
लमजुङ । लमजुङमा सुन चोरी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहर नपा–०८ शेरा घर भएकी २७ बर्षिया सुजा घिमिरे रहेकी छन् । उनले गत बैशाख २५ गते बेसीशहर नपा–०७ क्याम्पस रोड स्थित एक घरबाट र साउन ३० गते सोही वडाको न्यू ईरा बोर्डिङ स्कुल नजिकै एक घरबाट गरी करिब २३ तोला बराबरको सुन चोरी गरेको आरोप लागेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले बताए ।
प्रहरीका अनुसार आरोपित युवती घिमिरेको घरमा आइतबार बेलुका नै खोजतलास गर्दा सुनको रानीहार १ थान, सुनको वाला २ थान, सुनको रातो पत्थर जडित औँठी २ थान, सुनको औँठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनिहार १ थान, सुनको टप ४ थान, सुनको पत्थर जडित टप २ थान, सुनको गणेशको मुर्ती भएको लकेट १ थान, सुनको झुम्का २ थान वरामद गरिएको छ ।
आरोपित युवती घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सुवेदीले जनकारी दिए । उनी बेसीशहर स्थित ग्रामिण सामुदायिक विकास केन्द्र (RCDC) लमजुङमा कार्यरत कर्मचारी समेत हुन् ।
कहिले हप्ता दिन त कहिले महिना दिनको फरकमा सुन चोरीको घट्ना हुँदै आएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसरी चोरी हुने घटना बढ्दै गएकाे विषयमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सुचाना अधिकारी बुद्धिप्रसाद सुवेदीसँग कुराकानी गर्दा उनले भने, ‘प्रहरीले दिनु पर्ने सुरक्षा दिएकै छ । चोरी घर भित्र हुन्छ यसमा घरधनी आफैले आफ्नो तालचावी सुरक्षित गर्नुपर्ने हुन्छ ।’

लमजुङ
प्रतिक्रिया