कोइराला परिवारका एक्ला कम्युनिस्ट कमल !

कमल कोइराला, पूर्व राजदूत

१६ वर्षको ठिटोलाई भाषण गर भन्दा किन नबोल्नु ? उनले त्यसलाई अवसरका रूपमा लिए । उनलाई भनिएको थियो, ‘असनको डबलीमा चढेर भाषण गरी हाल्नू । भाषण गरेर जुलुसमा आएर मिसिनु, प्रहरीले पक्राउ गर्नसक्छ ।’ भने अनुसार डबलीमा चढेर भाषण गरेँ । १६ वर्षे तन्नेरी, अझ प्रधानमन्त्रीको छोरा, उनले जानेजति र सकेजति बोले । तर के बोलँे के के भनेँ भन्ने उनी आफैँलाई पत्तो थिएन त्यतिबेला भने अहिले संझने कुरै भएन । ‘त्यो मेरो जीवनको पहिलो भाषण थियो । पहिलो भाषण आफ्नै बाबुको बिरुद्ध बोलँे । त्यो २०११ साल माघ २५ गतेको दिन थियो ।’ कमल सम्झन्छन्, ‘मैले भाषण सकाउन नभ्याउँदै हनुमानढोकाबाट प्रहरीहरू दौडेर आइहाले । दुई वटा प्रहरीले दुई तिरबाट काखीमा समातेर झ्याइँकुटी पार्दै लिएर गए । उनीहरू भन्दै थिए, प्रधानमन्त्रीजीको अर्डर छ ।’ अपवादलाई छोड्ने हो भने अधिकांश मान्छे सत्ता र भौतिक सुखका लागि लालची हुन्छन् । कतिले भन्छन्, यो मानवीय स्वभाव हो । वरिपरि रहेका सुविधा छोडेर जोकोहीले अप्ठ्यारो बाटो रोज्दैनन् । ‘एकादेशका राजकुमार दरबारको सत्ता र सुविधा छाडेर अरूको भलाइका निम्ति बाहिर निस्किएका थिए’ यस्ता कुरा कथा जस्तै लाग्छ । चलचित्रमा पनि यस्ता नाटकीय दृश्यहरू हेर्न पाइन्छ । यथार्थमा भने यस्ता घटना र पात्रहरू दुर्लभ हुन्छन् । त्यस्तै दुर्लभ पात्रमध्ये एक हुन्, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोेइरालाका छोरा, पूर्वराजदूत कमल कोइराला ।

राणाशासनको अन्त्यपछि बनेका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन्, कमल । नेपालको राजनीतिक इतिहासमा कोइराला परिवारको रगतमै कांग्रेस छ भन्दा फरक पर्दैन । कोइरालाका कुनै सन्तान कांग्रेस पार्टीबाट उछिट्टिएर कम्युनिस्ट भएका कोही छन् भने त्यो उनै कमल हुन् । जति बेला कमल कम्युनिस्ट बने त्यतिबेला उनका वरपर सबै खाले अवसर र सुविधाको चाङ थियो । देशको कार्यकारी प्रधानमन्त्रीका छोराका लागि नपुग्दो के नै थियो र ! सत्ता, सुख र सुविधाको हिसाबले वर्तमान मात्रै होइन, भविष्यसम्म सुरक्षित थिए उनी । पुर्खाहरूको विरासत पछ्याएर जाँदा नेतृत्वमा पुग्न कुनै अप्ठ्यारो थिएन उनलाई । तर, उनले त्यो सजिलो बाटो छोडे । आफ्नै परिवारका सदस्यहरूले हिँडिरहेको सहज र सरल बाटो हिँडेनन् बरु विद्रोहको पहाड चढे ।

जति बेला कांग्रेसका विरुद्ध कमल कम्युनिस्ट बने त्यो समय थियो, कोइराला परिवार भनेकै नेपाली कांग्रेस, नेपाली कांग्रेस भनेकै कोइराला परिवार । कम्युनिस्ट हुनु भनेको असाध्यै अप्ठ्यारो थियो । पारिवारिक हिसाबले मात्रै होइन, सुरक्षा र सामाजिक अवस्थाले पनि काँडेबाटो थियो । त्यसमा पनि प्रधानमन्त्री कोइरालाका सन्तान कम्युनिस्ट हुने भनेको कल्पना बाहिर जस्तै थियो । तर, उनले त्यही अप्ठ्यारो बाटो रोजे । बुबा प्रधानमन्त्री भएकै बेला सत्ताविरुद्ध सडकमा निस्किए, बाबुको सत्ताका विरोधमा विगुल फुके, पक्राउ परे र जेल गए । प्रधानमन्त्रीकै निवासमा बसेर कम्युनिस्ट पार्टीको सदस्यता लिए, संगठन बनाउन लागि परे ।

कमल कोइराला, पूर्व राजदूत

‘मलाई हजारौं मान्छेले सोध्ने गर्छन्, तपाइँ किन कम्युनिस्ट हुनुभयो ? कसरी हुनुभयो भनेर । यो प्रश्न अमेरिकी राजदूतले समेत सोधे’, कमलले विगत सम्झँदै भने । सुन्दा कतिलाई हाँसो उठ्छ । उमेरले ८६ वर्षमा हिँड्दै गरेका उनको जोश अहिले पनि उत्तिकै छ । त्रि–चन्द्र क्याम्पसमा आइए पढ्दा १६ वर्षका थिए उनी । बुबा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । त्यति नै बेला निषेधाज्ञा लागू भयो । कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । उनलाई लाग्यो, बोल्न पनि नपाइने हुन्छ, भाषण सभा जुलुस गर्दा के हुन्छ ? ‘मसँगै पढने साथी मकबुल शाह पक्राउ परेका थिए । उनको फाराम भरेर सही गराउन नख्खु जेलमा गए । जेलमा जाँदा र निर्मल लामालगायतसँग भेट भयो । लामा बनारसमा नेपाली कांग्रेसको अफिस सेक्रेटरी भएर बसेको बेला भेट भएको थियो’, कमल विगत सम्झन्छन् ।

जुलुसमा सहभागी हुँदाको प्रसंग सम्झँदै कमल भन्छन्, ‘निर्मलले जेलमा देखेपछि भन्नुभयो, ‘ओहो जुलुस निस्कने बेलामा तिमी पनि आयौ, जाने हो जुलुसमा ? मैले पनि जिस्केर भने, भन्नुहुन्छ भने जान्छु ।’ १६ वर्षको अल्लारे उनले दायाँबायाँ केही नसोची भने । ‘लौ प्रधामन्त्रीको छोरा जुलुसमा गएपछि अखबारमा नाम आउँछ’, निर्मल लामाले भनेको अहिले पनि सम्झन्छन्, कमल । अरू को को जानेभन्दा झण्डा बोक्ने अरू चार पनि तयार भए । अनि निर्मल लामाले अरविन्दनाथ रिमालललाई अह्राए, ‘कमललाई भाषण गर्न लगाउनु आज ।’ अकस्मात् जेलमा भएको त्यो सामान्य योजनाले उनी जुलुसमा जाने र भाषण गर्न तयार भए । सत्तामा बाबु भएको र त्यही सत्ताका बारेमा बोल्दा निस्कने परिणाम बारे केही सोचेनन् उनले ।

००००

पहिलो भाषण ः अरविन्द रिमालले उनलाई कार्यक्रमका बारेमा सामान्य जानकारी गराए, उनी हौसिँदै गए । १६ वर्षको ठिटोलाई भाषण गरभन्दा किन नबोल्नु ? उनले त्यसलाई अवसरका रूपमा लिए । उनलाई भनिएको थियो, ‘असनको डबलीमा चढेर भाषण गरी हाल्नु । भाषण गरेर जुलुसमा आएर मिसिनु, प्रहरीले पक्राउ गर्न सक्छ ।’ भनेअनुसार डबलीमा चढेर भाषण गरँे । १६ वर्षे तन्नेरी, अझ प्रधानमन्त्रीको छोरा, उनले जाने जति र सकेजति बोले । तर के बोलँे के के भनेँ भन्ने उनी आफैंलाई पत्तो थिएन त्यतिबेला भने अहिले सम्झने कुरै भएन । ‘त्यो मेरो जीवनको पहिलो भाषण थियो । पहिलो भाषण आफ्नै बाबुको विरुद्ध बोलँे । त्यो २०११ साल माघ २५ गतेको दिन थियो ।’ कमल सम्झन्छन्, ‘मैले भाषण सकाउन नभ्यादै हनुमान ढोकाबाट प्रहरीहरू दौडेर आइहाले । दुई वटा प्रहरीले दुई तिरबाट काखीमा समातेर झ्याइँकुटी पार्दै लिएर गए । उनीहरू भन्दै थिए, प्रधानमन्त्रीजीको अर्डर छ ।’ कमलका अगाडि अहिले पनि त्यो तस्बिर नाचिरहको छ, ‘मसँगै साना साना १०–१२ वर्षका भाइहरू पनि पक्राउ परेका थिए ! पक्राउ पर्ने सबैलाई हनुमानढोका लगियो ।’

‘प्रधानमन्त्रीका छोरा जेलमा’ भोलिपल्ट देशविदेशको अखबारमा समाचार छ्यापछ्याप्ती भयो । उनीसहित रूपचन्द्र विष्टलगायत करिब ३०÷४० जनालाई पक्रेर हनुमानढोका पु¥याएर थुनिएको थियो । उनीहरूलाई रातभरि हनुमानढोकामा राखियो । तत्कालीन मन्त्री डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मी उनलाई भेट्न हनुमानढोका गए । तर, प्रहरीले भेट्ने अनुमति दिएन । प्रहरीले भेट्न नदिएपछि गिरफ्तार गरोस् भनेरै उनले पनि त्यही विरोधमा भाषण गर्न थाले । लगत्तै प्रहरीले मदन रेग्मीलाई पनि पक्राउ गरेर थुन्यो । दुवै मिल्ने साथीसँगै थिए । लगत्तै भोलिपल्ट बाँकी सबैलाई नक्खु जेल चलान गरियो । त्यो समय देशमा नेपाली कांग्रेस र कोइराला परिवारको जगजगी थियो । सत्ता भनेकै कोइराला परिवारजस्तै थियो । बुबा प्रधानमन्त्री थिए । उनले चाहे जे पनि हुने अवस्था थियो । प्रधानमन्त्रीकै छोरा कम्युनिस्टको जुलुसबाट पक्राउ परेको समाचार देशविदेशमा सनसनी भयो । भारत र बेलायतका अखबारहरूमा समाचार छापिए । तर, कमललाई भने आफ्नो भाषणको प्रभाव कहाँसम्म पर्छ भन्ने पत्तै थिएन ।


‘माघको जाडो, घरबाट कसैले सोधखोज पनि गरेनन् । न त ओडने ओछ्याउने । हाम्रो पालो त्यही नारा लगायौँ । राजबन्दीको ज्यान मार्न पाइँदैन, हामीलाई ओड्ने ओछ्याउनेको प्रबन्ध गर भन्दै कराउन थाल्यौँ ।, कमल ती दिन सम्झन्छन्, ‘त्यो रात आगो तापेर काट्यौँ । भोलिपल्ट नख्खु चलान ग¥यो । आठ–नौ दिनपछि छोड्दियो ।’ नख्खु जेलबाट निस्केपछि भने उनलाई समस्या भयो अब जाने कता ? घर जाने अवस्था थिएन । मदन रेग्मी र कमल दुबै घर गएनन् । बाबु मातृका प्रधानमन्त्री निवास शशी भवनमा थिए, त्यहाँ जाने कुरै भएन । साथी उत्तर मानन्धरको घरमा गएर बसे दुवै जना । आमाले गाडी लिएर लिन पठाएपछि दुवै बिराटनगर गए । एक महिनासम्म बाबुसँग बोलचाल भएन । आफ्नै विरोधमा लागेको छोरालाई न गाली गरे न सम्झाए मातृकाले, वास्तै गरेनन् ।

००००

नौ दिनपछि उनीहरूलाई जेलबाट छाडियो । आफ्नै छोरो कम्युनिस्टको जुलुसबाट पक्राउ गर्दा बुबालाई कस्तो असर प¥योे होला ? प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका लागि त्यो एउटा अप्रिय घटना थियो । तर, कमलले भने त्यस्तो गम्भीरताका साथ केही सोचेनन् । कमल भन्छन्, ‘भाषण गरेपछि जुलुसमा गिरफ्तार गरिहाल्यो । सबै साथीसँगै भएकाले त्यति धेरै डर र चिन्ता केही भएन ।’ उनलाई पछि त झन् आफूले गरेका कामको गर्वको अनुभूति भयो । बोल्ले, भाषण गर्ने कार्यमा लगाएको प्रतिबन्धको विरोधमा आवाज उठाएकोमा । बाबुको सत्ता उनका लागि कुनै महत्वको थिएन ।

जेलबाट छुटेपछि उनी सिधै घर गएनन् । जान पनि अप्ठ्यारो थियो । साथी मदन रेग्मी र उनी घर नजाने निधोमा पुगिसकेका थिए । आफूले चिनेका ईश्वरमान मानन्धरको घरमा गएर बस्न थाले । आमाले थाहा पाएपछि ‘घरमा लिएर आउनु’ भनेर एक जना मान्छे पठाइन् । त्यसपछि साथी मदन रेग्मीसहित घर गए । घरमा बुबा प्रधानमन्त्री । सरकारविरुद्ध जुलुस गरेर पक्राउ परेका छोरा । बुबाको अगाडि बोल्ने आँट नै भएन ।
त्यतिबेला कोइराला परिवारमै बसेर कम्युनिस्टको संगठन गर्नु ‘चानचुने काम’ थिएन । तर, उनले गरे । जुलुस काण्डपछि उनी पक्का कम्युनिस्ट भइसकेका थिए । ‘जुलुसमा पक्राउ गरेपछि कम्युनिस्ट भनेर लाहाछाप लागिहाल्यो, पक्का कम्युनिस्ट भइयो’, मुस्कुराउँदै उनले भने । उनलाई कम्युनिस्ट भएकै कारण सबैले माया र सम्मान गरेको उनी ठान्छन् । अझ विराटनरमा त सबै कम्युनिस्ट पार्टीकाले उनलाई सम्मान गर्छन् । उमेरले ८६ वर्ष टेके पनि उनीभित्रको उत्साह भने त्यही १६ वर्षको उमेरमा असनको डबलीमा चर्कीचर्की भाषण गरेको भन्दा फरक छैन । कम्युनिस्ट भएर उनले के गुमाए उनलाई त्यसले फरक पार्दैन । उनले कम्युनिस्ट भएर पाएको अवसर एक थान राजदूत हो । उनका कोइराला काका, बुबा दाजुभाइले कांग्रेस भएर धेरै थान अवसर पाएकोमा उनलाई न गुनासो छ न पछुतो ।

००००

कोइराला परिवारमा रहेको राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रप्रतिको सम्मान र व्यक्तिगत स्वतन्त्रताको एउटा नमुना हो, कमलको विचारमा नलागेको अंकुश । उनलाई परिवारबाट कम्युनिस्ट भएकोमा कहिल्यै तिरस्कृत हुनु परेन । कोइराला परिवारमा विचारमा सम्मान भएकाले नै उनले आफ्ना आस्थामा पूर्णविराम लगाउन परेन । उनीहरूको राजनीति आआफ्नै ढांगले अगाडि बढ्यो । ‘राजनीति भनेकै बाबुले छोरालाई नमान्ने र छोराले बाबुलाई,’ उनले भने । उनले कहिल्यै कम्युनिस्ट भएर कोइराला परवारको सदस्यका रूपमा अफ्टेरो खेप्नु परेन । बाबु वा दाजुभाइ कसैबाट उनले दबाब खेपेनन् । ‘अरूले हेर्दा यो कमललाई कति सास्ती भयो होला भन्ने ठान्दा रहेछन् ।’ उनले आफ्नो अनुभव सुनाए, ‘कतिले त सोध्छन् पनि परिवारमा गाह्रो हुँदैन ? भनेर । तर, मलाई आजको दिनसम्म कहीँ अफ्टेरो भएन । परिवारबाट न दबाब खेपें न प्रश्नको सामना गर्न पर्यो ।’

जेलबाट फर्केपछि उनी विराटनगर घर गए । सबैले उनलाई ओहो कम्युनिस्ट भने, धेरैलाई अचम्म लाग्यो, मातृकाको छोरा पनि कम्युनिस्ट भनेर । त्यसपछि उनी अध्ययनमा लागे । दर्शन र सिद्धान्त पढे, विचारमा थप अडिगवर परिपक्व भए । २०१२ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएर उनी निरन्तर लागि रहे । उनी आज पनि कम्युनिस्ट पार्टीको कार्यक्रम छोडदैनन् । ‘अहिले म औपचारिक रूपमा नेकपा (एकीकृत समाजवादी)मा छु । नेपालका कम्युनिस्टहरूको विचार र सिद्धान्त भनेका त्यस्तै हो,’ उनले सुनाए ।

उनलाई आफू कम्युनिस्ट भएकोमा कुनै गुनासो या पश्चात्ताप छैन । बरु एकदमै गर्व छ कम्युनिस्ट भएकोमा । ‘जे गरेँ, जुन बाटो हिँडेर यहाँसम्म आएँ, मलाई असाध्यै माया गर्छन्’, कमलले भने । पहिलेको जस्तो कम्युनिस्ट पार्टीमा निष्ठा र प्रतिबद्धता कम हुँदै गएकोमा भने उनलाई चिन्ता छ । उमेरले सक्रिय राजनीति गर्न नसके पनि उनी पार्टीको कार्यक्रममा जान्छन् । उनलाई भेट्दा नयाँ पुस्ताका कम्युनिस्टहरू फोटो खिच्न झुम्मिन्छन्, उनी मुसुक्क हाँस्दै साथ दिन्छन् । बुढेसकालमा पनि सार्वजनिक यातायातमा भेटिने यी सादगी नेताका मन भनेको भर्भराउँदो उत्साह भने सबैका लागि प्रेरित गर्ने खालको छ ।

(प्रस्तुति : चमिना भट्टराई)

प्रतिक्रिया