साउदीमा नौ नेपाली अलपत्र, तीन महिनादेखि भोकै

दुबईको नक्कली भिसा र टिकट दिएर दलाल सम्पर्कविहीन

दोहा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नौ नेपाली अलपत्र परेका छन् । पान्डा ह्युमन रिसोसेस मेनपावरमार्फत २१ दिनअघि साउदीअरब पुगेका उनीहरू अहिले अलपत्र अवस्थामा रहेका छन् ।

मेनपावर कम्पनीले राम्रो कमाइ हुने भन्दै मोटो रकम असुलेर साउदी अरबस्थित जावाया अल इब्द कंस्ट्रकटिङ कम्पनीमा पठाएको उनीहरूले बताएका छन् ।

काभ्रेपलान्चोकका खेमबहादुर प्रधानले भने, ‘राम्रो सेवा सुविधा र काम भनेर मेनपावरले पठाए पनि भनेजस्तो काम पनि पाइएन । दामको त कुरै भएन । तीन महिनादेखि तलब नपाएर हामी अलपत्र छौँ ।’

कम्पनीले सम्झौता अनुसारको काम र तलब पनि नदिएको तथा बीच–बीचमा केही समय काम दिँदै फेरि कोठामै बस्न भन्ने गरेको पीडितहरूले बताएका छन् । पछिल्लो समय त झन् कम्पनीले त्यहाँस्थित जेद्धाको खमिसमा एक कोठामा राखेको उनीहरूले बताएका छन् ।

आफूहरूसँग पैसा नभएको कोठामा किचेन पानी र खाना पकाउने ग्यासलगायत कुनै सामना नभएको कारण भोकभोकै बस्न बाध्य भएको पीडितहरूको भनाइ रहेको छ ।

उनीहरू अलपत्र परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबकी अध्यक्ष रबिना अर्यालले जानकारी गराए लगत्तै जेद्धामा रहेको महावाणिज्य दूतावासका प्रतिनिधि हरि बिष्ट पुगेर अलपत्र परेका नेपालीहरूलाई भेटेका छन् ।

उनीहरूलाई भेटेपछि एक भिडियो सार्वजनिक गर्दै बिष्टले पीडितहरूको अवस्था निकै दयनीय रहेको भन्दै अहिले तत्काल खान र बस्न समस्या रहेको बताए । उनले पीडितहरूलाई खानाका लागि केही पैसा पनि सहयोग गरेका छन् ।

‘कम्पनीले तीन महिनादेखि तलब नदिएको रहेछ, चार महिना बितिसक्दा पनि आवासीय अनुमतिपत्र नवीकरण नगरी दिएको भेटियो’, उनले भने, ‘गाँसबासको पनि समस्या बनाएर अलपत्र पारेको रहेछ ।’

अब उनीहरूलाई साउदी सरकार, रियादस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास जेद्धा र एनआरएनएसँग समन्वय गरेर चाँडै नेपाल फर्काउन पहल गर्ने उनले बताए । पछिल्लो समय रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

यसरी अलपत्र पर्नेहरूमा सोलुखुम्बुका अजय राई, बैतडी करणबहादुर बोहरा, रामेछापका राजेन्द्र दर्जी, काभ्रेपलान्चोकका खेमबहादुर प्रधान, धनुषाका कुमार यादव, धरमदास टमटा, दीपककुमार यादव, शिवसरन मुखिया र रामनरेश पासवान रहेका छन् ।

बुझेर मात्र साउदी अरब आउनु : दूतावास

आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले बुझेर मात्र साउदी अरब आउन अनुरोध गरेको छ ।

दूतावासले पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरूले आफूले म्यानपावर र एजेन्टले भने अनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्ने गुनासाहरू आइरहेको जनाउँदै बुझेर मात्र आउन सचेत गराएको हो ।

आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि प्रशस्तै देखिएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको छ । तसर्थ, ‘एजेन्ट’ को पछि नलाग्न र सकेसम्म आफूले नै मिहिनेत गरेर भरपर्दाे मेनपावर कम्पनी खोजेर आउन भनेको छ ।

पहिला साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन अथवा कम्पनीको नाम काम ठाउँ के कस्तो छ स्पष्ट बुझेर मात्र आउन अनुरोध गरेको छ । साउदी अरब आइसकेपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठीन भएको लगायतका कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्कन सहज नरहेको पनि दूतावासले जनाएको छ ।

एक जना कामदारलाई यहाँ ल्याउन रोजगारदाताले पनि ठूलो धनराशि खर्च गर्ने भएकाले रोजगारदाताहरू पनि कामदारलाई करार सम्झौता नसकी निस्कन दिँदैनन् । तसर्थ, यहाँ आइसकेपछि तुरुन्त स्वदेश फर्कन सम्भव छैन भन्ने प्रष्ट भएर मात्र आउने नआउने विचार गरेर आउनुपर्ने दूतावासको भनाइ छ ।

दूतावासका अनुसार पारिश्रमिकका विषयमा स्पष्ट भई नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम हुनेगरी कुनै पनि सम्झौता नगर्न र नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदहरूका लागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको जनाएको छ ।

जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधा वापत साउदी रियाल तीन सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र ओभरटाइम वा अन्य सुविधासम्बन्धी यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिने दूतावासले जनाएको छ ।

संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नपर्न तथा संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउन, साउदी अरबमा अदक्ष कामदारको रूपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । स्वास्थ्य कमजोर छ वा कुनै बिरामी छन् वा औषधि सेवन गरिरहेको भए नआउन सुझाव दिएको छ ।

घरेलु तथा सामाजिक समस्या, लागुऔषध सेवनको समस्या भएका तथा अवसाद् (डिप्रेसन) आदि समस्या भई नेपालका सुधार गृहमा राखी सुधार ल्याउनुपर्ने अवस्थाका व्यक्तिहरू नआउन र त्यस्ता कामदार यहाँ आएर सुधार हुने नभई झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएको दूतावासले जनाएको छ ।

यहाँको हावापानी सुक्खा र अत्यधिक गर्मी हुने हुँदा खुला ठाउँमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्ममजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एवं केही मेनपावर कम्पनीहरूले गलत जानकारी दिई पठाउने गरेको पाइएको दूतावासले जनाएको छ ।

सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भए पनि काम भने विचौलिया वा मेनपावरले भनेअनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् । सम्झौतामा लेबर, फाक्टर अनस्किल कामदार जे लेखेको भएता पनि यसले अदक्ष कामदारले गर्ने काम हो भन्ने बुझिने दूतावासले भनेको छ ।

यसअन्तर्गत आइसकेपछि यो वा त्यो मात्र काम गर्ने वा एजेन्ट वा केही म्यानपावरले मुखले भनेका अन्य कुनै सुविधायुक्त काम मात्र गर्ने भनेर सुख पाइने छैन । रोजगारदाता कम्पनीले अदक्ष कामदारलाई जुनसुकै काम लगाउन सक्नेछ । सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जाँदै छु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीका बारेमा वेबसाइट एवं अन्य स्रोतबाट बुझेर मात्र आउन दूतावासले भनेको छ ।

रेक्रुमेन्ट कम्पनी, ह्युमन रिसोसेस कम्पनी, मेनपावर सोलुसनजस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाइ पनि बहु तहसम्मको सप्लाइ हुने भएकोले विचार पु¥याएर मात्र आउनुहोस् दूतावासले आग्रह गरेको छ । यद्यपि, रोजगारी सहज हुने बेलासम्म यो वा त्यो कम्पनी भन्ने विषयले महत्व नराख्ने दूतावासले जनाएको छ ।

तर समस्या आउँदा सप्लाई कम्पनीमा आउनेका एकैपटक ठूलो संख्यामा आउने गर्दछ । सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ । तसर्थ, कुन कम्पनीमार्फत रोजगारीमा जाने भन्ने निर्णय कामदार स्वयंले गर्न सकिने जनाएको छ ।

दुबईको नक्कली भिसा र टिकट दिएर दलाल सम्पर्कविहीन

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर संयुक्त अरब इमिरेट्स (युएई) झिकाउने भन्दै ६ जना युवाबाट पाँच लाखभन्दा बढी पैसा लिएर दुबई कार्यरत एक नेपाली फरार भएका छन् । आफू दुबईको ल्यानमार्क ग्रुप कम्पनी मेनेजर भनेर बताउने निरज बरालले ६ जनाबाट पाँच लाख रुपैयाँ लिएर फरार भएको पीडित मध्येका एक बिक्रम बलामीले जानकारी दिए । काठमाडौं फर्पिंङका बिक्रम बलामीसहित विकास थामी, इन्सर मगर, सुनील बसेल, राजकुमार रुचाल र राजन खड्का गरी ६ जनाबाट पाँच लाखभन्दा बढी पैसा लिएर सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ । दुबईमा मासिक ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिषा र टिकट हातमा थमाएर ६ जनाबाटै पटकपटक गरी पाँच लाख रुपैयाँ लिएर दुबईमै सम्पर्कविहीन भएको बलामीले बताए ।

बरालले दुबईको ल्यानमार्क ग्रुप कम्पनीमा राम्रो हुन्छ भन्दै पैसा लिएका थिए । ‘आफ्नै दाजु जस्तै लागेर पैसा दिएका थियौँ’, बलामी भने, ‘आखिरमा न दुबई पठायो न पैसा नै फिर्ता गरिदियो ।’ असार २२ गते दुबईको उडान हुन्छ भनेको दिन नक्कली भिषा र नक्कली टिकट लिएर सम्पर्कविहीन भयो ।’ ‘उडानको समय हुन लाग्दा हामीले भिषा र टिकट चेक गर्दा नक्कली पो रहेछ, त्यो दिनदेखि निरज बराल सम्पर्कविहीन छन्’, उनले थपे, ‘धेरैपटक फोन गर्यौँ उनी सम्पर्कमै आएनन् ।’ अहिले पीडित हामी सबैको फोन कल तथा व्हाट्सएप र इमोमा पनि ब्लक गरेको अर्का पीडित सुनील बसेलले बताए । अब पनि सम्पर्कमा नआए कानुनी कारबाहीको लागि निवेदन दिने पीडितहरूले बताए । उनीहरूले केही हुन्छ भनेर नेपाली इन युएई भन्ने ग्रुपमा प्रमाणसहित ठग भनिएका निरज बरालको फोटो पोसट गर्दै युएईमा रहेका विभिन्न संघसस्था तथा विभिन्न सामाजिक अभियन्ताहरूलाई बरालको खोजी गरी दिन अनुरोध पनि गरेका छन् ।

म कतै भागेको छैन : बराल

उनीहरू दुबई लैजाने भनेर नक्कली भिषा र टिकट उपलब्ध गराउने निरज बरालले भने आफू सम्पर्कविहीन नभएको बताएका छन् । आफू कतै पनि नभागेको बताउँदै उनीहरूले आत्तिएर सामाजिक संजालमा विभिन्न पोस्टहरू गरेपछि चुप लागेर बसेको बताए । ‘जे पायो त्यही पोस्ट गरेर कुनै काम बिग्रियो भने मिल्ने होइन’, फोनसम्पर्कमा आएका बरालले भने, ‘उनीहरूले भने जस्तो पनि होइन, म आफैँ उनीहरूलाई सम्पर्क गर्छु, केही कन्डिसनहरू छन् यहाँ ।’

‘हाम्रो कम्पनीको मेनेजरले नै केही गडबडी गरेर आएको समस्या हो यो मैले पनि अफिसले गरेको काम राम्रै होला भनेर चेक गरिनँ’, उनले थपे, ‘त्यहि भएर समस्या आएको हो, अरू केही होइन ।’ बरालले पीडितहरू दुबई आउन नचाहे एक महिनाभित्र पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाए । उनले पीडितहरूको फोनमा ब्लक गरेको स्वीकार गर्दै ग्रुपबाट आफूविरुद्ध हालेको पोस्ट हटाए भोलि नै अनब्लक गरेर कुराकानी गर्ने बताए ।

पछिल्लो समय विभिन्न प्रलोभनमा पारेर युवालाई भिजिट भिषाको नाममा दुबई पु¥याउने क्रम बढ्न थालेको छ । देशमा रोजगारी नपाएपछि भिजिट भिसामा पुगेका सयौ नेपालीहरू दुबईको चोक र गल्लीहरूमा अलपत्र अवस्थामा भेटिने गरेको त्यहाँ कार्यरत नेपालीहरूले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका छन् ।

दुबईमा राम्रो काम पाइने आशामा ‘पछि वर्किङ भिसा पाइन्छ’ भन्ने लोभमा धेरै नेपाली युवा अवैध तरिकाबाट भिजिट भिसामा युएई पुग्ने गरेका छन् । यसरी अवैध तरिकाबाट त्यहाँ पुग्नेहरूले काम पाउन निकै सकस पर्ने गरेको छ । मोटो रकम बुझाएर विभिन्न दलालमार्फत त्यहाँ पुगे पनि भने जस्तो काम र तलब नपाउने त छँदै छ त्यसमाथि पनि त्यहाँ पुग्ने बित्तिकै दलाल सम्पर्कविहीन हुँदा धेरै नेपाली विमानस्थलमै अलपत्र पर्ने गरेका छन् ।

भिजिट भिसा जोखिमपूर्ण

दुबईस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको छ । भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्नसमेत नसकिने दूतावासले बताउँदै आएको छ । तर एजेन्टहरूले नेपाली युवालाई प्रलोभनमा पारेर भिजिट भिसामा दुबई पठाउने गरेका छन् ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पार्न सक्ने दूतावासले जनाएको छ । दूतावासले भिजिट भिसामा आएर अलपत्र परेकाहरूलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया