लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लमजुङको संयोजकको जिम्मेवारी रामचन्द्र पौडेललाई दिइएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सातौँ पूर्ण बैठकले पौडेललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
बैठकले यसअघि पार्टीले दिएको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि लमजुङ जिल्ला संयोजकमा लालबहादुर गुरुङ थिए । नवनियुक्त जिल्ला समन्वय संयोजक पौडेल यसअघि जिल्ला कमिटीको सचिव थिए ।
लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारका निवासी पौडेलले योङ कम्युनिष्ट लिग नेपाल लमजुङको अध्यक्षसमेत भइ काम गरिसकेका छन् । प्रदेश कमिटी बैठकले लमजुङ जिल्ला इन्चार्जमा आशा कोईरालालाई जिम्मेवारी दिएको छ । यसअघि लमजुङ जिल्ला इन्चार्जमा पारसमणि पोडेल थिए ।
नेकपा माओवादी केन्द्रले अहिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालनन गरिरहेको छ । ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ मुल भन्ने नाराका साथ सुरु सो अभियानअन्तर्गत पार्टी सदस्य संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको पार्टीले जनाएको छ ।
उक्त अभियानका लागि केन्द्रीय सदस्य रहेका नेताहरुलाई सबै पालिकामा खटाइएको छ । त्यस्तै, प्रदेश कमिटीका सदस्यहरुलाई वडा वडामा खटाइएको छ । यस अभियानअन्तर्गत २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराउने लक्ष्य राखिएको माओवादी केन्द्रले जनाएको छ ।
लमजुङ
प्रतिक्रिया