चीनको नयाँ नक्शा नेपालको हितमा

छिमेकी मित्रराष्ट्र चीनले केही दिन अघि आफ्नो देशको नयाँ नक्शा सार्वजनिक गरेको छ । आफ्नो नयाँ नक्शामा चीनले विगतमा अंग्रेजबाट खोसिएका तिब्बती भुभागहरु समेत समावेश गरेको छ । कोमिनताङको कब्जामा रहेको ताइवानलाई त चीनले आफ्नो नक्शामा समावेश गर्ने नै भयो । केही महिना अघि मित्रराष्ट्र भारतले पनि केही छिमेकी देशहरुको भूभाग समेटेर आफ्नो नयाँ संसद भवनमा पौराणिक भन्दै नक्शा टाँगेको थियो । यी दुवै छिमेकीहरुले प्रकाशमा ल्याएका नयाँ नक्शामा नेपाल समेत प्रभावित भएको छ । भारतले संसद भवनमा पौराणिक भन्दै टाँगेको नक्शामा नेपालको कपिलबस्तु , जनकपुर , विराटनगर लगायतका क्षेत्र समावेश गरिएको छ । चीनले जारी गरेको नयाँ नक्शामा नेपालको पश्चिमी त्रिदेशीय सीमा विन्दु उल्लेख गरिएको छैन । त्यसो त तीन वर्ष अघि भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी क्षेत्रलाई समेत समेटिएको थियो । चीनले हालै जारी गरेको यो नयाँ नक्शालाई लिएर छिमेकी भारतले प्रतिक्रिया जाहेर गरेको त छ , तर आक्रामक प्रतिक्रिया व्याक्त गर्न सकिरहेको छैन । सायद भारत पर्ख र हेरको अवस्थामा हुनसक्छ । यता नेपालले पनि पश्चिम तर्फको त्रिदेशीय विन्दु उल्लेख नगरेकोमा चीनलाई कुटनीतिक नोट पठाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुन गइरहेको भ्रमणमा यस विषयमा चीनलाई जानकारी गराउने गृहकार्य भएको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै मिडियाहरुले समाचार प्रवाह गरेका छन् ।

संयोग पनि कस्तो परेको छ भने प्रधानमन्त्री प्रचण्डको भ्रमण भन्दा करिव दुई साता अघि मात्रै भारतले पौराणिक भन्दै संसद भवनमा नक्शा टाँगेको थियो । यतिबेला पनि प्रधानमन्त्री प्रचण्डले भ्रमण गर्नु भन्दा दुई साता अघि मात्रै चीनले नयाँ नक्शा सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको चित्त दुखाई भनेको पश्चिमतर्फ लिपुलेकमा रहेको त्रिदेसिय सीमा विन्दु उल्लेख नहुनु हो । चीनले जारी गरेको नयाँ नक्शामा नेपाल–चीन र भारत बीचको त्रिदेशीय सीमा विन्दु कालापानी क्षेत्रमा उल्लेख छ । नेपाल–चीन र भारत बीचको त्रिदेसिय सीमा विन्दुका विषयमा नेपाल र भारतबीच विवाद छ । त्यही विवादको परिणाम हो नेपालले दुई वर्ष अघि जारी गरेको चुचे नक्शा । नेपालले जारी गरेको चुचे नक्शालाई भारतले ठाडै अस्वीकार गरिसकेको छ । यस्तो अवस्थामा चीनले यथार्थ कुरा बोलिदिने अपेक्षा नेपालले गर्नु स्वभाविकै थियो । किनकी नेपाल र चीन वीचको पश्चिम तर्फको अन्तिम सीमा विन्दु एकीन हुनासाथ भारत सँगको सीमा मामिलालाई अन्तर्राष्ट्रिय मन्चमा उठाउने थप सामाथ्र्य नेपाललाई प्राप्त हुन्थ्यो । तर चीनले थाह नपाएको हो की ? वास्ता नगरेको हो ? एकीन भएन । समयमै यस विषयमा चीन सँग कुरा राख्न नसक्नु नेपालको पनि कमजोरी हो ।

कुनै दुई देशको सीमा निर्धाण गरी स्तम्भ राख्दै जाँदा शुन्य नम्बर बाट एक, दुई, तीन हुँदै अघि बढिन्छ । नेपाल र चीन बीच पनि यसरी नै नम्बर राखेर सीमा स्तम्भ गाडिएको छ । हरेक सीमा स्तम्भ ४० किलोमिटरको दुरीमा छन् । एक नम्बर सीमा स्तम्भ दार्चुला जिल्ला स्थित लिपुलेक क्षेत्रमा छ । यस हिसावले शुन्य नम्बरको स्तम्भ तथा विन्दु लिपुलेक भन्दा ४० किलोमिटर पश्चिम तर्फ पर्छ भन्ने कुरा स्वयंसिद्ध छ । महकालीको उद्गम तथा नेपाल चीनबीचको अन्तिम सिमाना शुन्य नम्बर स्तम्भलाई आधार मानेर नेपालले चुचे नक्शा सार्वजनिक गरेको हो । तर चीनले जारी गरेको नयाँ नक्शामा शुन्य नम्बर पिल्लर अर्थात नेपाल–चीन र भारत बीचको त्रिदेशीय सीमा विन्दु उल्लेख नहुँदा अन्योलता बढेको छ । नेपाल चीनबीच सीमा समस्या छैन भन्ने मान्यता खण्डित हुन पुगेको छ । हुन त चीनले जारी गरेको यो नयाँ नक्शा भारतले नेपालको लिपुलेक क्षेत्र हडप्न खोज्दाको परिणाम हो ।

भारतले नेपाल सँगको विवादित क्षेत्रलाई आफ्नो नक्शामा समेटेपछि चीनले पनि भारत सँगको विवादित क्षेत्रलाई आफ्नो नक्शाका समेट्ने थप बल पायो । तर यी दुई प्रकरण भने एउटै होइनन् । भारतले सुगौली सन्धी अनुसारको दार्चुला जिल्लाको भूभाग आफ्नो नक्शामा राखेको हो । तर चीनले भने अंग्रेजले हडपेको तिब्बतको भूभाग आफ्नो नक्शामा राखेको हो ।

अंग्रेजले हडप्नु अघिको तिब्बतको नक्शा भन्दा चीनले एक इन्च पनि तल माथि गरेको छैन । अंग्रेज हटेपछि त्यो भूभाग स्वतः तिब्बतको हुनु पर्नेमा भारतले आफ्नो दावी गर्दै आएको छ । यही विषयलाई लिएर चीन भारत बीच सन् १९६२ मा ठूलो युद्ध भएको थियो । छिटफुट युद्ध हिँजो आज पनि हुने गरेको छ । यदी अंग्रेजले हडपेको तिब्बतको सबै भुभाग चीनले आफ्नो सीमा भित्र औपचारिक रुपमा कायम राख्यो भने नेपालले पनि अंग्रेजले हडपेका भुभागहरु फिर्ता गर्नका लागि ठाउँ पाउँछ । यस्तो अवस्थामा नेपाल–चीन र भारतको त्रिलेशीय सीमा विन्दु महाकालीको उद्गम होइनकी, सतलजको उद्गम बन्न पुग्छ । त्यसैले चीनको यो नयाँ नक्शालाई शशर्त मान्यता दिनु नै नेपालको दीर्घकालिन हितमा छ ।

प्रतिक्रिया