कर्णालीका विमानस्थलमा यात्रुकाे बिचल्ली

मुगु । मुगुलगायत कर्णाली दुर्गम जिल्लामा दिउँसो १२ बजेपछि उडान नगर्नेे निर्णयले कर्णालीका यात्रु यति बेला बिचल्लीमा परेका छन । नेपाल नागरिक उड्डयन प्राधिकरण गत १३ साउनबाट मुगुलगायत दुर्गम जिल्लाहरूमा दिउँसो १२ बजेपछि उडान नगराउने निर्णयले कर्णालीका विमानस्थल पुगेका यात्रु यतिबेला बिचल्लीमा परेका हुन् ।

मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । तर, उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ । उनी नेपालगञ्ज जानका लागि जहाजको पर्खाइमा बस्दाबस्दै पाँच दिन रारा विमानस्थलमा बितेको बताइन् । उनी एक प्रतिनिधि पात्र हुन् । अहिले दुर्गमका विमानस्थलमा यसरी यात्रु, बिरामी बिचल्लीमा परेका छन् । जसका कारण नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा, बाजुरा लगायतका दुर्गमका जिल्लाका यात्रु मारमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा वर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले साउन १४ गतेबाट उडानमा रोक लगाएको छ । कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक छैन । कर्णालीका नागरिकको लाइफलाइन हवाईमार्ग भएकाले यो निर्णय सच्चाइनुपर्ने कर्णाली प्रदेश पर्यटन उद्यम समाज अध्यक्ष देविकृष्ण रोकायाको भनाइ छ । उनका अनुसार यस विषय पर्यटन मन्त्रालयलगायत सम्बन्धित निकायमा कर्णालीका जिल्लामा यो निर्णय उपयुक्त नभएको लिखित जानकारी गराएको भए पनि सुनुवाइ नभएको अध्यक्ष रोकायाले बताए ।


प्रविधिको प्रयोग लाइफ क्यामरा, मेटोलोजीयन्त्रलगायत क्ष्ँच् ख्ँच् प्रविधिको विकासमामा ध्यान नदिई वर्षात्को कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैरजिम्मेवार भएको पर्यटन व्यवसायी राजबहादुर कार्कीले बताए । उनका अनुसार बिहान मौसम खुल्दैन । १२ बजेपछि प्लेन आउँदैन । जसले यात्रु दुर्गमका विमानस्थलमा अलपत्र परेका छन् ।

कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकोप्टर वा जहाजबाट सुविधा सम्पन्न स्थान लैजानुपर्ने अवस्थामा यो निर्णयले सर्वसाधारण मर्कामा पर्ने देखिन्छ । आफ्नो गन्तव्यमा पुग्ने यात्रु वर्षात्को समय हिलाम्य सडक ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध हुने भएका कारणले सबै जना जहाजको पर्खाइमा हुन्छन् । यो निर्णयसँगै मुगुको रारा विमानस्थलमा आजसम्म तीन वटा मात्र हवाई उडान भएका छन । दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले यहाँ हवाई उडान भर्न समस्या भएको छ । जसका कारण प्रत्यक्ष नागरिक मर्कामा परेका छन् ।

प्रतिक्रिया