शासकीय क्रूरताले छोपिएका राणाकालका असल काम

राणाहरू प्रजा वा रैतीलाई स्वास्थ्य उपचार गरिदिनुलाई ‘आफ्नो धर्म’ ठान्ने गर्दथे । त्यतिबेला वीर शमशेरले वीर अस्पतालको स्थापना गरेपछि सर्वसाधारणलाई निःशुल्क सेवा दिइने व्यवस्था थियो । वीर शमशेरपछि पनि उनका उत्तराधिकारी राणा प्रधानमन्त्रीहरूले राजासँग आफ्नो नाम जोड्दै २०–२२ अस्पताल स्थापना गरेका थिए । ती सबैमा निःशुल्क उपचारको व्यवस्था थियो ।

काठमाडौं । नेपालको इतिहासमा १ सय ४ वर्षे राणाकाललाई अँध्यारो युगका रूपमा व्याख्या गरिन्छ । १९०३ सालको कुख्यात ‘कोतपर्व’ र ‘खण्डारखाल पर्व’ को रगतको आहालबाट उदाएको राणाकालको इतिहास रक्तरंजित भएकै कारण अँध्यारो अवधिको रूपमा मानिँदै आएको छ । यद्यपि राणाकालमा पनि राम्रा काम नभएका भने होइनन् । तर, शासकीय क्रूरताका कारण राणाकालका कतिपय राम्रा काम पनि छायामा छन् ।

कोतपर्व र भण्डारखालपर्वमार्फत आफ्ना विरोधीको शिरच्छेदन गरेर उदाएका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले शाह वंशीय राजपरम्परालाई पछ्याउँदै प्रधानमन्त्री पदलाई ‘श्री ३ महाराज’ को पगरी गुथाए र कार्यकारी अधिकार परिवारवादमा स्थापित गराए । त्यति मात्र होइन राणाकालमा नागरिककोे बाँच्न पाउने अधिकार श्री ३ को निगाहमा भर पर्दथ्यो ।

तत्कालीन समय विश्वमा ब्रिटिसहरूको एकछत्र साम्राज्य खडा भएको युग थियो । विज्ञान र प्रविधिको त कुरै नगरौँ । एक किसिमले भन्दा तत्कालीन समय बाहुबलीको युग थियो, शक्तिशालीको युग थियो । राज्यशक्तिमा पहुँच हुनेको बोली नै कानुन हुन्थ्यो । यस्तो युगमा पनि राणाहरूले ‘प्रजावत्सल’ देखिन विभिन्न सुधार कार्य गरेको पाइन्छ ।

आजको परिवेश र दृष्टिबाट हेर्दा ती सुधार सामान्यभन्दा सामान्य हुन् तर तत्कालीन समयमा ती सुधार पनि के–के न भएजस्तो थियो । यस्तै सुधारका काम मध्ये जंगबहादुर राणाले पनि केही थिति बसाल्ने काम गरेको देखिन्छ । उनले राष्ट्रमा दैवीप्रकोप परेको समयमा मात्र प्रयोग गर्न त्यतिबेलै ११ करोडको कौशी नामको ढुकुटी खडा गरेका थिए । त्यस्तै समाज सुधारतर्फ केही काम गरेका देखिन्छ । तत्कालीन अवस्थामा पानी नचल्ने साल्मी, भोटे, कोचे, मोचेहरूको पानी उनै जंगबहादुरले चलाएका थिए । तोपखाना, बारुदखाना, जंगी मेगजिन, काठमाल अड्डा खडा गरेर सरकारी कार्यालय व्यवस्थित गराउने प्रयास भयो । जंगबहादुरले नै पहिलोपटक नेपालमा आयुर्वेद औषधि निर्माण गराएको पाइन्छ ।

राणाको उदयअघि नेपालमा कानुनहरू थिएनन् । जंगबहादुरले नै १९१० सालमा मुलुकी ऐन बनाए । यद्यपि त्यो ऐनमा एउटै खालको अपराधमा पनि जातका आधारमा मृत्युदण्ड र फरक कैद सजायको व्यवस्था थियो । उनले पहिलोपटक बोक्सी, धामीझाँक्री जस्ता रूढीवादी प्रथालाई दण्डित गर्ने व्यवस्था गरेका थिए ।
जंगबहादुरले राज्यको नापी गराएर नेपालको नक्सा बनाउन लगाएका थिए । जनसंख्या थाहा पाउन १९१७ सालमा जनगणना गराए । सिमानामा ‘माइल स्टोन’, दुर्गम क्षेत्रमा हुलाक, दरबारमा स्कुल र पुस्तकालय खडा गराए । पहाड र तराईका मौजामा धर्म भकारी (अहिलेको बैंक) बनाउन लगाए । भोटतर्फ जाने बाटो मर्मत गराए । मठ मन्दिर, गुम्बाहरूको मर्मत गराए ।

जंगबहादुरको बेलायत र फ्रान्सको भ्रमणपछि ‘नेपाल एउटा स्वतन्त्र, सार्वभौम मुलुक हो’ भन्ने स्थापित गर्न मद्दत पुग्यो । बेलायतबाट फर्कंदा विभिन्न जातका घोडा, वनस्पति र फूलका बिउ ल्याए । नेपालमा छापाखाना त्यसै बेला ल्याएका हुन् । यी कार्यले तत्कालीन समयमा जंगबहादुरले आफ्नो बुद्धिले भ्याएसम्म प्रजामा सुशासनको अनभूति गराउने चेष्टा गरेको मान्नुपर्दछ ।
राणाहरूमा जंगबहादुरपछि समाजसुधारका पक्षमा मानव अधिकारका पक्षमा काम गर्ने श्री ३ महाराजमा वीर शमशेरको नाम आउँछ । हुन त १५ फागुन १९३३ मा जंगबहादुरको मृत्युपछि उनका भाइ रणोद्दीप सिंह श्री ३ महाराज भएका थिए । तर, उनले समाजसुधारका क्षेत्रमा केही काम गरेको देखिँदैन, पाइँदैन ।

आफ्नै भतिजाहरू (धीरशमशेरका छोराहरू) ले श्री ३ महाराज रणोद्दीपको निर्मम हत्या मात्र गरेनन् जंगबहादुरको वंश विनास गरिदिए । त्यसपछि २ मंसिर १९४२ मा श्री ३ महाराज भए वीर शमशेर । वीर शमशेरको १५ वर्ष ८ महिने शासनकालमा भएका समाजसुधार र मानव अधिकारको क्षेत्रका कतिपय काम त अहिलेभन्दा राम्रा थिए ।

उनले १९४८ सालमा खानेपानीका लागि वीरधारा बनाए । १९४७ सालमा स्थापना भएका वीर अस्पताल र १९५१ सालमा निर्माण भएको घण्टाघर उनै वीर शमशेरको देन हो । सडक, ढल, कुलेखानीमा झोलुंगे पुल र आठ वटा विशाल दरबार बनाए । उनले बनाएको विशाल दरबारहरूमा नारायणहिटी, भाटभटेनी, जाउलाखेल, हात्तीसार, चारबुर्जा, सेतो दरबार, लाल दरबार, फोहोरा दरबार आदि हुन् । सेतो दरबारअगाडि विशाल मस्जिद बनाउने अनुमति दिएर धार्मिक सहष्णुता देखाउने पनि उनै वीर शमशेर थिए ।

निःशुल्क स्वास्थ्य सेवा

राणाहरू प्रजा वा रैतीलाई स्वास्थ्य उपचार गरिदिनुलाई ‘आफ्नो धर्म’ ठान्ने गर्दथे । त्यतिबेला वीर शमशेरले वीर अस्पतालको स्थापना गरेपछि सर्वसाधारणलाई निःशुल्क सेवा दिइने व्यवस्था थियो । वीर शमशेरपछि पनि उनका उत्तराधिकारी राणा प्रधानमन्त्रीहरूले राजासँग आफ्नो नाम जोड्दै २०–२२ अस्पताल स्थापना गरेका थिए । ती सबैमा निःशुल्क उपचारको व्यवस्था थियो ।

त्यस्ता अस्पतालमा भारतबाट ल्याइएका डाक्टर–कम्पाउन्डरहरूबाट उपचार हुन्थ्यो । उक्त कालखण्डमा नेपाली डाक्टरहरूको चरम अभाव थियो । स्वास्थ्य उपचारका निम्ति मध्यम खालको आय हुनेहरू आफ्नै खर्चमा सीमापारि भारतका अस्पतालहरू (फारबिसगन्ज, जयनगर, दरभंगा, पटना, रक्सौल, लखनउ) धाउने गर्थे । केही सम्भ्रान्त परिवारका सदस्य भने कोलकाता–दिल्ली पुग्थे ।

वीर शमशेरको लामो शासनकालपछि देव शमशेर श्री ३ महाराज भए । दरबारिया षड्यन्त्रमा परेर मध्यरातमा लखेटिनुअघि आफ्नो १ सय १४ दिनको छोटा शासनकालमा उनले निकै स्मरणयोग्य काम गरे । गोरखापत्रको स्थापना उनले गरेका हुन् । दरबार हाइस्कुललगायत धेरै वटा विद्यालय स्थापना गराए, सर्वसाधारणलाई समयको जानकारी होस् भनेर मध्याह्न १२ बजे तोप पड्काउने व्यवस्था मिलाए ।

देव शमशेरपछि श्री ३ महाराज भए चन्द्र शमशेर । १९७७ सालमा सतीप्रथा र १९८१ मा दासप्रथा उन्मूलनलाई उनले गरेको महत्वपूर्ण सुधार मानिन्छ । त्यसैगरी रक्सौल–अमलेखगन्ज १९ माइल रेल र चुरेमा सुरुङ बनाए । त्यस्तै १९५९ सालमा सिंहदरबार, १९६८ सालमा पाँच सय किलोवाटको फर्पिङ जलविद्युत्, १९७६ सालमा त्रिचन्द्र कलेज, १९८२ सालमा १४ माइल लामो घुर्सिड–मातातीर्थ रोपवे, १९८४ सालमा अमलेखगन्ज–भीमफेदी सडक चन्द्र शमशेरका पालामा भएका मुख्य विकासका काम हुन् ।

त्यसपछि १२ मंसिर १९८६ मा श्री ३ महाराज भए भीम शमशेर । भीम शमशेरको नौ महिने शासनकालमा पनि त्यस्तो कायापलट हुने खालको उल्लेखनीय काम नभए पनि दाजुहरू हिँडेको पाइलालाई साथ दिएको पाइन्छ । सुधारका काममा उनले भीमधारा, भीम अस्पताल खोलेर उदार चित्त देखाएको भए पनि अनुमति नलिई वाचनालय खोलेको आरोपमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत ४६ जनालाई पक्राउ गरी जेल हालियो र गाथगादी ताकेकोसम्मको मुद्दा लगाइयो । पछि जनही १ सय ३४ रुपैयाँ जरिवाना तिराएर रिहा गरियो ।

भीम शमशेरको मृत्युपछि जुद्ध शमशेर श्री ३ महाराज भए । उनको पालामा ठूलो दैवि विपत्ति आइलाग्यो । जुद्ध शमशेरले शासन सम्हालेको एक वर्षमै २ माघ १९९० मा नेपालमा महाभूकम्पको विपत्ति आइलागेको थियो । यो घटनापछि उनले काठमाडौंमा फराकिलो सडक बनाए । त्यतिबेला उनले फराकिलो बनाएको त्यो सडकलाई पहिला जुद्धसडक, पछि, नयाँ सडक र हुँदै अहिले न्यूरोड भन्न थालिएको छ । सो भूकम्पको स्मारकका रूपमा नयाँ सडकमै भूगोल पार्क पनि बनाए । उनैका शासनकालमा दोस्रो विश्वयुद्ध भयो । यो युद्धमा पनि नेपालले अंग्रेजको पक्षबाट लड्न सेना पठाएको थियो । उनले विराटनगरमा उद्योगहरू पनि खोलेका थिए ।

तर, जुद्धशमशेरका यी सारा सुधारका काम हुँदाहँुदै पनि उनी जनताका नजरमा क्रुर शासक ठहरिए । किनभने इनकै पालामा १९९७ सालमा चार जना देशभक्त सपूतहरू (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द) को नृशंस हत्या गरिएको थियो । जुद्ध शमशेरले स्वेच्छाले शासन त्यागेर आफ्नै हातले श्री ३ महाराजको श्रीपेच पद्म शमशेरलाई लगाइदिएका थिए ।
पद्म शमशेरको सबैभन्दा ठूलो सुधार २००४ सालमा ‘नेपाल सरकारको वैधानिक कानुन’ ल्याउनु नै हो । यो नेपालको पहिलो संविधान मानिन्छ । उनले शासनपद्धतिमा सुधार गर्न खोजेका थिए । तर, उनी साह्रै कमजोर भएको मानिन्छ । भनिन्छ चन्द्र शमशेरका छोराहरूका डर र धाकमा उनी बाँचेका थिए र पछि उनीहरूकै डरले शासन त्याग गरे । त्यसपछि नेपालको शासन राणाकालका अन्तिम श्री ३ महाराज मोहन शमशेरको हातमा पुग्यो । उनको कार्यकालमा ‘मोहन आकासवाणी’ बाहेक त्यस्तो केही उल्लेखनीय काम हुन सकेन । यसरी १९०३ सालमा जंगबहादुर राणाले स्थापना गरेको जहानियाँ राणाशासन २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि औपचारिकरूपमा समाप्त भयो ।

कसले के के गरे ?

जंगबहादुर राणा — दैवीप्रकोपका लागि ११ करोडको कौशी नामको ढुकुटी खडा – तत्कालीन अवस्थामा पानी नचल्ने साल्मी, भोटे, कोचे, मोचे आदिको पानी चलाए

– तोपखाना, बारुदखाना, जंगी मेगजिन, काठमाल अड्डा खडा गरेर सरकारी कार्यालय व्यवस्थित पार्ने पहल ।

— आयुर्वेदिक औषधि निर्माण


वीर शमशेर – वीर अस्पतालको स्थापना, सर्वसाधारणको निःशुल्क उपचार ।

– १९४८ सालमा खानेपानीका लागि वीरधाराको निर्माण ।

— नारायणहिटी, सेतो दरबार, लाल दरबार, फोहोरा दरबारलगायत आठ विशाल दरबारको निर्माण ।

–सेतो दरबारअगाडि विशाल मस्जिद बनाउने अनुमति दिएर धार्मिक सहष्णुता प्रदर्शन ।

देव शमशेर — गोरखापत्रको स्थापना ।

— दरबार हाइस्कुललगायत धेरै विद्यालय स्थापना ।

— सर्वसाधारणलाई समयको जानकारी दिन मध्याह्न १२ बजे तोप पड्काउने व्यवस्था ।

चन्द्र शमशेर — १९७७ सालमा सतिप्रथा र विसं १९८१ मा दासप्रथा उन्मूलन ।

– रक्सौल–अमलेखगन्ज १९ माइल रेल र चुरेमा सुरुङ ।

– विसं १९५९ सालमा सिंहदरबार, विसं १९६८ मा पाँच सय किलोवाटको फर्पिङ जलविद्युत्, १९७६ सालमा त्रि–चन्द्र कलेज, १९८२ सालमा १४ माइल लामो घुर्सिङ–मातातीर्थ रोपवे, १९८४ सालमा अमलेखगन्ज–भीमफेदी सडक ।

पद्म शमशेर – २००४ सालमा ‘नेपाल सरकारको वैधानिक कानुन’ ल्याए ।

प्रतिक्रिया