रुकुमपश्चिम । सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि लुम्बिनी प्रदेशको दाङ, नेपालगञ्ज लगायतका सहरहरूमा जानुपर्ने बाध्यता टरेको छ । अबदेखि रुकुमपश्चिमबाटै सवारी अनुमतिपत्र वितरण हुने भएको हो । यातायात व्यवस्था कार्यालय चौरजहारीले सवारी चालकअनुमति पत्र, नवीकरण गर्ने प्रक्रिया सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आइतवार सवारीचालक अनुमतीपत्र जारी प्रक्रियाको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री शर्माले सेवाको शुभारम्भ गरेसँगै आइतबारदेखि नै बायोमेट्रिक सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय चौरजहारीले आगामी दिनमा चालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ । कार्यालयका प्रमुख आनन्द चापागाईका अनुसार उक्त कार्यालयबाट अबदेखि मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स पाइने र सवारीसाधन दर्ता, चालक अनुमति पत्र वितरण, नवीकरण, परीक्षा सञ्चालनसमेत गर्नेछ । भाडाको जग्गामा ट्राइल सेन्टर सञ्चालन गरिएको छ ।
चौरजहारी नगरपालिकामै यातयातका सम्पूर्ण काम हुने भएपछि रुकुमपश्चिमसँगै जाजरकोट, डोल्पा, सल्यान र रुकुमपूर्वका नागरिकले सेवा लिन पाउनेछन् । यसअघि सवारी साधन दर्ता, अनुमतिपत्र लगायतका काम गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज, दाङ जानुपर्ने बाध्यता थियो । कार्यालयबाट आइतबा पहिलोपटक बायोमेट्रिङ सुरु भएको जनाइएको छ । अबदेखि हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने र त्यसपछि लिखित परीक्षा र ट्रायल हुने यातायात कार्यालयले जनाएको छ ।
जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापन र कार्यालयबाट सबै सेवा प्रदान गरिनेछ । उद्घाटनपछि बोल्दै मुख्यमन्त्री शर्माले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए । कार्यालय उद्घाटन भएको लामो समयसम्म कर्मचारी अभाव र उचित व्यवस्थापनको कमीको कारणले सेवा सुचारुमा ढिला हुन गएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए ।
२०७६ भदौमा उद्घाटन भएको चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयले करिब चार वर्षपछि सेवा सुरु गरेको हो । यसअघि व्यवस्थापनको अभाव देखाउँदै चार वर्षदेखि कार्यालय सञ्चालनमा थिएन । आइतबार पहिलो सेवाग्राहीका रूपमा आठविसकोट नगरपालिकाका सुदीप ओलीले बायोमेट्रिङ गरेर सेवाको सुरु भएको हो ।
प्रतिक्रिया