काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुँदै छ । आज बिहान ८ बजेबाट मतदान सुरू हुने बताइएकाे छ । हिजै रातिबाट मतदान हुने भनिए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् ।
उनीहरू समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएको बताइएको छ । ५ पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ । सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसकेका छन् । अध्यक्षका प्रत्यासी कँडेल पौडेल पक्षधर हुन् भने रिजाल महासचिव पोखरेल खेमाका हुन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा चुनाव हुने भएपछि केन्द्रीय नेताहरू पनि उम्मेदवारको पक्षमा बाँडिएका छन् । पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेका छन् ।
प्रतिक्रिया