पर्सा । पर्सामा पछिल्लो ६५ दिनमा ४ हजार ५ सय भन्दा बढि नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकका सन्तानलाई पछिल्लो ६५ दिनमा ४ हजार ५ सय २० जनालाई वंशजको नागरिकता वितरण गरिएको जनाएको छ ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न थालेपछि असारको पहिलो साता भिड थामि नसक्नु थियो । तर अहिले भने सो भिड विस्तारै कम भएको छ ।
टोकन प्रणाली लागु भएपछि नागरिकता वितरणमा सहजता आएको हो । संघीय संसद्बाट लामो समयपछि नागरिकता कानुन पारित भए पनि कहिले राष्ट्रपति त कहिले सर्वोच्च अदालतको आदेशबाट नागरिकता वितरण रोकिँदै आएको थियो ।
त्यस बिचमा नागरिकता वितरणमा बिचौलियाको चलखेल बढेको थियो तर सर्वाेच्च अदालतले नै नागरिकता कानुनलाई वैधानिकता प्रदान गरेपछि नागरिकता पाउनेमा सेवाग्राही ढुक्क भएका थिए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारी भीमकान्त पौडेलका अनुसार जन्मसिद्ध नागरिकका सन्तानले फेरि पनि नागरिकता नपाउने हो कि भन्नेमा आशंका भएपछि प्रारम्भमा भिड अत्यधिक बढेको थियो ।
भिडका कारण जिल्लाको अन्य पालिकाबाट थप जनशक्ति माग गरी छुट्टा छुट्टै डेस्क स्थापना र टोकन प्रणालीबाट नागरिकता वितरण थालिएको थियो । तर हाल नागरिकता वितरण सहज र पारदर्शी भएको उनले बताए ।
असारमा प्रत्येक दिन सयको हाराहारीमा नागरिकता वितरण हुने गरेकामा हाल सरदर ५०/६० वटा नागरिकता वितरण हुने गरेको नागरिकता शाखाका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
प्रतिक्रिया