बिग्रेको सडक मर्मतमा स्थानीयको सक्रियता

सडक मर्मतले स्थानीयलाई आउजाउमा सहजता

प्युठान । प्युठानको मल्लरानी-३ का स्थानीयले बिग्रेको सडक मर्मत गर्ने कार्यमा सक्रियता देखाएका छन् । वर्षाले बिग्रेका सडकमा मर्मतको लागि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको हाे । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानीय जनताको जनश्रमदान गर्ने काममा कमि आइरहेको बेला पालिकाहरुले जनताको सहभागिता जुटाइ मर्मत गर्ने कार्य निकै सकारात्मक भएको जानकारहरु बताउँछन् । स्थानीय जनताको जनश्रमदान प्रती चासो दिएर सक्रियता दिनुले स्थानीय तहमा निर्माण हुने योजनाको जनतामा अपनत्व बढाउने आशा गरिएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ३ को जनप्रतिनिधिको स्थानीयको सहभागितामा धरमपानीदेखि रस्पुरकोट गिरचौर शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नं. ५ को सरङकोटसम्म जोड्ने मोटरमा मर्मत गरिएको स्थानीय पत्रकार बोम बहादुर परियारले बताए । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोमराज पौडेलले स्थानीय जनताको योजना मर्मतमा सक्रियता बढ्नु सकारात्मक भएको बताए । बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा वर्षाको भलको कारण पहिराे गएकाे तथा खाल्डाखुल्डी परेको स्थानमा मर्मतदेखि बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानीय र जनप्रतिनिधिको सहकार्यमा गरिएको वडाध्यक्ष पौडेलले बताए ।

बर्षातको समयमा ‘आफ्नो बाटो आफै बनाउ’ भनेर सबै धरधुरी आएकाे बताउदै स्थानीय समाजसेवी ठमान सिंह रानाले भने– ‘वडा अध्यक्ष सहित जनप्रतिनिधिसंगै हामी स्थानीय भेला भएर मर्मतमा जुटेका हौं ।’

स्थानीय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताए । साथै सानातिना कामहरु गाउँपालिका, वडाबाट आस नगरि यस्तै जनश्रमदानबाट गर्नुपर्नेमा उनकाे जाेड थियाे । उनले भने– ‘३ नं. वडाका वडाध्यक्ष जनता संगै आउनुभएको छ, अरु वडाध्यक्षहरुले पनि जनतासंग मिलेर काम गरे राम्रो हुन्छ ।’

गाउँघरमा बसेर तास खेलेर समय खेर पाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने वडा अध्यक्ष पौडेलले बताए । गाउँमा गाडि नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं। बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानीय रिता ठेडीले भनिन्– ‘जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ ।’ त्यस्तै स्थानीयबासी सिता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडी बोलाएर अस्पताल र बजार आउजाउ गर्न सजिलो होस भनेर जनश्रमदानमा आफूहरु जुटेको बताइन् ।

स्थानीयसंगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोमराज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने बताए । ठुला पहिरोहरु डोजर मार्फत गाउँपालिकाबाट बजेटको ब्यवस्था गरेर मर्मत गरि सुचारु गर्ने बताए । अब सानातिना समस्यालाई जनताले जनश्रमदान गर्दा बजेटको सदुपयोग हुन्छ वडाध्यक्ष पौडेलले भने– ‘सँधैभरी चल्ने बाटोको रुपमा यो बाटोलाई बनाउने गरि यो आर्थिक वर्षमा ९ लाख बजेटको ब्यवस्था भएको छ, स्थानीयको माग अनुसार नाली बनाउने सडक चौडा गर्ने जाली बाल लगाउने काममा खर्च गरिने छ ।’

जनश्रमदान गर्ने परिपाटी हट्न खोजेको भन्दै वडाध्यक्ष पौडेलले अव जनताको सहभागितामा जनश्रमदानलाई ब्यापक बनाउनुपर्ने बताए । यो अभियानमा जुट्न उनले सबैलाई अपिल समेत गरेका छन् । नियमित रुपमा सार्वजनिक सवारी साधन सुचारु गर्न समेत माग गरेका छन् । स्थानीएको सक्रियतामा गौमुखी गाउँपालुकाका विभिन्न वडाहरुले जनश्रमदान गर्ने अभियान नै चलाउन थालेका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया