गरुडा चिनी मिल बचाउन किसानको चासो

रौतहट । गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले शनिबार बृहत् किसान भेला गरेको छ । श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि किसानहरूले शनिवार मिल्सको मैदानमा भेला सम्पन्न गरेका हुन् ।

उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको प्रमुख आतिथि रौतहट–३ का संघीय सांसद देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि संघिय सस्कारबाट रकम व्यवस्थापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै रौतहट–२ का संघीय सांसद किरण साहले बन्द रहेको चिनी उद्योगलाई लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनु पर्ने बताए । यसको लागि सडक देखि सदनसम्म आवाज उठाउनु पर्नेमा उनले जोड दिए ।

रौतहटको धरोहरको रूपमा रहेको चिनी मिलको जग्गा बिक्रि गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिवाद गर्न पछि नहट्ने उनले बताए । भेलामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री अब्बुल कलाम अजाद उर्फ फुलबाबुले मिल बचाउन प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नु पर्ने बताए ।

गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो । श्रीराम सुगर मिलको उपकरण लिलाम भएपछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया