साउदीले दियो तीन दिनमै सय नेपालीलाई एक्जिट भिसा

दोहा । साउदी अरबले तीन दिनको अन्तराल १ सय १ नेपालीलाई एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये १ सय १ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि दूतावासमा आइरहनु नपर्ने जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धड्पड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

कसरी प्राप्त गर्ने ‘एक्जिट भिसा’ ?

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ । यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ । त्यस्तै साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ ।

त्यस्तै हुरूब लागेका व्यक्तिहरूले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने दूतावासले जनाएको छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रष्ट पारेको छ । त्यस्तै कुनै केस वा जरिवाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा पाइँदैन ।

दूतावास आफैँले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाको लागि राजदूतावासमा आउनुभन्दा अघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्नसमेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियादभन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया