रुकुमपूर्वकाे दुर्गममा अल्ट्रासाउन्ड स्वास्थ्य शिविर, २७ गर्भवतीले लिए सेवा

रूकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका १ मा गाउँपालिकाको आयोजनामा विशेष स्वस्थ्य शिविर सञ्चालन गरिएको छ । सडक सञ्जालले नछोएको उक्त वडाका गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखि विशेष स्वस्थ्य शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार साउन २० मा सिस्ने १ की गर्भवती महिलाको ज्यान गयो । आमा र बच्चा दुवैको ज्यान बचाउन गरिएका सवै प्रयास असफल भए । अध्यक्ष रेग्मीले भने, ‘भौगोलिक विकटता, स्वास्थ्य शिक्षाको कमि र अन्ध विश्वासका कारण २५ वर्षीया सपना बुढाले अल्पआयुमै ज्यान गुमाउनु पर्यो । आगामि दिनमा यस्ता घटना बढन नदिन गाउँमै डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’

उनकाअनुसार स्वास्थ्य शिविरमा रुकुम पूर्व अस्पतालका डाक्टर अनिश श्रेष्ठसहित स्वास्थ्य कार्यालय रुकुम पूर्वका जनस्वास्थ्य निरिक्षक यादव शर्मा, स्वास्थ्यचौकी प्वाङका इन्चार्ज काशिराम खड्का, सिनियर अनमि कल्पना झाक्री, सिस्ने स्वास्थ्यचौकीका प्रमुख काशिराम ओलीलगायतको उपस्थितिमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

गर्भवति महिलाको मृत्यु भएपछि गाउँपालिका अध्यक्ष रेग्मीले २१ साउनमा जिल्लास्थित स्वास्थ्य व्यवस्थापन समितिको बैठक बोलाएका थिए । गाउँपालिकोको हलमा सम्पन्न भएको उक्त बैठकले थप क्षति हुन नदिन तत्काल १ न वडा अध्यक्ष रजबहादुर बुढाको नेतृत्वमा ६ सदस्य शिघ्र स्वास्थ्य व्यवस्थापन कार्यदल गठन गरे थियो ।

बुढाको नेतृत्वमा भएको कार्यदलले वडामा भएका गर्भवती महिलाको एकिन गरि उनीहरुलाई सचेतनामुलक स्वास्थ्य शिक्षा दिने, गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य चेकजाचको लागि स्वास्थ्चौकीमा पुर्याउन समन्वय गर्ने र स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्ने गर्भवती महिलाको पहिचान गरि समयमै जिल्लामा पठाउन सहजिकरण गर्ने निर्णय भएको थियो ।

उक्त स्वास्थ्य व्यवस्थापन समितिको बैठकको निर्णय र गाउँपालिको नियमित कार्यक्रम अनुसार सिस्नेमा अल्ट्रासाउन्ड सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । वडाको लाम्पाखा, ठुलो सिस्ने, ओख्ररेना र भट्टेचौरका गर्भवती महिलाका लागि सिस्ने स्वास्थ्यचौकी भट्टेचौरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको सिस्ने स्वास्थ्यचौकी इन्चार्ज काशिराम ओलीले जानकारी दिए ।

अल्टासाउन्ड सहितको उक्त शिविरमा यो समाचार तयार पार्दासम्म २७ जना गर्भवती महिलाले सेवा लिएका छन् । ओलीका अनुसार ठुलो सिस्नेका ६, लाम्पाखा ५, ओख्ररेनाका ७, पाखापानी १, रतुवा मारे र भट्टेचौरका ८ जना गरि अहिलेसम्म २७ जनाले सेवा लिएका हुन ।

शिविरमा अल्ट्रासाउन्डको माध्यमबाट गर्भवती महिलाहरूको गर्भ जाँच गरिएको छ । शिविरको क्रममा ३ जना गर्भवतीको बच्चा उल्टो भएको, १ गर्भवतीको बच्चाका लागि खेल्ने पानी कम भएको र १ जनाको गर्भपतन आधा भएको पाइएको छ । बच्चा उल्टो भएका र पानी कम भएकी गर्भवती महिलालाई आवश्यक परामर्श दिइएको छ ।

आधा गर्भपतन भएकी महिलाको सुरक्षित गर्भपतन गरिएको छ । स्वास्थ्य शिविर आज साँझसम्म चल्ने छ । गर्भ जाँचका साथै टोल टोलमा पुगेर सुत्केरी र जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख ओलीले जानकारी दिए । पालिकाको आयोजनामा गाउँमै अल्ट्रासाउन्ड सहितको शिविर सञ्चालन भएपछि स्थानीय हर्षित भएको वडाध्यक्ष रजबहादुर बुढाले बताए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया