बाढी प्रभावितलाई राहत सामग्री वितरण

रौतहट । रौतहटमा बाढी प्रभावित दर्जनौँ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकामा बाढीबाट प्रभावित ७५ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहट गौरद्वारा राहत सामग्री वितरण गरिएको छ । केही दिनदेखि अविरल रूपमा भइरहेको भारी वर्षाका कारण लालबकैया, बागमती लगायतका अन्य ससाना नदीहरूमा बाढी आएको छ । बाढीबाट जिल्लाका सयौँ घरपरिवार प्रभावित भएका छन् । प्रभावित हुने घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्य सुरु गरेको हो ।

बाढीबाट प्रभावित घरपरिवारलाई रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा तुरुन्त आवश्यक राहत सामग्री वितरण गरिएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वामा विपद् व्यवस्थापन समिति रौतहटले बागमती नदीको बाढीले पीडित ७५ घरपरिवारलाई २५ किलो चामल, पाँच किलो दाल, पाँच किलो आलु, दुई लिटर खाने तेल, दुई किलो नुन, पाँच किलो चिउरा, एक किलो चिनी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले बताएका छन् ।

साथै पीडित परिवारलाई मेडिकेटेड झुल र फोम म्याटसमेत वितरण गरिएको साहले बताएका छन् । बाँकी बाढीबाट प्रभावित रहेका जिल्लाका विभिन्न ठाउँमा बिहीबार राहत वितरण गरिने उनले बताएका छन् । साथै बागमती नदी र लालबकैयाको तटीय क्षेत्रमा बसोबास गर्नेसहित जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् ।

त्यस्तै यता बाढीपीडितलाई राजेशकुमार गिरीको सहयोगमा र सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा रौतहटको विभिन्न भागमा बाढीपीडित परिवारलाई राहत सहयोग गरेका हुन् । अरिवल वर्षाका कारण रौतहटको विभिन्न ठाउँमा गएको बाढीले जनसमुदायमा घरवारको क्षति भएको खबर सुन्नासाथ सामाजसेवी गिरी र विवेक शर्माले उक्त राहत जिल्ला प्रशासन कार्यालयको अनुमतिमा वितरण गरेका हुन् ।

बाढीबाट प्रभावित राजदेवी नगरपालिका–२ हजमिनिया टोलका सुकुमबासी विपन्न प्रमोद ठाकुर र धमेन्द्र महतो, मौलापुर नगरपालिका मर्यादपुर बिनवाटोलका राजकिशोर मुखिया विनको घर बाढीले पूर्णरूपमा भत्केको खबर प्रप्त भएअनुसार राहत दिन गिरी र शर्माको टोली त्यहाँ पुगी राहत उपलव्ध गराएका हुन् । वनीहरू सहयोग स्वरूप यो कार्यको सुरुआत गरेका हुन् भने बाढीबाट पीडित परिवारहरूलाई सम्पर्क गर्न अनुरोध गरेका हुन् र साथै यस्तो आपत्को घडीमा सहयोग गर्न चाहने सहयोगी मन भएका दाताहरूलाई पनि यस महाअभियान संलग्न भई सहयोग गर्न वनीहरूले अपिलसमेत गरेका छन् । अधिक वर्षाको कारण रौतहटको राजदेवी, गौर, राजपुर, ईशनाथ लगायतका नगरपालिकाहरू बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया