , तर राजधानी काठमाडौंमा प्रतिकेजी १४ सय रुपैंयाबाट उकालो लागिरहेको छ ।

बडा दशैं नेपालको सबै भन्दा ठूलो सामाजिक , सांस्कृतिक र धार्मिक चाड त हुँदै हो । त्यस माथि पनि धेरै ठूलो परिमाणमा बस्तुको किनबेच हुने भएका कारण दशैंको आर्थिक महत्व पनि निकै ठूलो छ । वर्षका १२ महिनामा जति आर्थिक कारोवार हुन्छ , त्यसको करिव २५ प्रतिशत आर्थिक कारोवार दशैंका बेलाको एक महिनामै हुन्छ । किसान परिवारले दशैं खर्चको जोहोका लागि आँफुले पालेका खसी–बोका , हाँस कुखुरा , सुँगुर– बंगुर, राँगा भैंसी समयमै विक्रि गर्न पाए भने उनीहरुले समयमै बजारबाट दशैंका लागि समान किन्न पाउँछन् । व्यापारीहरुको समान विक्रि हुँदा करका रुपमा राज्यलाई आम्दानी हुन्छ । यो नियमति आर्थिक चक्र हो । यो चक्रलाई जति छिटो चलायमान बनाउन सक्यो राज्यलाई उति नै धेरै लाभ छ । यो चक्र चलायमान बनाउनका लागि सुरुवाती विन्दु भनेको बाढी पहिरोले भत्काएका ग्रामिण कच्ची सडकहरु मर्मत गर्नु हो । यस तर्फ सरकारले तत्काल ध्यान दिनुपर्छ ।

अहिले नै मर्मतको काम सम्पन्न गरे पनि, घटस्थापनाको अघिल्लो दिन मर्मत सम्पन्न गरेपनि लागत एउटै हो । अहिले नै मर्मत गरियो भने आगामी एक महिनासम्ममा त यी सडकहरुले मर्मतको लागत उठाईसक्छन् । त्यसैले ढिला नगरौं । यो जिम्मेवारी स्थानीय सरकार तथा प्रदेश सरकारले बहन गरिदिए भने अझै राम्रो हुन्छ । स्थानीय सरकारको जिम्मेवारी पनि हो यो । इच्छा शक्ति हुने हो भने दुर्गम क्षेत्रका केही पालिकाहरुलाई काठमाडौं उपत्याका भित्रका पालिकाहरुले सहयोग गरिदिए पनि हुन्छ । किनकी दशैं मनाउनका लागि २२ लाख मान्छे काठमाडौंबाटै गाउँमा जाने हुन् । काठमाडौं उपत्याकाका पालिकाहरु आम्दानी खर्च गर्ने ठाउँनै नपाउने गरी चलेकै उनीहरुको करले हो ।

प्रतिक्रिया