आठबिसकोटमा अबदेखि तरकारी तथा फलफूल आयात गर्दा ७५ प्रतिशत भ्याट लाग्ने

किसानलाई राहत

रुकुम पश्चिम । यहाँको आठबीसकोट नगरपालिकाले बाहिर बाट आयातित तरकारी बालीमा कर लगाएको छ । पालिकामा तरकारी आयातलाई रोकि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्य सहित चालु आर्थिक वर्ष २०८०/०८१ का लागि नगरपालिकाले जिल्ला बाहिर वा विदेशबाट आयातित तरकारी बालीमा ७५ प्रतिशत कर लगाउने गरी नीति तथा कार्यक्रम निर्माण गरेको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहनको नीति लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पालिकाले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको हो । आयातित कृषिजन्य वस्तुमा पालिकाले कर नगलाउँदा वा कम लगाउँदा आयातित कृषिजन्य उत्पादनसँग स्थानीय किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको थिएन ।

जसका कारण आयातित कृषिजन्य वस्तुभन्दा स्वदेशी उत्पादन महँगो पर्न जाँदा कृषकले उचित मूल्य पाउन सकेका थिएनन् ।नगरपालिका भित्रका कृषकहरुको उत्पादन बिक्रि वितरण र कृषकालाई प्रोत्साहन हुनेगरी जिल्ला बाहिर वा विदेश बाट आयत तरकारी बालीमा कुल मुल्यको ७५ प्रतिशतसम्म कर लगाइने नगरप्रमुख रवि केसीले जानकारी दिए ।

भ्याटमा छुट दिँदा उच्च आयात भई विदेशी तरकारीले बजार कब्जा गरेको अवस्था छ । प्रमुख केसीले भने, ‘जसले गर्दा विदेशी आयातित तरकारी तथा फलफूलसँग यहाँका किसानले प्रतिस्पर्धा गर्न सकेका थिएनन् । हामीले यो वर्षको बजेटमार्फत किसानले उत्पादन गरेको वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा ७५ प्रतिशत सम्म भ्याट लाग्ने बनाएका छौँ । पालिकाले आयातित तरकारी, वनस्पति तथा फलफूलमा भ्याट लाग्ने बनाएसँगै बजारमा ती वस्तु मूल्य महँगो हुने भएका छन् । तर, यसले कृषकलाई भने राहत पुग्नेछ ।’

आठबीसकोट नगरपालिकामा किवी, सुन्तला, आँप, अङ्गुर, स्याउ, आलु, टमाटर, धान, गहुँ खेती राम्रो हुने गरेको छ । यसबाट बाह्य उत्पादन निरुत्साहित हुने र स्वदेशी किसानले मूल्य पाउने ,’ विश्वास लिईएको छ । बजारमा आयातित तरकारी तथा फलफूलसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न सक्ने नगरपालिकाको भनाइ छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया