म्याग्दी । बेनी नगरपालिका– ७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका– ५, भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।
‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनर्स्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’
शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुनमा समाचार सार्वजनिक भएको थियो ।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नुपरेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।
सो ओडार बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा भेटेको अन्न आफैँले पकाएर खाने गरेको कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्षजति भयो,’ उनले भने, ‘काम गर्न सक्दिनँ । मलाई यहीँ ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।’
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो । – रासस
प्रतिक्रिया