मकवानपुरको थाहा नगरमा ‘थाहा फिल्म फेस्टिबल’को आयोजना हुने

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरमा निरन्तर क्रियाशील थाहा कला केन्द्रले ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नारासाथ ‘थाहा फिल्म फेस्टिबल २०८०’ आयोजना गर्ने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर ९ देखि १५ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

वागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाकको आर्थिक सहयोगमा कार्यत्रलम हुने बताइएको छ । कला केन्द्रले आयोजना गर्ने फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक प्रमोद जोशीले जानकारी दिए ।

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो आदि क्षेत्रका दिग्गज कलाकारलाई थाहाबारेमा जानकारी गराउने राखिएको छ ।

थाहा नगरको पर्यटन प्रवर्द्धन हुने खालका तस्विर कार्यक्रमस्थलमा राखेर अवलोकन गर्न लगाउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकासँग पारस्परिक गराउन प्रयास गर्ने रचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो निर्माता, निर्देशक तथा निर्माण समूहसँग विशेष अन्तत्र्रिmया गर्ने उद्देश्य पनि रहेको कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए ।

‘मकवानपुरमा भिन्न र फरक फिल्म फेस्टिबल आयोजना हुन लागेकाले पनि फेस्टिबलप्रति आकर्षित हुने देखिन्छ,’ मोक्तानले भने, ‘फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचरफिल्म र सर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौँ ।’

कार्यक्रमको कुल २७ लाखभन्दा बढी अनुमान गरिएको कार्यक्रमका उपसंयोजक राजिव स्याङतानले जानकारी दिए । सो पत्रकार सम्मेलनमा थाहा नगरपालिका– ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार कुमार नेगीलगायतको सहभागीता रहेको थियो ।

थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । प्राकृतिक एवं भौगोलिक हिसाबले आकर्षक र मनमोहक क्षेत्रमा हाल पर्यटन प्रवर्द्धनका लागि विभिन्न निकाय विविध तवरबाट लागिपरेका छन् । थाहा नगर साविक पहाडी गाविसहरु दामन, पालुङ, बज्रबाराही, चित्लाङ, टिष्टुङ र आग्राका सम्पूर्ण भूभाग मिलेर बनेको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया