सौर्य समाचारको प्रभाव : ओमानमा बन्धक संखुवासभाकी सपना नेपाल फर्किइन्

दोहा । देशभित्र रोजगारीको अवसर नपाएकी संखुवासभा खाँदबारी नगरपालिका–१ घर भएकी सपना दर्जी परियार रोजगारीको खोजीमा थिइन् । स्वदेशमा कामको खोजी गर्दै भौँतारिएको परियार रोजीरोटीका लागि विदेश जाने सोच बनाइन् ।

वैदेशिक रोजगारीमा जानका लागि तयार भएकी उनलाई एजेन्ट मनमाया राईले ओमान पु¥याइन् । एजेन्ट राईले राम्रो कमाइ हुने प्रलोभनमा पारी भरतको बाटो हुँदै ओमान पु¥याएकी थिइन् । घरेलु कामदारको रुपमा काम गर्न विदेशिएकी उनले भनेजस्तो काम पाउन त परको कुरा दुई छाक खान समेत पाइनन् ।

ओमानमा जस्तोतसो काम गर्दै थिइन् सपना । काम गर्ने क्रममा बिरामी परेर नेपाल फर्कन खोज्दा उनीलाई साहुले बिना एसी भएको कोठामा बन्धक बनाएर राख्यो । आफूलाई मालिकले बन्धक बनाएको पछि नेपालमा रहेका श्रीमान टेकबहादुर परियारलाई सुनाइन् उनले ।

श्रीमानले हारगुहार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य तथा सामाजिक अभियन्ता सीताराम नेपाल मार्फत सपना ओमानमा बन्धक बनाइएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानलाई निवेदन दिएका थिए ।

एनआरएनए ओमान, साउदी अरब, एनआरएनए कतारका पनि बिशेष गरी निवर्तमान प्रथम उपाध्यक्ष जैबी राई चाम्लिङ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा उद्धार भई सपना सोमबार संखुवासभा आइपुगेकी रास्वपाका सदस्य तथा सामाजिक अभियन्ता नेपालले जानकारी दिए । सोमबार संखुवासभा पुगेकी सपनाले आफू ७ महिना अघि ओमान पुगेको र काम गरे बापत एक रुपैयाँ पनि तलव नपाएको बताइन् ।

आफूलाई नेपालीले नै कुटपिट गरेको, मानसिक यातना दिएको दिनमा एक छाक खाना मात्र दिएर पाँच महिना देखि बन्द कोठामा थुनेर राखेको उनले वताइन् । आफूसँगै बन्धक रहेकी सिन्धुपाल्चोक घर भएकी एक महिना पनि आफू भन्दा तीन दिन अघि नेपाल फर्किएको उनले सुनाइन् ।

त्यहाँ आफू जस्तै अन्य धेरै नेपाली महिलाहरुलाई श्रम शोषण गर्ने तथा विभिन्न शारीरिक तथा मानसिक यातना दिने गरेको उनले सुनाइन् । अब विदेशको नाम समेत नलिने भन्दै दुखः सुख जेजस्तो भएपनि आफ्नै माटोमा पसिना बगाउने उनले बताइन् । रास्वपाका सदस्य तथा सामाजिक अभियन्ता नेपालले पनि नेपाल सरकारले घरेलु कामदारका लागि बन्देज लगाएका देशहरुमा नजान र जानै परे बुझेर जान सुझाव दिए ।

सरकारले घरेलु कामका लागि ओमान, कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डन लगायतका देशहरु नेपाली महिला कामदार पठाउन वर्जित गरेको अवस्थामा कोही एजेन्ट वा मेनपावर व्यवसायीहरूले थोरै पैसाको लोभमा परी गैरकानुनी रूपमा नपठाउन समेत उनले अनुरोध गरेका छन् ।

उनले सपनाको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । यसअघि सौर्य दैनिकमा ‘संखुवासभाकी चेली ओमानमा बन्धक’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बंलादेश, दुबई तथा श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् ।

यसरी गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि बिरामी वा मृत्यु भएमा शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरू अलपत्र पर्ने गरेको छ ।

कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् । पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ ।

प्रतिक्रिया