हंसपुर बृहद खानेपानी योजनाले ३ सय २५ घरपरिवार लाभान्वित

एक घर एक धारा पाउदा स्थानीयमा खुशी

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३, हंसपुरमा खानेपानी योजना निर्माण सम्पन्न भएपछि यहाँका ३ सय २५ घरपरिवार लाभान्वित भएका छन् । सरुमारानी गाउँपालिकाले धारा निर्माण गरिदिएपछि पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका डाडाटोल, गाहाचौपारी, गोठेरि सजिकोटका गाउँमा पहिलो पटक लिफ्ट गरेर ३ सय २५ घरधुरीमा एक घर एक धारामा पानी गाउँमा पुर्‍याइएपछि स्थानीय खुशी भएका हुन् ।

खानेपानी योजना सम्पन्न भएसंगै साविक हंसपुर गाविसका वडा नंवर १,२,३ र ४ को डाडाटोल, गाहाचौपारी, गोठेरि सजिकोटका ३ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएको गाउपालिका अध्यक्ष झकबहादुर विश्वकर्माले बताए । गाउँपालिकाको ४ करोड ४३ लाख ३८ हजार ६ सय २ रुपैयाँको लागतमा आयोजना सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘पालिकाका सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य छ ।’ उनका अनुसार तीन किलोमिटर तलको माडीखोलाबाट लिफ्टिङ गरेर ६ सय मिटरमाथि डाँडामा पानी ल्याईएको छ । यहाँ पानी जम्मा गर्न सातवटा पानी संकलन गर्ने ट्याङकी निर्माण गरिएको छ । निर्माण गरिएका पानी वितरण गर्ने ट्याङकीना जम्मा भएको पानी पाइपलाइनबाट गाउँमा घरघरमा खानेपानी पुर्‍याइएको छ ।

बहुवर्षीय आयोजनाको रुपमा आर्थिक वर्ष २०७४–०७५ बाट पालिकामा सम्झौता भइ योजना सुरु गरिएपनि कोरोनालगायतका कारण काममा ढिलाई भएको थियो । यसपाली घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए । खानेपानी आयोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री तुलसीराम शर्माले आयोजनाको संरक्षण र रेखदेखमा ध्यान दिन आग्रह गरे ।

वर्षौंदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी भएको वडाअध्यक्ष भिमबहादुर मर्साङ्गिले बताए । गाउँपालिका भर हालसम्म दुई हजार ६ सय ६६ घरमा पानीको धारा पुगेको र तीनवटा ठूला आयोजना निर्माणाधीन अबस्थामा रहेको गाउँपालिका अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

स्थानीयको सक्रियता जनश्रमदान र पालिकाको लगानिमा योजना निर्माण भएको उल्लेख गर्दै अध्यक्ष विश्वकर्माले दीर्घकालीन रूपमा खानेपानीलाई टिकाइ राख्न स्थानीय जनताले योजनाको मर्मत कार्यमा ध्यान दिनपर्ने बताए । योजना निर्माण गर्नु भन्दा जनताले अपनत्व लिएर मर्मत सम्भारमा ख्याल गर्न जरुरी रहेको बताए ।

पानीको सुविधासँगै शौचालयको प्रयोगमा सहजता

प्युठान जिल्ला खुला दिसामुक्त जिल्ला भए पनि पानीको अभाव थियो । हंसपुर बृहद खानेपानी योजना सम्पन्न भएपछि शौचालय प्रयोगमा सहजता भएको स्थानीयले बताएका छन् । खानेपानी योजना निर्माण भएपछि खानेपानी सुबिधासंगै शौचालयको प्रयोग बढेको छ, भने पानी करेसाबारीमा पानीको प्रयोग हुन थालेको छ । खानेपानीले सरुमारानी–३ का स्थानीयलाई पानीसँगै आआर्जनसँग जोडेर लैजानुपर्ने अध्यक्ष बिश्वकर्माले बताए।

घर घरमा खानेपानीको धारा पुगेपछि शौचालयको नियमित प्रयोग हुँदा सरसफाइमा सुधार आउने र करेसाबारीमा तरकारी फलाउने काममा सहज भएको स्थानीयले बताएका छन् । पानीको समस्या झेल्दै आएका स्थानीयले गाउँको धारोमा पानी पाउँदा बल्ल विकासको अनुभूति भएको बताएका छन् ।
पछिल्लो समय खुल्ला दिशामुक्त कार्यक्रम जिल्लामा सेलाउदै गएका बेला सरुमारानीले सरसफाइ अभियानलाई खानेपानी निर्माणसंगै जोडेर लैजाने बताएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया