गर्जेनीमा पहिरो झर्ने क्रम रोकिएन : सडक खुल्न केहि दिन लाग्ने, यात्रुलाई सकस

प्युठान । प्युठान- भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको सुख्खा पहिरो हटाउन कठिन भएका कारण सडक अझै सुचारु हुन सकेको छैन । गएको बुधवार राती करिब १० बजे ठुलो पहिरो खसेको र पहिराे खस्नेक्रम नरोकिएकोले प्युठान- भालुवाङ सडक अबरुद्ध भएको हो । चारवटा मेसिनको प्रयोगबाट जोखिम मोलेर पहिरो हटाउने प्रयास भइरहे पनि माथिबाट आएको धुले पहिरो खसिरहेका कारण सफल हुन नसकेको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ । पहिरो जति हटायो उतिनै मात्रामा माथीबाट खसिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

सडकमा माथिबाट आएको सुख्खा पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको सडज डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।कमजोर भूगोल र अत्यन्तै ठूलो पहिरो खसेकोले पहिरो पन्छाउन केही ढिलो भएको हो । पहिरो ठुलो र अफ्ट्यारो भुबनोट भएकोले पुरै सफा गर्न अझै केही दिन लाग्न सक्ने डिभिजन प्रमुख श्रेष्ठले बताए ।

पहिरो खसेको थाहा पाए लगत्तै पहिरो हटाउने काममा सडक डिभिजन कार्यालयका प्राविधिक कर्मचारीले मेसिन लागाएर पहिरो हटाउने प्रयासमा छन् । अहिले ४ वटा मेसिन प्रयोग गरेर दुबैतर्फबाट काम तीब्र भइरहेको बताइएकाे छ ।

सडक डिभिजन कार्यालय प्यूठानले आज पनि बिहानैदेखि बाटो खुलाउने काम जारी राखेको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । उनले भने,’पन्छ्याउने काम चलिरहेको छ,अहिलेसम्मकै ठूलो सुख्खा पहिरो हो । सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएकोले प्राविधक रुपमा केही समस्या भएको छ ।’

बड्डाडा–चकचके सडक खण्डमा सडकको तलमाथि कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजिव श्रेष्ठले बताए । सडक डिभिजन प्रमुख श्रेष्ठका अनुसार सडक विस्तारको बेला ठूलो मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर भू-भागलाई थप कमजोर बनाको कारण पहिरो झर्ने गरेको छ । नयाँ ट्याक खोलेको वर्ष धेरै पहिरो जाने समस्या हुने उनले बताए । पहिरो हटाउन सडक विभागका कर्मचारी र प्रहरी दिनरात खटेपनि सफल हुन सकेका छैनन् ।

सडक अवरुद्ध हुँदा निकै सास्ती भएकोले खुलाउन थप पहल चाल्नुपर्ने सरोकारवालाको भनाइ छ । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकोले पैदल मार्ग समेत नहुदा यात्रुलाई पैदल यात्रा गर्न समेत सकस भएको स्थानीयले गुनासो गरेका छन् । भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा बर्सेनि यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।


आज बन्द रहेको सडकको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला समन्वय प्रमुख धरम जिसी, सुरक्षा निकायका प्रमुख सहितको टोलि पुगेकाे थियाे । जिल्ला आउजाउ गर्न हाललाई यात्रुहरुले वैकल्पिक बाटो (देविस्थानदेखि घोराही सम्मको ४८ किलोमिटर) सडक प्रयोग गर्दै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले आज पत्रमार्फत अनुरोध गरिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया